Logo
Logo

गौर हत्याकाण्डका दोषीमाथि कारबाही गर्ने भनेपछि आत्तिए उपेन्द्र


8.6k
Shares

काठमाडौं । गौर हत्याकाण्डको छानबिन गर्ने तयारीका साथ सरकारले पीडित पक्षसँग सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आपत आइलागेको छ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार पाँच बुँदे सहमति भएको हो ।

सरकार र समितिबीच घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरूको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ ।

उक्त सहमतिपछि जसपा अध्यक्ष यादव अत्तालिएका छन् । मंगलबारदेखि नै उनी छलफलमा जुटेका छन् । मंगलबारै आफ्ना पार्टीका शीर्ष नेता र सांसदहरुसँग छलफल गरेका यादवले बुधबार कार्यकारिणी समितिको आकस्मिक बैठक राखे ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा गौर हत्याकाण्ड छानबिनका लागि समिति बनाउने सरकारको निर्णय र त्यसले उत्पन्न गर्ने सम्भावित परिस्थितिका सम्बन्धमा छलफल भएको बताइएको छ ।

यस विषयलाई लिएर अध्यक्ष यादवले बुधबार सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार यादवले ‘आफूलाई फसाउनका लागि समिति बनाउन लागेको’ भन्दै देउवासमक्ष गुनासो राखेका छन् ।

के थियो घटना ?
७ चैत २०६३ को भयानक काण्ड थियो– गौर हत्याकाण्ड । तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जना मारिएका थिए भने १ सय १५ जना घाइते भएका थिए ।

त्यसदिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । खासमा माओवादीले तय गरिसकेको कार्यक्रम स्थलमा फोरमले निहुँ खोज्दै मञ्च बनाएको थियो । फोरम आक्रमणको पूर्वतयारीसहित मञ्च बनाउन त्यहाँ पुगेको बताइन्छ । हुन पनि फोरमका कार्यकर्ताहरू सामान्य घाइते हुँदा माओवादीका २७ जना मारिएका थिए ।

त्यसबेला भर्खरै शान्ति प्रक्रियामा आएका माओवादी मधेशमा आक्रामक रूपमा संगठन विस्तारमा लागेको थियो । पूर्वी मधेशमा मातृका यादव र पश्चिम मधेशमा प्रभु साह सक्रिय थिए । गौर प्रभु साहको प्रभावित क्षेत्र हो । फोरमले भने मधेशमा माओवादीको गति नियन्त्रण गर्न चाहन्थ्यो । त्यसैको परिणाम थियो गौर हत्याकाण्ड ।

बर्बर हत्या
दुईतर्फी झडप हुँदा माओवादी कार्यकर्ताको बर्बरतापूर्वक हत्या गरिएको थियो । बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरी उनीहरुको हत्या गरिएको थियो ।

त्यस घटनामा केहीलाई यौन अंगमा उखुको डाँठले घोचेर यातना दिइएको, केहीको स्तन काटेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका थिए । कतिपयलाई स्थानीय बौधीदेवीको मन्दिरमा रगतको भोगसमेत दिइएको थियो ।

केहीलाई आगोसमेत लगाइएको थियो भने केहीको बलात्कारी गरी हत्या गरिएको बताइएको थियो । तर, गौर अस्पतालले भने लास खोलेर परीक्षण गरेन । त्यसैले बलात्कार वा अन्य यौनजन्य हिंसाको भने अझैसम्म औपचारिक पुष्टि भएको छैन ।

गौर घटनापछि इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘मृतकहरु सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो, उनीहरुलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको थियो ।’

कसरी भयो झडप ?
गौरस्थित राइस मिल्स चौरमा फोरमले २०६३ चैत ७ गतेका लागि आमसभा आयोजना गरेको थियो । कार्यक्रमका लागि चौरमा दुवै पार्टीले एक सय मिटरको दूरीमा मञ्च बनाएका थिए । दुवै पार्टीले एकै ठाउँमा मञ्च बनाएपछि कार्यक्रम स्थलमा झडप हुनसक्ने अनुमान धेरैको थियो ।

यद्यपि, ७ गतेको सुरुवात भयपूर्ण भने थिएन । बिहान ११ बजेदेखि नै फोरमको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । फोरमको कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट कार्यकर्ता आएका थिए ।

दिउँसो दुई बजे माओवादीको जुलुस सुरु भयो । कार्यक्रमका लागि उसले विभिन्न जिल्लाबाट ट्रकमा वाइसिएल कार्यकर्ता ल्याएको थियो । दुवैको जुलुस जम्काभेट हुँदा एकअर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

तर, अवस्था सौहार्दपूर्ण रहिरहन सकेन । माओवादीले जुलुस गरिरहेकै समयमा फोरमको कार्यक्रम सुरु भयो । फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदियो । माओवादी कार्यकर्ताले सहने कुरै भएन । केही बेरमै उनीहरु फोरमको मञ्चमाथि जाइलागे । तोडफोड गर्न थाले । हानाहान भयो । जे नहुनु थियो, त्यहीं भयो ।

