Logo
Logo

केपीप्रति मोहभंग भएपछि उठ्यो सुवासको चोला


152k
Shares

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार निधन भयो । उनको  अन्त्येष्टि हुन बाँकी नै छ । परिवारका सदस्य जम्मा भएपछि बिहीबार अन्त्येष्टि हुनेछ ।

समकालीन राजनीतिमा सबैभन्दा स्वच्छ र निष्कलङ्क छवि बनाएका सुवासको निधनले सिङ्गो देश स्तब्ध छ । सबैले दुःख र श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टी अध्यक्ष केपी  शर्मा ओलीले नेम्वाङ पार्टीका उपाध्यक्ष मात्र नभएर अति घनिष्ठ र असल भित्र रहेको बताइसकेका छन् । अति अप्ठ्यारा क्षणहरूमा सुवासबाट पाएका साथहरू ओलीले स्मरण गरेका छन् ।

जीवनभर विधि र विधानको कुरा गरेका सुवास एक घटनामा भने धेरै नै आलोचित भए । त्यो भनेको केपी ओलीको असंवैधानिक यात्राको क्षण थियो । अर्थात्, २०७७ पुस ५ गते ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेपछि भने सुवासले जीवनकालकै सबैभन्दा धेरै आलोचना  खेप्नु परेको थियो ।

कानुन तथा संविधानका ज्ञाता सुवासबाट आम नागरिकले सुन्न चाहेका थिए– ‘अध्यक्ष ओलीले चालेको कदम असंवैधानिक छ ।’ तर, बाध्यता र वफादारिताको परिबन्दबाट निस्कन नसक्दा सुवासले ओलीको असंवैधानिक कदममा विधि र विधानको कुरा गर्न सकेनन् ।

ओलीको असंवैधानिक कदमले राजनीति गर्माएको बेला संविधान लेखनका क्रममा सुवासले धुलिखेलमा राखेको एउटा धारणा भाइरल भयो । 

धारणाको सार थियो– ‘विगतमा संविधानको छिद्र खोज्दै बारम्बार संसद् विघटन गरियो । त्यसले अस्थिरता निम्त्यायो । तर, हामीले बनाएको संविधानले त्यो गलत परम्परा अन्त्य गरेको छ, गर्ने छ । अब कसैले पनि चाहेकै भरमा सार्वभौम संसद् विघटन गर्न सक्ने छैन । यसले हामीलाई स्थिरतातर्फ लैजान्छ ।’

संविधानसभाको अध्यक्षको रूपमा उनले राखेको धारणा अनुसार नै संविधान बन्यो । तर, जुन संविधान कार्यान्वयनकै क्रममा रहेको बेला आफ्नै अध्यक्षबाट भएको अक्षम्य गल्तीमा भने सुवासले एक शब्द पनि बोलेनन् । त्यसैले ‘सुवास पनि ओलीकै मतियार भए’ भन्दै आलोचना भयो ।

एमालेमा कानुनी सङ्कटहरूमा सुवासले बोलिसक्दा अरूले बोल्न पर्दैनथ्यो । उनले व्याख्या गरिसक्दा एक मतले स्वीकार्य हुन्थ्यो । एक भेटमा नेम्वाङले भनेका थिए– ‘अध्यक्ष कमरेडलाई यो कदम असंवैधानिक ठहर हुन्छ, त्यसो नगरौँ न भनेकै थिए, उहाँले मान्नु भएन, आखिर त्यै भयो ।’ अर्थात्, ओलीको असंवैधानिक कदममा सुवास सहमत थिएनन् ।

पार्टी अध्यक्षको असंवैधानिक कदममा असहमत रहेता पनि सुवासले सार्वजनिक रूपमा कुनै पनि मञ्चमा ‘संसद् विघटन असंवैधानिक छ’ भनेनन् । त्यो बेला उनले ‘संसद् विघटन असंवैधानिक छ’ भनेको भए एमालेको आन्तरिक राजनीति र बाह्य राजनीति नै फरक बन्थ्यो । तर, नेतृत्वको रक्षा गर्ने सन्दर्भ बिर्सेनन् । र, नबोलेरै ओलीलाई साथ दिए ।

सुवासको निधनपछि अध्यक्ष ओलीले ‘अति कठिन पलहरूमा पनि उहाँले साथ दिनु भयो’ भने । ओलीले भनेका अति कठिन दिनहरूमध्ये असंवैधानिक यात्राका दिनहरू पनि हुन् । जहाँ, सारा आलोचना खेपेरै भए पनि सुवासले ओलीलाई काँधमा राखे ।

एमालेमा सुवासको गुट देखिएन । राजनीतिक जीवनमा ‘फस्ट म्यान’ नभए पनि अकाट्य नेतृत्वकै स्थानमा रहे । र, सधैँ मूल नेतृत्वप्रति समर्पित । केपी ओली मूल नेतृत्वको रूपमा स्थापित भएदेखि सुवास राष्ट्रपतिको उम्मेदवार बन्दासम्म ओली–सुवास सम्बन्ध अति घनिष्ठ थियो । तर, जब हार्ने अवस्थामा ओलीले राष्ट्रपतिको उम्मेदवार बनाए तब सुवास विक्षिप्त भए, सम्बन्धमा दरार आयो ।

