
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले कुनैपनि पार्टीसँग एकताको सम्भावना नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नै अध्यक्ष नेपालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताएका हुन् । उनले आफूहरुले दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताए । उनले आफूहरु समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको बताए ।
‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं। मोर्चामा कम्युनिष्ट मात्र नभई गैर कम्युनिष्ट पार्टीहरु समेत रहेका छन्। गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ,’ उनले भने ।
अध्यक्ष नेपालले लक्ष्य राखेर अगाडि बढ्दा सफल हुने धारणा राखे । समाजवादप्रति आकर्षण बढिरहेको उनको भनाई छ । उनले भने, ‘केन्द्र र प्रदेश सरकारमा मन्त्री बनाएका छौं । उनीहरुले काम राम्रो गर्नुपर्छ ।’
उनले कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताए ।










