काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएको भनिएपनि वास्तवमा त्यो एकता नै नभएको बताएका छन् । एमाले र माओवादी केन्द्र मिलेर त्यसबेला नेकपा बनेको थियो । तर, अहिले आएर ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।

शुक्रबार भएको जनसंगठन समन्वय संयन्त्रको १२औं बैठकलाई सम्बोधन गदै अध्यक्ष अोलीले भने, ‘माओवादीसँग एकता भनिएपनि एकता हुँदै भएन । कतिवटा संगठन एकता भएन, भएपनि तेल एकातिर, पानी एकातिर । घुल्न नै पाएन ।’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको रकमबाट चलेको समेत आरोप लगाए । त्यसबेलाको प्रसंग निकाल्दै उनले भने, ‘प्रचण्डले हिसाबसमेत बुझाएनन् । अहिले एमालेकै रकमले आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।’ नेकपाकालमा आफूहरूले एउटा पनि छुट्टै भेला वा बैठक नगरेको ओलीको दाबी छ ।
उनले भने, ‘हामीले कहिल्यै पनि छुट्टै भेला वा बैठक गरेनौं, प्रचण्डले आफ्नो पार्र्टी जीवितै राखे । बैठक अलगै गरिरहे । कार्यालय जीवितै राखे । आफ्नो हिसाबकिताब बुझाएनन् । रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले । एमालेको रकम खाए । एमालेको रकम पिए । सबै गरे ।’ त्यसबेला प्रचण्डले पार्टीमा एक पैसा पनि दाखिल नगरेको ओलीको आरोप छ ।
‘हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय पनि दाखिल गरेनन्’ ओली भने, ‘बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । आफ्नो बनाएर राखिरहे । किनभने उनलाई पार्टी कब्जा गर्न र यसलाई उद्देश्यबाट समाप्न पार्न सकिएन भने अलग हुनुपर्छ भन्ने थियो ।’