एमालेले राष्ट्रपति जित्ने परिस्थिति रहँदासम्म ओलीले अरू नै उम्मेदवार तयार पारेका थिए । तर, राजनीतिक परिस्थिति बिग्रेपछि एमाले हार्ने अवस्था बन्यो । त्यसपछि, सुवासलाई उम्मेदवार बनाए । सुवास पराजित मात्र भएनन्, इमानको राजनीति गरेर आनन्दले बिदा हुने बेलामा वियोगान्त इतिहास बनाए । त्यसपछि सुवासको मन फिरेन ।

सुवासको एउटा बानी थियो– पार्टीलाई अप्ठ्यारो परेको बेला कि त सार्वजनिक मञ्चहरूमा बोल्दै बोल्दैनथे, कि त खुलेरै टिप्पणी गर्थे । जीवनकालको अन्त्यतिर आइपुग्दा भने सुवासले ‘लाइन क्रस’ गरे । र, पार्टीको लाइन विपरीत बोले ।

पछिल्लो समय एमालेले अनाहकमा महिनौँ संसद् अवरोध गर्‍यो । सुवासलाई त्यो पिटिक्कै मन परेको थिएन । संयोग नै मान्नुपर्छ, धुलिखेल नै पुगेर सुवासले पार्टीले गरिरहेको संसद् अवरोधको वैधानिकता खोजे, जहाँबाट उनले संविधान बन्दै गर्दा संवैधानिक सर्वोच्चताको पक्षपोषण गरेका थिए ।

जहाँबाट उनले अध्यक्ष ओलीको लय र लाइनमा प्रश्न गरे, त्यसको वैधानिकता खोजे । उनले भनेका थिए– ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिक रूपमा गरिने हुनाले यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो । यस पटक मेरो पार्टीले अवरोध गरिरहेको छ । मेरो दलले त्यो अवरोधको औचित्य पुष्टि गर्नुपर्छ ।’

यहाँसम्म आइपुग्दा ओली–नेम्वाङको सम्बन्धमा आइस जमिसकेको थियो । ओलीप्रति नेम्वाङको मोहभंग भइसकेको थियो । त्यसयता ओली–नेम्वाङको यात्रा दोबाटोमा पुगिसकेको थियो । छुटिन मात्र बाँकी थियो ।

एमालेमा ओलीको एकलौटी निर्णय चल्छ । अनुकूलताका आधारमा एक्लै विधि र विधान संशोधन गर्ने अवस्थामा छन् । सोही कारण एमाले निरन्तर ओरालो यात्रामा छ । सुवासलाई त्यो मनै परेको थिएन । यसै आसपास विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भए । र, एमालेमा शक्तिको पाराडाइम सिफ्ट हुने परिस्थिति बन्यो ।

चाहेर वा नचाहेर विद्या एमाले भित्रको शक्ति संघर्षमा एउटा ध्रुवको रूपमा स्थापित हुँदै गएका छन् । ओलीलाई लगाम लगाउन धेरै नेता कार्यकर्ता विद्यालाई नेतृत्वको रूपमा अघि सार्ने पक्षमा छन् । त्यसमध्येका एक थिए, सुवास नेम्वाङ ।

मूल नेतृत्वको रूपमा स्थापित भएपछिको हरेक क्षणहरूमा साथ दिँदै आएका सुवास पनि विद्यालाई नेतृत्वको रूपमा स्थापित गर्ने पक्षमा लागेपछि सुवाससँग ओली रुष्ट थिए । यसै विषयलाई लिएर केपी र सुवासबिच सौहार्द सम्बन्ध थिएन । कुनै न कुनै रूपमा ओलीबाट प्रहार भइरहेका कारण औपचारिक कार्यक्रममा बाहेक ओली–सुवासबिच भेटघाट नै थिएन ।

ओलीलाई मूल नेतृत्वको रूपमा स्थापित गर्न सुवासले अनेक भूमिका खेले । अशोक राईहरूले ‘पार्टी पहिचान विरोध भयो’ भन्दै विद्रोह गर्दा जनजाति नेतृत्व उनै सुवासले जोगाए, नेकपा भएपछिको हरेक शक्ति संघर्षमा ओलीलाई नै साथ दिए, ओलीको असंवैधानिक कदममा काँधै थापेर हिँडे, एमाले विभाजनमा ओलीकै साथ रोजे । तर, त्यसपछिका हरेक क्षणहरूमा सुवास ओलीबाट अपमानित र अपहेलित मात्रै भए ।

यसरी, हरेक क्षणहरूमा साथ दिएको नेतृत्वबाट अन्ततः धोकै धोका भएपछि ओलीप्रति मोहभंग गरेका सुवासले अन्ततः अकस्मात् देह त्यागे । र, अबका दिनमा न ओलीले सुवासजस्तो वफादार सहयात्री पाउनेछन्, न एमालेले नै यस्ता शालीन, भद्र र बौद्धिक नेता नै पाउने छ, न त नेपाली राजनीतिले नै । 

एउटा आदर्श नेतृत्वको महाप्रस्थानले दुनियाँ स्तब्ध छ !

प्रतिक्रिया दिनुहोस्