
काठमाडौं । राजनीतिमा लागेका नेताहरू सत्ता र शक्तिको आडमा आफू मात्र भ्रष्ट भएका छैनन्, आफ्नै सन्तानलाई भ्रष्ट बनाउन सक्रिय छन् भन्ने कुरा भुटानी शरणार्थी काण्ड र सुनकाण्डबाट पनि पुष्टि भएको छ ।
देशका पछिल्ला केही ठूला काण्डहरूमा धेरै नेताका बाबु–छोरा संलग्न देखिएका छन् । गम्भीर किसिमका अपराधका घटनामा समेत नेताहरूका छोराको संलग्नता भेटिएको छ । छोरालाई माफिया र तस्कर समूहसँग निकट गराएर अवैध गतिविधिमा लगाउने प्रवृत्ति सबैजसो पार्टीका नेताहरूमा व्याप्त छ । यसले नेपालको राजनीतिलाई थप भ्रष्टीकरणको बाटोमा अघि बढाएको छ ।
रायमाझीका बाबु–छोरा सँगै जेलमा
नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप यतिबेला केन्द्रीय कारागारमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा रायमाझी बाबु–छोराको संलग्नता देखिएको हो । बिचौलिया सन्देश शर्मासँगको संगतले उनीहरुको यो हालत भएको हो । दाङ घर भएका शर्मा र रायमाझीको संलग्न २०६४ सालदेखि नै हो । विभिन्न अवैध काममा लगाउने र त्यसवापत शर्माले रायमाझीलाई आर्थिक सहयोग गर्ने मात्र होइन, विदेश घुमाउन लैजानेसमेत गरेका थिए ।
बिचौलियाहरूसँग घुम्न गएको फोटोहरू समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए । त्यसलाई टोपबहादुरले स्वीकारेका पनि छन् । यसरी बिचौलियासँगको संगतले टोपबहादुर पैसाका लागि जे पनि गर्ने अवस्थामा पुगे ।
रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा टोपबहादुरले नै छुट भुटानी शरणार्थीको नाममा नेपालीको नाम हालेर अमेरिका लैजाने धन्दा चलाएका थिए । बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसँग उनको साँठगाँठ थियो । पछि बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन कार्यान्वायनमा पनि उनले सहयोग गरेका थिए । केपीशर्मा ओली सरकारमा मन्त्री हुँदा उनले त्यसरी नीतिगत भ्रष्टाचारलाई सघाएका थिए ।
त्यसवापतको पैसा उनले छोराको खातामार्फत लिएका थिए । सोही आधारमा छोरालाई समेत उनले जेल पुर्याएका छन् । त्यसो त सन्दीपका नाममा कपिलवस्तु लगायत जिल्लामा उनले करोडौंको जग्गा खरिद गरेको समेत छानबिनमा खुलेको छ । यस विषयमा विस्तृत अनुसन्धान हुन सकेमा उनका थप अपराध बाहिर आउनेछन् ।
सुन तस्करीको छानबिनमा महरा बाबुछोरा
माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि यतिबेला सुन तस्करीमा मुछिएका छन् । चिनियाँ नागरिकलाई सुन तस्करीमा सघाएको आरोपमा उनीमाथि छानबिन भइरहेको छ ।
एक चिनियाँ समूहले बिद्युतीय चुरोटभित्र लुकाएर नेपालमा सुन तस्करी गर्दै आएको थियो । त्यसमध्ये दुई सुटकेश विमानस्थलमा बरामद भयो र पछि विमानस्थलस्थित भन्सार कार्यालयबाटै सुन लुकाइएको इलेक्ट्रिक चुरोट साटिएपछि छानबिनको क्रममा यो प्रकरण बाहिर आएको थियो ।
