
काठमाडौं । चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि एमालेभित्र पार्टी अध्यक्ष केपीशर्मा ओली र उनको गुट हाबी हुँदै गएको छ । सामान्यतया ओलीले ल्याएको प्रस्तावमा कोही कसैले दोहोरो सवाल र जवाफ गर्ने आँट गर्दैनन् ।
पछिल्लो पटकको भदौ १ मा जारी अन्तरपार्टी निर्देशन र त्यसअघिका गतिविधिलाई हेर्ने हो ओलीको बोलीलाई कोही कसैले काट्ने र त्यसमा सच्याउने वातावरण बनेको देखिदैन । बरु, ओलीले जस्तो बोलेपनि नेता तथा कार्यकर्ता थपडी बजाउन बाध्य छन् ।
एमालेको सचिवालय बैठक प्रभावकारी मानिन्छ । त्यहाँ विचार र फरक धारणा राख्ने र पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ भन्ने नेताहरूको बहुमत भए पनि ओलीको दास बन्न विवश छन् । ओलीको विरोध गरेर पार्टीमा टिक्न कठिन हुने भएकाले ओलीले ल्याएको जस्तो सुकै अराजनीतिक प्रस्तावमा पनि सामान्य छलफल बाहेक अन्य केही संशोधन हुँदैन । ओली लेनिन शैलीमा होइन, स्टालिन शैलीमाअगाडि बढिरहेको अनुभूति एमाले नेताहरूले गरिरहेका छन् ।
भदौ १ मा जारी भएको अपानीले एमालेले आफ्नो कार्यालयमा प्रयोग गर्दै आएको तीनजना दिवंगत नेताहरू पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको अतिरिक्त केपीशर्मा ओलीको तस्वीर राख्ने निर्णय गर्यो । जबकि, त्यो विषय गम्भीर हो । यस्तो गम्भीर विषयमा पार्टीमा छलफल हुनुपथ्र्यो । दिगंगत नेताहरूको फोटो राख्ने परम्परा तोड्दै जिवित नेता ओलीको फोटो के अर्थमा राख्ने भन्ने छलफल हुनुपथ्र्यो । त्यसो भएन र दिवंगत नेताहरूको लाममा ओलीको फोटो झुन्ड्याउने निर्णय भयो ।
पार्टी कार्यकर्ताहरूले ओली जाने कार्यक्रममा ओली र ओली नजाने कार्यक्रमा अन्य नेताहरू जो सहभागी हुन्छन्, उनीहरूको पनि तस्वीर प्रयोग गर्दै आएका थिए । अपानीले त्यसलाई निषेध गरेको छ । यसको अर्थ एमालेमा यतिबेला ओली अघोषित ‘निरंकुश डक्ट्रिन’ शुरु भएको छ, जुन अकाट्य छ भन्ने नै हो ।
एमालेले आफ्नो नीतिमा मदन भण्डारीको बहुदलीय जनवाद कार्यनीतिक सिद्धान्त हो भनिरहेका बेला पार्टी अध्यक्ष ओलीले अपानी जारी गर्दा होस् वा बैठकमा निर्णयहरू ल्याउँदा होस् आफूअनुकुल हुने गरी ल्याउन थालेका छन् । यस्तो ठाडो प्रस्तावले विगतमा ओलीलाई साथ दिइरहेका नेताहरूलाई समेत अप्ठेरोमा पारेको छ । उनीहरूले ओलीको रवैयालाई रोक्न विकल्पको खोजी गर्न थालिसकेका छन् ।
ओलीका प्रिय पात्रहरू मध्ये कर्ण थापाले एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको आवश्यकता रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् । थापा मात्र होइन गोकुल बाँस्कोटालगायत नेताहरूले पनि विद्या भण्डारीको आवश्यकता रहेको बताउन थालेका छन् ।
उनीहरू ओलीको डरले मुखर भएर बाहिर नआए पनि एमालेबाट बाहिर रहेको नेकपा एसलाई पनि पार्टीमा ल्याउन सक्ने एउटा कडीको रुपमा भण्डारीलाई लिन थालेका छन् ।
राष्ट्रपति पदको अवधि २०७९ फागुन २८ गते सकिएयता भण्डारी बूढानीलकण्ठस्थित निजी निवासमा बसिरहेकी छिन् । यस क्रममा उनले सामाजिक र राजनीतिक भेटघाट तीव्र बनाएकी छिन् ।
गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रमुख अतिथि बनेकी उनले राजनीतिक भाषण गर्दै भनिन, ‘नेपाली क्रान्तिको अभिभारा पूरा भएको छैन ।’ भण्डारीले उक्त अभिव्यक्ति दिएपछि एमालेभित्र एक प्रकारको तरंग उत्पन्न भएको छ ।
एमालेभित्र ओली र उनको गुटको एकाधिकारले आक्रान्त भएका नेताहरूलाई भण्डारीको सो अभिव्यक्ति कामयावी भएको थियो । २०७१ कात्तिक ११ मा राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् । भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन् ।
२०५१ देखि संसदीय राजनीतिमा प्रवेश गरेकी भण्डारी २०५४ को छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य, त्यसपछि दुईपटक उपाध्यक्ष बनिन् । सक्रिय राजनीतिको दौरान भण्डारी मन्त्री हुँदै राष्ट्रपति बनिन् । भण्डारीका तत्कालीन केही सहकर्मी नेता अहिले पनि साथमै छन् ।
