
काठमाडौं । भारत भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ । भाजपाको औपचारिक निमन्त्रणामा माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल आइतबार भारत पुगेको थियो ।
नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा भएको भेटवार्तामा दुई पार्टीबीचको अनुभव आदानप्रदान एवं दुई देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको थियो । भेटवार्ताबारे जानकारी दिँदै उपाध्यक्ष भुसालले दुई पार्टीबीचको सम्बन्ध विस्तार एवं दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको बताए ।
त्यसैगरी भेटवार्ताका क्रममा दुई पार्टीका नेताहरुबीच गहिरो अन्तरक्रिया भएको भाजपाका उपाध्यक्ष विजयान्त पाण्डाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। प्रतिनिधिमण्डलले भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय सङ्गठनसँग पनि अन्तरक्रिया गरेको थियो ।
सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीए सरकारले विगत नौ वर्षमा सफल रुपमा कार्यान्वयन गरेको नीति तथा योजनाबारेमा छलफल भएका थियो ।














