
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकमा ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको हो ।
माइतीघरदेखि नयाँबानेश्वर हुँदै कोटेश्वरसम्म पुग्ने सडकअन्तर्गत नयाँ नयाँ बानेश्वर चोकबाट दायाँतर्फ मोडिने सवारी साधनलाई अझ सहज बनाउन जापानी सहयोग नियोग जाइकाको सहयोगमा ‘राइट टर्निङ होल्डिङ जोन’ बनाउन सुरु गरिएको हो ।
माइतीघर–तीनकुने खण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शंखमूलतर्फ मोडिँदा नयाँ बानेश्वर चोकमा जाम नहोस् भन्ने उद्देश्यले उक्त ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको हो ।
सडकको दुई लेन छुट्याइने भाग–‘मेडियन आइल्यान्ड’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिनेछ । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुने सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर प्रकाशचन्द्र भण्डारीले बताए ।
सिभिल अस्पतालबाट नयाँ बानेश्वर चोकसम्म २८० मिटर, बानेश्वर चोकबाट माइतीघरतर्फ २६० मिटर, नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ १९० मिटर र नयाँ बानेश्वरबाट शंखमूलतर्फ १२० मिटरमा नयाँ लेन निर्माण गरिनेछ । जाइकाको ६० लाख रुपैयाँ अनुदानमा ७५ दिनभित्र सक्ने गरी असार १६ देखि निर्माण सुरु भएको हो ।
अहिले आइल्यान्डका बिरुवा र पोल सार्ने काम भइरहेको छ । यसरी निर्माण हुने ‘राइट टर्निङ होल्डिङ जोन’ को सञ्चालनपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा आउने सुधार र त्यसको मूल्यांकनका आधारमा लैनचौरलगायत अन्य अति व्यस्त चोकमा पनि सरकारकै लगानीमा यस प्रकारको होल्डिङ जोनको निर्माण गरिने विभागले जनाएको छ ।