विगतमा उनले बलियो ढंगले नेतृत्वमा ल्याएका नेताहरुको जोड भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ भन्नेमा देखिन्छ । यसक्रममा उनले विभिन्न जिल्लाका नेताहरुलाई भेटघाट गर्दै आएकी छिन् । पछिल्लो एक सातायता कोशी प्रदेशका सबै जिल्लाका महिला नेतृहरूलाई पनि भेटघाट गरेर राजनीतिक कुराकानी गरेकी थिइन ।
माओवादीसँग भएको एकता टिकाउन पनि उनी सक्रिय भइन् । ओली र प्रचण्डलाई मिलाउन शितल निवासमा धेरै पटक बैठक बस्यो । अन्ततः ओलीको हठका कारण संसद विघटन गर्न बाध्य भइन । यसले राष्ट्रपतिको गरिमामा समेत धक्का पुग्यो । सामाजिक सञ्जालमा राष्ट्रपतिको व्यापक विरोध भयो ।
यो सबै काम ओलीकै कारण भयो । सपथ ग्रहण समारोहमा ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई बदनाम गर्ने काम ओलीले गरे । ओली चाहन्थे, राष्ट्रपति ओलीको ‘रवर स्ट्याम्प’ हो, बाध्य भएर विद्या भण्डारी ‘रवर स्ट्याम्प’ बनिन् । उनी राष्ट्रपति हुँदा ओलीले गरेको अपमानबाट आक्रोशित छिन् ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियताबाट झस्केका छन् ओली । ओलीले विद्याको सक्रियतालाई लिएर ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ, पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो, हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो, हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन,’ पत्रकार सम्मेलनमा भनेका थिए ।
एमालेका बहुसंख्यक केन्द्रीय सदस्यहरू मात्र होइन जिल्ला तहका नेताहरूले पनि ओलीको एकपछि अर्को पछिल्लो कदम मन नपरेपछि भण्डारीसँगको सामिप्यतालाई बढाएका छन् । एमालेमा विशेष महाधिवेशनको मागसमेत हुन सक्ने नेताहरू बताउँछन् ।
राष्ट्रपति पदबाट बाहिरिँदै गर्दा भण्डारीले पूर्वराष्ट्राध्यक्षको सुविधा नलिने निर्णय गरेकी थिइन् । त्यतिबेला यो विषयलाई पनि सक्रिय राजनीतिमा फर्किने चाहनाका रूपमा व्याख्या गरिएको थियो ।
एमालेका एक पदाधिकारीका अनुसार सक्रिय राजनीतिमा आउने विषयमा पूर्वराष्ट्रपति भण्डारीले निकट नेताहरूसँग परामर्श सुरु गरिसकेकी छिन् । एमालेको दसौं महाधिवेशनमा ओलीको पेलानमा परेका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरूको ओलीसँग दूरी बढ्दै गएको र उनीहरूको परामर्शले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेभित्र सक्रिय हुन कसैले नछेक्ने बताइएको थियो ।
पूर्व राष्ट्रपति भण्डारीले आफू भने सामाजिक काममा सक्रिय रहने बताउदै आएकी छिन् । तर, राष्ट्रपति हुँदा पनि उनको राजनीतिक सक्रियता भने कम थिएन । ०७२ कात्तिकमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भण्डारीले एमाले परित्याग गरे पनि पार्टीभित्र शक्तिको अभ्यास गर्दै आएकी थिइन् । राष्ट्रपतिका रूपमा २ हजार ६ सय ९४ दिन शीतल निवास बस्दा भण्डारीले थप शक्ति आर्जन गरेकी थिइन् ।
दसौं महाधिवेशनमा पदाधिकारी छनोटमा हस्तक्षेप गरेर आफूले चाहेका व्यक्तिहरूलाई नेतृत्वमा ल्याएको चर्चा एमाले वृत्तमा थियो । त्यस विषयलाई लिएर एमालेका कतिपय नेताले खुला रूपमा आलोचना गरेका थिए । मुख्यमन्त्री, मन्त्री, सांसदमा समेत आफूनिकटलाई भाग खोजेको, महत्वपूर्ण राजनीतिक विषयमा दलअनुकूल हुने गरी निर्णय गरेर पार्टीभित्रको शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको आरोप पुरै कार्यकालभर लागेको थियो ।
शक्तिको सदुपयोग गरिरहेकी पूर्वराष्ट्रपति भण्डारीको पछिल्ला गतिविधिले ओलीको अराजनीतिक, निरंकुश, तानाशाही शैलीलाई रोक्न केन्द्रित हुन्छ वा विद्याको सक्रियताले ओलीलाई झन बलियो बनाउन केन्द्रित हुन्छ भन्ने बारेमा एमालेभित्र भित्रै बहसको विषय बनेको छ । जे भए पनि एमालेभित्र ओलीको विकल्पको खोजी सुरु भैसकेको छ । कथंकदाचित विद्या पछि हटिन् भने पनि ओलीको विकल्पको रुपमा केही नेताहरूले भित्र–भित्र आ–आफ्नो तयारी गरिरहेका छन् ।














