Logo
Logo

कोशीमा ५ दिनमा नयाँ सरकार बन्ला ?


1.3k
Shares

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरिएको छ । आइतबार प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

तत्कालिन एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभा बैठकबाट विश्वास नपाएपछि प्रदेश प्रमुख खापुङले हिजो आइतबार ५ दिनको समय दिएर असार २१ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका छन् ।

कार्कीलाई एमाले र राप्रपाका सांसदले विश्वासको मत दिएको थियो । जसपाले असन्तुष्टि जनाएर सरकार छाडेकाले विश्वासको मत दिएन । त्यसैले उनको पक्षमा ४६ जना सांसदले मात्रै मत दिएका थिए ।

कांग्रेस, एकीकृत समाजवादी र माओवादीका गरी कोशीमा गठबन्धनसँग ४६ सांसद छन् । सभामुख माओवादीका बाबुराम गौतम सहित गठबन्धनसँग ४७ सांसद छन् । उनले राजीनामा दिइसकेकाले सरकार गठनमा निर्णायक नहुने भन्दै एमालेले विरोध गरिरहेको छ ।

नयाँ सरकार गठनका लागि प्रदेशमा मिल्न नसकेको भन्दै गठबन्धनका नेताहरु काठमाडौं आएका छन् । केन्द्रमै मिलाएर मात्रै सरकार गठन गर्न सकिने बुझाइमा प्रदेश गठबन्धनका नेता लविङमा लागेका हुन् । कोशीमा गठबन्धन भित्रै कसले सरकारको नेतृत्व गर्ने भन्नेबारेमा विवाद छ ।

माओवादी र कांग्रेस दुबैले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । कांग्रेसलाई वाग्मतीमा मुख्यमन्त्री दिएर कोशीमा माओवादीलाई मुख्यमन्त्रीको भागबण्डा मिलाउने प्रयत्न गठबन्धनमा भइरहेको गठबन्धन दलका नेताहरुले बताउने गरेका छन् ।

अब दलहरुले संविधानको धारा १६८ उपधारा (२) अनुसार सरकार गठनका लागि प्रयास गर्नेछन् । त्यसअनुसार सरकार बन्न नसेके १६८(३) अनुसार ठूलो दलको हैसियतमा एमालेले बनाउने छ । उक्त व्यवस्था अनुसार पनि सरकार बन्न नसकेमा भने विघटनमा जाने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्