भन्सारले बरामद गरेको चिनियाँको सामान लिलामीका लागि बुझ्न राहुलले पटक–पटक भन्सारका कर्मचारीलाई फोन गरेका थिए । ती चिनियाँसँग कृष्णबहादुर महराको पनि पटक पटक सम्पर्क देखिएको छ ।
सुन ल्याउने चिनियाँ नागरिक त्यतिबेला नै चीन भागिसकेका थिए । उनलाई पक्राउ गर्न नसक्दा महरा बाबु–छोराको यसमा संग्नताको विवरण थाहा हुन नसकेको सीआइबीका अधिकारी बताउँछन् ।
प्रत्यक्ष रुपमा सुन तस्करीमा सघाएको नदेखिए पनि सुन तस्करसँग उनीहरूको निकटता भने प्रष्ट भइसकेको छ । सीआइबीले भन्सारका नासु रेवन्त खड्कासहित नौ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ
।
रामबहादुर–प्रतीकका अनेक धन्दा
पाँच वर्षअघि रामबहादुर थापा बादल सबैभन्दा लोकप्रिय मन्त्री थिए । मन्त्री भएलगत्तै उनले आक्रामक कारबाही सुरु गरे । तर, पछि उनी आफैं यसरी माफियाहरुको जालमा फस्दै गए कि उनको परिवार नै यतिबेला प्रहरी छानबिनमा छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीक फरार छन् । पक्राउ परेका बिचौलियाले बादलपत्नी नैनकलालाई मन्त्री क्वार्टरमै लगेर पैसा बुझाएको बताएका छन् । त्यस्तै बादलले पनि आफुहरुलाई सघाएको बयान दिएका छन् ।
प्रतीकलाई पैसा दिएको पुष्टि भएपनि बादल र नैनकलाको हकमा प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरूलाई जोगाएका छन् । दोस्रो चरणको अनुसन्धानमा उनीहरूमाथि समेत केन्द्रित छ ।
गृहमन्त्री हुँदा बादलले छोरालाई आफ्नो सचिवालयमा राखेका थिए । प्रहरीको सरुवा–बढुवामा उनी सिधैं मोलतोल गर्ने चर्चा त्यतिबेला नै चलेको थियो । यसरी शरणार्थी बनाएर पैसा उठाउनेले प्रहरी सरुवा बढुवामा कति धेरै चलखेल गरे भन्ने आरोपमाा बल पुग्छ । यही प्रकरणले बादलको राजनीतिक करिअर पनि लगभग टुंगिने अवस्थामा पुगेको छ ।
विवादमा नेताका छोरा
आफुले कमाएको अकूत सम्पत्तिलाई व्यापारको माध्यमबाट कमाएको देखाउन नेताहरूले आ–आफ्नो छोरालाई व्यापारी, विचौलिया बनाएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल बाबुकै आडमा व्यापारमा सक्रिय छन् । राजनीतिक पहुँचका आधारमा उनले ठेक्का हात पार्ने गर्दछन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का उनले नै हात पारेका थिए । जून समयमा काम नहुँदा राज्यले करोडौं घाटा बेहोर्नुपरेको थियो । पहुँचकै आधारमा उनले अन्य ठेक्का पनि पाउँदै आएका छन् ।
त्यस्तै, पूर्वउपप्रधानमन्त्री नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि पटक पटक विवादमा आइरहन्छन् । पछिल्लो समय उनी सहकारी सम्बन्धी विवादमा मुछिएका छन् । उनी सचिव रहेको बुटवलको सुप्रिम सहकारीले सर्वसाधरणको करोडौं रुपैयाँ ठगी गरेको आरोप छ । यो सहकारीका संस्थापक अध्यक्ष ग्यालेक्सी टिभीका सञ्चालक जिबी राई हुन् ।
