काठमाडौं । शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले दसैंपछि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
जगदम्बाले प्रति कित्ता ३ सय रुपैयाँका दरले प्रिमियम आईपीओ जारी गर्ने निवेदन पेस गरेको हो । कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ । जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ ।

सन् २०२२÷२३ मा जगदम्बा स्टिल्सको व्यापार ४० अर्ब १७ करोड रुपैयाँमा छ । अघिल्लो वर्ष कम्पनीले ४९ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा शंकर समूहको सो कम्पनीको व्यापार साढे ९ अर्बले घटेको हो । व्यापार घटेपनि जगदम्बा अझै देशको शीर्ष डन्डी उद्योगमा पर्छ ।
यस्तै, जगदम्बा स्टिल्सले २०२०÷२३ मा २९ अर्ब ५५ करोड र २०१९/२० मा २१ अर्ब रुपैयाँको कारोबार गरेको थियो । बाराको जीतपुरमा प्लान्ट रहेको जगदम्बा स्टिल्ससँग वार्षिक २४ लाख ४४ हजार टन जडित क्षमता छ । २०२१ मा कम्पनीको जडित क्षमता २० लाख ३० हजार टन थियो भने २०२१ मा कम्पनीले सीआरएम प्लान्ट थप गरेको थियो ।
कम्पनीले एमएस बिलेट उत्पादनका लागि स्पन्ज आइरन र पिग आइरन विदेशबाट आयात गर्दै आएको छ । कम्पनीले भारत र चीनबाट एचआर÷सीआर कोइल्स, वायर रड, पिग आइरन र स्पन्ज आइरन आयात गर्दै आएको छ ।












