काठमाडौं । एसीसी यू– १६ इस्ट जोन कप क्रिकेटमा नेपालले थाइल्यान्डमाथि सानदार जित निकालेको छ ।
नेपालको सानदार जितमा ब्याटिङतर्फ नीरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवको उत्कृष्ट योगदान रह्यो । नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको नेपालले लागि ३५ ओभरमा दुई सय ६९ रन बनाएको थियो । यसमा ओपनर नीरजकुमार यादव र सूर्यांशु कोइरालाले एक सय १० रनको साझेदारी पारी खेले ।
नीरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यांशु ४० रनमा पेभेलियन फर्के । नरेन भट्टले ४३ बलमा ५५ रन बनाए । यस्तै, सन्तोष यादवले ४२ रनको योगदान दिए ।
जितका लागि दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले नेपाली बलरसामु घुँडा टेक्यो । थाइल्यान्ड १३ ओभर २ बलमा ४४ रनमा अलआउट भयो ।
नेपालका सन्तोष यादवले पाँच, अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए ।










