
काठमाडौं । पूर्व पर्यटन मन्त्री प्रेमबहादुर आलेले वर्तमान पर्यटन मन्त्री सुदन किरातीको खोइरो खन्न कतै बाँकी राखेका छैनन् । सदन र सार्वजनिक कार्यक्रममा समेत आलेले किरातीको विरोध गरिरहेका छन् ।
गठबन्धन दलकै नेता गठबन्धन सरकारका मन्त्री किरातीको विरुद्धमा निरन्तर बोलिरहँदा दुनियाँ चकित छन् । र, किन यसरी विरोध गरिरहेका छन् भन्ने चौतर्फी प्रश्न उठ्ने गरेको छ ।
पूर्व पर्यटन मन्त्री आले वर्तमान पर्यटन मन्त्रीको विरुद्धमा उत्रनुको अनेक कारण रहेको बुझिएको छ । स्रोतका अनुसार मुख्य कुरा चाहिँ आफूले चाहेअनुसार किरातीले काम गर्न नमानेका कारण विरोधमा उत्रेको बुझिएको छ ।
किराती मन्त्री हुनु बित्तिकै आलेले भेट्न खोजेका थिए । तर, किरातीले निक्कै ढिलो मात्र आलेलाई भेट दिएका थिए । उक्त भेटका क्रममा आलेले आफ्ना इन्ट्रेस्टकाे लामो लिस्ट सुनाएका थिए । तर, किरातीले सोही भेटमा आलेका प्रस्तावहरू अस्वीकार गरेका थिए । सोही दिनदेखि आले मन्त्री किराती विरुद्ध बोल्न थालेका हुन् ।
पछिल्लो समय मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा बोल्दै घुमाउरो भाषामा आलेले अनेक प्रलोभन देखाएको तर आफू त्यसका लागि तयार नहुँदा आफ्नो विरुद्धमा अनेक चलखेल भइरहेको बताएका थिए । त्यसपछि आलै झनै आक्रामक रूपमा किराती विरुद्ध बोल्न थालेका हुन् ।
स्रोतका अनुसार पूर्व मन्त्री आले र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको मिलेमतोमा ठूलाठूला काम भएका छन् । ती काममा बाधा नपुर्याउन आलेले किरातीलाई आग्रह गरेका थिए । तर, मन्त्री किरातीले उक्त प्रस्ताव अस्वीकार गरेपछि आले किरातीको विरुद्धमा उत्रेका हुन् ।
पैसाको बलमा सबै राजनीतिक नेतृत्वलाई हातमा लिएर रजगज गरिरहेका क्यानका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले संरक्षण नगर्ने भएपछि अधिकारी र आले मिलेरै किरातीको विरुद्धमा लागेका हुन् ।
अधिकारीको नेतृत्वमा ठूलो घोटाला भएका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालन हुन नसक्ने अवस्थामा रहेको मन्त्री किरातीले पत्ता लगाइसकेका छन् । सोही आधारमा किराती अधिकारीलाई बर्खास्त गर्ने सोचमा छन् ।
मन्त्री किरातीले अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेको थाहा पाएपछि आले र अधिकारी योजनाबद्ध रूपमै किरातीको विरुद्धमा लागेका हुन् । मन्त्री किरातीविरुद्ध लड्न आले र अधिकारीले संयुक्त सचिवालय नै सञ्चालन गरिरहेका छन् ।
केही दिन अगाडि पर्यटन मन्त्रालयले अधिकारीलाई स्पष्टीकरण सोधेको थियो । अधिकारीले स्पष्टीकरण अस्वीकार गरेको विषयलाई समाचार बनाएर तत्कालीन मन्त्री आलेको प्रेस संयोजक रहेका विमल विष्टले नै सबै मिडियाहरूलाई पठाएका थिए ।
क्यान विभाजन हुने भएपछि झनै आक्रामक आले
बजेटमार्फत सरकारले क्यानलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने नीति लिएको छ । बजेट पारित भएसँगै यो नीति कार्यान्वयन हुने भएको छ । क्यान विभाजन भए अधिकारी कमजोर हुनेछन् ।
