
काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले क्विन्टल सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न रहेको बताएका हुन् ।
सुन तस्करी प्रकरणमा सरकार नै संलग्न रहेका भन्दै उनले आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए । पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म संसद अवरुद्ध गर्नेक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए ।
‘समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । यो भने सुन प्रकरणमा सरकार नै तस्करलाई जोगाउन लाग्नु हो । त्यसैले माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ’, उनले भने ।
उनले सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग दोहोर्याए । ‘सत्यतथ्यको गहिराइमा आवस्यक नीतिगत कानुनी स्वतन्त्र, निश्पक्ष र न्यायीक छानबिन समिति गठन हुनुपर्छ’, एमालेले भनेको छ ।














