
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् ।
कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् ।
‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन ? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने ?।’
गृहमन्त्रीले केहि दिनअघि ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको भन्दै ओली आक्रोशित भएका हुन् ।
‘अन्यन्तै अनैतिक क्रियाकपाल हो। गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार हो। आफू गृहमन्त्री… यसको भए पनि उसको भए पनि.. यस्ता खालका गैरजिम्मेवार कुराहरू गरेर हिँड्ने? गृहमन्त्रीले बताउनुप¥यो, उहाँको संलग्नता छ छैन ? यसमा ? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन !,’ उनले भने ।














