Logo
Logo

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री


1.2k
Shares

दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि नेकपा (माओवादी केन्द्र)ले लिने बताएका छन् ।

माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आज आयोजना गरेको २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन थालेको माओवादीले नै भ्रष्टाचारको अन्त्य गर्ने बताए ।

स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादीले नै जनताको जीवनमा परिर्वतन ल्याउने उनको भनाइ थियो । उनले जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने बताए ।

‘अहिले देशमा धेरै वेथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिवर्तनका आन्दोलमा सहभागी भएका बलिदानीको कीर्तिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

निर्वाचनका बेला ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ’ भनेको स्मरण गर्दै उनले यसअघि जनताको अवस्था कसरी बदल्ने भन्नेमा अन्योल भए पनि माओवादीले अब भने बाटो पहिल्याएको बताए ।

‘हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुशतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सक्यौँ, तर जनताले चाहेअनुसारको परिवर्तन हुन सकेको छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताको जीवनमा परिर्वतन ल्याउन अझ सङ्घर्ष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौँ ।’

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रूपान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी फेरिन चाहन्छौँ, समाजवादको नयाँ आन्दोलनको रूपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ ।’

नयुद्धको नेतृत्वकर्ताको हैसियतले आफूले आन्दोलनका घाइते, अपाङ्ग शहीद र बेपत्तालाई सदैव सम्मान गर्दै आएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिवर्तनका विभिन्न आन्दोलनमा शहीद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहीद घोषणा गरिएको छ’, उनले भने ।

जनयुद्धलाई अमर बनाउने उद्देश्यले फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले बताए ।

शहीद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहीद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताए । उनले सरकारको अहिले ध्यान ‘गेम चेन्जर’ आयोजनामा गएको उल्लेख गर्दै भने, ‘सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठूला आयोजनालाई देशको विकासलाई नयाँ युगतर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रूपमा परिवर्तन गर्छौं ।

प्रतिक्रिया दिनुहोस्