क्यानलाई विभाजन गर्न अघिल्लो संसदमा विधेयक नै पुगेको थियो । तर, मन्त्री आले र अधिकारीले पैसाको बलमा उक्त विधेयक सदनबाटै फिर्ता गराएका थिए । उनीहरू यस पटक पनि क्यान विभाजन गर्न नदिने खेलामा लागेका थिए । तर, उनीहरू सफल हुन सकेनन् ।
भ्रष्ट आचरणका अधिकारीसँगको मिलेमतोकै आधारमा पूर्व मन्त्री आलेले क्यान विभाजन नगर्न वर्तमान मन्त्री किरातीलाई दबाब दिएका थिए । तर, मन्त्री किरातीले उक्त दबाब वास्तै नगर्दा क्यान विभाजन हुने अवस्थामा पुगेको हो । सोही कारण उहीहरू मन्त्री किरातीको विरुद्धमा लागेको बुझिएको छ ।
आले र अधिकारीको अनैतिक साँठगाँठ
पूर्व मन्त्री आले र क्यानका महानिर्देशकको सम्बन्धलाई ‘अनैतिक साँठगाँठ’को रूपमा हेर्ने गरिएको छ । आले मन्त्री भएकै बेला यी दुईको मिलेमतोमा नीतिगत रूपमा ठूलठूला भ्रष्टाचारहरू भएको आरोप लाग्ने गरेको छ ।
पैसाकै बलमा राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आएका आधिकारीले आलेलाई पनि पैसाकै बलमा आफ्नो पक्षमा पारेका हुन् । आले पर्यटन मन्त्री भएकै बेला अधिकारी क्यानको महानिर्देशक नियुक्त भएका थिए । आलेले मोटो रकम लिएर अधिकारीलाई क्यानको अध्यक्ष नियुक्त गरेको आरोप लागेको थियो ।
आले सरकारबाट बाहिरिए पनि अधिकारी भने महानिर्देशकको रूपमा निरन्तर काम गरिरहेका छन् । तर, अधिकारी बहालवाला मन्त्रीभन्दा पनि आफूलाई नियुक्त गर्ने आलेकै निर्देशनमा चल्ने गरेको बुझिएको छ ।
पद जोगाउन आले र अधिकारी शक्ति केन्द्र धाउँदै
पर्यटन मन्त्री किरातीले कार्यसम्पादन र अनुशासनमा प्रश्न गर्दै अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । सोही अनुसार स्पष्टीकरण समेत सोधेका छन् ।
तालुक मन्त्रालयले स्पष्टीकरण सोधेर बर्खास्त गर्ने तयारी थालेसँगै आले र अधिकारी शक्ति केन्द्र धाउन थालेका छन् । यसबिचमा आले र अधिकारीले कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी आरजु देउवालाई भेटिसकेको बुझिएको छ । यी दुईले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा समेत पद जोगाइदिन आग्रह गरिसकेको बुझिएको छ ।
जोगिएला अधिकारीको पद ?
आले र अधिकारी शक्ति केन्द्रको पछि लागे पनि यस पटक भने अधिकारीको पद जोगिने सम्भावना कम रहेको बुझिएको छ ।
सुशासनको पक्षमा दृढताका साथ उभिएका प्रधानमन्त्री प्रचण्डसमेत भ्रष्ट आचरणका अधिकारीलाई निरन्तरता दिने पक्षमा नरहेको बुझिएको छ । प्रधानमन्त्री नै सकारात्मक नरहेका कारण अधिकारीको पद जोगिने सम्भावना कम रहन्छ ।
तर, पैसाको बलमा पद प्राप्त गर्दै पैसाकै बलमा नीतिगत भ्रष्टाचार गर्दै आएका अधिकारीले प्रधानमन्त्रीको सचिवालयलाई प्रभावमा पार्ने र सचिवालयको बलमा प्रधानमन्त्री पनि लचक हुने अवस्थामा भने उनले थमौती पाउने सम्भावना रहन्छ ।