त्यस्तै, एमाले उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल पनि बाबुकै आडमा व्यापारमा संलग्न छन् । पछिल्लो समय स्वास्थ्य र आइटीसम्बन्धि ठेक्कामा उनी संलग्न रहेको स्रोत बताउँछ । केही व्यापारीहरुसँग मिलेर उनले यस्तो ठेक्का हात पार्दै आएका छन् । म्याक्सिम इन्कर्पाेरेशनसँग मिलेर उनले करोडौंको ठेक्का हात पारेका थिए ।
एमाले नेता विष्णु पौडेलका छोरा नवीन विदेशमा छन् । उनी बालुवाटारको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन् । सरकारी जग्गा आठ आना उनलाई व्यापारीले दिएको खुलेपछि त्यसको स्रोत भेटिएको छैन । जग्गा फिर्ता गरेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएकोमा हाल सिआइबीले छानबिन गरिरहेको छ ।
धेरै नेताका छोराछोरी विदेशमा छन् । नेताकै छोराछोरीलाई आफ्नो देश बस्नलायत छैन र बन्ने पनि आशा छैन । केही नेताका छोरा स्वदेशमै बसेपछि सत्ताको आडमा अवैध गतिविधिमा संलग्न छन् । जसले नेपालको राजनीतिलाई थप बदनाम बनाउँदै लगेको छ ।
वामदेव गौतमका छोरा हदिश गौतम पनि व्यापारमा संलग्न छन् । गौतम मन्त्री हुँदा उनी पनि अवैध धन्दामा संलग्न थिए । चिनियाँ व्यापारीहरूसँग उनको राम्रो सम्बन्ध भए पनि बाबुजस्तो सुनकाण्डमा भने छोरा मुछिएका छैनन् ।
छोरी–ज्वाईका कारण बदनाम हुँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि परिवार मोहकै कारण बदनाम हुँदै आएका छन् । प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई उत्कृष्ट बनाउने अभियानमा लागेका उनलाई परिवारबाटै त्यसमा धक्का लागेको छ ।
खासगरी कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यको चलखेलले प्रधानमन्त्रीको छवि बिग्रदै गएको उच्चपदस्थहरु बताउँछन् । गंगा प्रचण्डको स्वकिय सचिवका रुपमा कार्यरत छिन् ।
कर्मचारी तथा प्रहरीको सरुवा बढुवा र नियुक्तिमात्र होइन ठूला ठेक्कामा पनि उनीहरुको चासो हुने गरेको छ । नेता र कार्यकर्तासँग भन्दा ठेकदार र माफियाहरुसँग उनीहरुको उठबस रहेको छ । जसले गर्दा सरकारका निर्णयमा माफियाहरुको प्रभाव पर्दै गएको छ भने पार्टीभित्र पनि असन्तुष्टि बढेको छ ।
आचार्य कोशी प्रदेश सरकारमा मन्त्री छन् । पार्टीका भूमिका नभएपनि गठबन्धनको सिट बाँडफाँडमा उनलाई नै टिकट दिइयो । चुनाव जिते लगत्तै मन्त्री बने । अहिले नयाँ सरकार बनेपछि त प्रदेशको अर्थमन्त्री बनेका छन् । उनका कारण कोशी प्रदेशमा धेरै माओवादी नेता–कार्यकर्ताहरु पार्टी नै छाड्ने मनस्थितीमा पुगेका छन् ।
१० वर्ष जनयुद्ध लडेर राजनीति गर्दै आएका नेताहरुलाई किनारामा पारेर आचार्य माओवादीमा हावी हुँदै आएका छन् । जबकी, प्रचण्डकी छोरी बिहे गर्नुबाहेक माओवादीमा उनको थप साइनो केही छैन ।
उनै गंगा–जीवनका कारण माओवादी वरिष्ठ नेताहरू समेच चिढिएको स्रोत बताउँछ । पार्टी र सरकारमा परिवार हावी गराएको आरोप प्रचण्डमाथि छ । अर्की छोरी रेणु दाहाल पनि आफु निकट व्यक्तिका लागि नियुक्ति र ठेक्कापट्टामा सक्रिय हुँदै आएकी छिन् ।














