Logo
Logo

सत्ता गठबन्धनको आकस्मिक बैठक जारी, गौर हत्याकाण्ड र ललिता निवासबारे छलफल


4.2k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा महान्यायाधीवक्ता र कानूनविदहरुसमेत सहभागी छन् । सर्वोच्च अदालतले यही साउन २१ गते ललिता निवास प्रकरणमा दिएको आदेशबारे छलफल गर्न गठबन्धनको आकस्मिक बैठक बसेको हो । बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेल समेत सहभागी छन् ।

गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि समेत छानबिन गर्ने ढोका खोलिदिएर सर्वोच्च ललिता निवास प्रकरणमा आदेश दिएको थियो । नेपाल युरोप भ्रमणबाट फर्किएपछि सत्ता गठबन्धन छलफलमा जुटेको हो । नेपाल आफ्नो युरोप भ्रमण छोट्याएर आजै स्वदेश फर्किएका हुन् ।

बालुवाटारमा जारी गठबन्धनको बैठकमा ललिता निवासबारे सर्वोच्चको आदेशमा अघि बढ्ने रणनीति बनाइने भएको छ । त्यहीकारण उक्त बैठकमा महान्यायाधिवक्ता पोखरेललाई पनि राखिएको छ।

त्यस्तै गत साउन १० गतेदेखि पटक पटक अवरुद्ध भएको संसद्‍को गतिरोध खोल्ने विषय पनि गठबन्धनको एजेन्डा बनेको छ।

२०६३ चैत ७ गते २८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डमा गठबन्धन दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु तानिने सम्भावना बढ्दै जाँदा त्यसबारे पनि छलफल हुँदैछ।

जसपाले यदि सरकारले पीडित पक्षहरुसँग गरेको सम्झौताअनुसार गौर हत्याकाण्डको छानबिन अघि बढाएमा सरकारबाट बाहिरिने चेतावनी केही दिनअघि दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्