काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले पनि भोकमरीको अवस्था रहेको बताएका छन् । शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मानवअधिकारका निम्ति अझै प्रयास गर्नुपर्ने बताउँदै भने, ‘हामी सबैले सरकारलाई निरपेक्ष गरिबीको रेखामुनि अहिलेपनि ठूलो प्रतिशत जनसंख्या छ भन्नुपर्छ । देशमा अहिले पनि भोकमरी छ । खान नपाएर भोकै मर्नेस्थिति छ । यो राज्यले स्वीकार गरेको छ ।’
जीवन सुरक्षित जिउने कुरामा सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि कम्प्रिहेन्सिप डेमोक्रेसी भएको भन्दै मानवअधिकारको हनन राज्यबाटै हुने गरेको उनले बताए ।
पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको बताउँदै अध्यक्ष ओलीले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ । कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ । कम्तिमा ५० पटक ।’
उनले त्यसबेला शान्तिपूर्ण जुलुसमा सडकमा देखिनै नहुने र च्याप्प समाएर भ्यानमा कोचकाच पार्ने गरेको स्मरण गराउँदे भने, ‘मनमोहन अधिकारी पिटिनुभयो । वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा । अरु नेता पिटिनुभयो ।’ एमालेका ३० हजारभन्दा बढी कार्यकर्तालाई तीन वर्षको बीचमा मुद्दा लागेको बताए ।