कार्यक्रमस्थल एकै छिनमा रणभूमिका परिणत भयो । त्यहीं ६ जनाको लास भेटिएको थियो । त्यस्तै, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमुनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको थियो । कूल २७ जनामा ५ महिला र २२ पुरुषको मृत्यु भएको थियो ।

घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरम पक्षले नियन्त्रणमा लिँदै बर्बरतापूर्वक हत्या गरेका थिए । माओवादी कार्यकर्ताहरू अन्य जिल्लाबाट आएको हुनाले घटनास्थलबाट भागे पनि उनीहरुलाई भूगोलको राम्रो ज्ञान थिएन । त्यसैले उनीहरू सहजै फोरमको कब्जामा परेका थिए ।

घटनामा संलग्न को थिए ?
उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमले मधेशमा आन्दोलन अगाडि बढाउँदै थियो । यादव तिनै व्यक्ति हुन्, जो माओवादीको राजनीतिक छोडेर फोरममार्फत राजनीतिक स्पेस खोज्दै थिए । कुनै बेला एमालेको राजनीतिमा सक्रिय यादव युद्धकालमा माओवादीमा आबद्ध भएका थिए ।

२८ चैत २०६३ मा संविधानसभाको निर्वाचन हुँदैथियो । उक्त निर्वाचनलाई प्रभावित बनाउन पनि फोरम आक्रमक रूपमा सक्रिय भइरहेको थियो । २०६३ माघ १ गते काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान च्यातेर आन्दोलनको उद्घोष गरेका उपेन्द्र यादवले निरन्तर मधेशलाई आन्दोलित बनाइरहेका थिए । त्यही मेसोमा ७ चैत २०६३ मा रौतहटको गौरमा उक्त घटना भएको थियो ।

घटनालगत्तै माओवादी शोकमा प¥यो । भोलिपल्ट नै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरासहितको टोली गौर पुगेको थियो । पुनरावेदन अदालतका न्यायधीशको नेतृत्वमा छानबिन कमिटी पनि गठन भएको थियो । कमिटीले राजनीतिक प्रतिशोधसहितको नियोजित घटना भनेर व्याख्या गरेको थियो । तर, उक्त घटनामा संलग्न को थिए ? भनेर अहिलेसम्म प्रष्ट पारिएको छैन ।

उपेन्द्रमाथि आरोप
तत्कालीन फोरम अहिले जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि यो हत्याकाण्डको आरोप लाग्ने गरेको छ । उनीमाथि कारबाहीको माग गर्दै रौतहटमा बेलाबेला आन्दोलन हुँदै आएको छ । तर, अहिले माओवादीले उनै उपेन्द्रसँग सत्ता सहकार्य गरिरहेको छ ।

अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहेको अवस्थामा गौर हत्याकाण्डका पीडित आन्दोलित भएका छन् । उक्त आन्दोलन चर्किंदै गएपछि दोषीमाथि कारबाही गर्ने सहमति भएको हो । सहमतिअनुसार तत्कालीन फोरम अहिलेको जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूमाथि छानबिन गर्नुपर्ने हुन्छ ।

किन ब्युँतियो हत्याकाण्ड ?
गौर हत्यकाण्ड अहिले किन उठ्यो भन्ने सबैको चासोको विषय बनेको छ । प्रधानन्त्री प्रचण्डले उपेन्द्र यादवलाई पनि दबाबमा राख्न यस्तो सहमति गरेको विश्लेषण समेत हुन थालेको छ ।

ललितानिवासको जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईमाथि दबाब परेको छ । सर्वोच्च अदालतले उनीहरूमाथि पनि अनुसन्धान गर्न बाटो खुला गरेपछि नेपाल र भट्टराई नैतिक संकटमा मात्र छैनन्, दबाबमा समेत परेका छन् ।

प्रचण्ड नेतृत्व सरकारको साझेदार नेपाल र भट्टराई अदालतबाटै दबाबमा परेका बेला उपेन्द्र यादवलाई पनि गौर काण्डमार्फत दबाबमा राख्ने प्रचण्ड रणनीतिको रूपमा पनि हेर्न थालिएको छ । त्यसो गर्दा उपेन्द्र यादव माओवादीसँग सहकार्य गर्नुपर्ने बाध्यतामा हुन्छन् । त्यही बुझेर प्रचण्डले अहिले गौर हत्याकाण्डको छानबिनका लागि बाटो खुला गरेको विश्लेषण भइरहेको छ ।
अहिले सरकारले छानबिन र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपनि सरकारमै सहभागी दलका नेताको नाममा किटानी जाहेरी रहेकाले छानबिन कति निष्पक्ष हुन्छ ? भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्