काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना भएका छन् । प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई बुधबार जिल्ला अदालत काठमाडौले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरी हिरासतमै रहेका उनीहरु अस्वस्थ भएकाले अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।
सीआइबीका एसएसपी दिनेश आर्चायका अनुसार तीनै जनालाई बिहीबार नै अस्पताल भर्ना गरिएको हो । उपचारका लागि भर्ना भएकामध्ये एक जनाको स्वास्थ्य अवस्थामा सुधार आएपनि दुई जनालाई मेडिकल केयर आवश्यक देखिएको प्रहरीको भनाइ छ । एसएसपी आर्चायले दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला–बेलामा अक्सिजन दिइरहनुपर्ने अवस्था देखिएको बताए । उनीहरुसँगै पक्राउ परेको गोपाल कार्की भने हिरासतमै छन् ।
सीआईबीेले गत मंगलबार ललितानिवास जग्गा प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीनजनालाई सोही छाडेका थियो ।










