Logo
Logo

सुखी नेपालीको आधार नै कृषि : मन्त्री भट्ट


- दृष्टि न्युज/संवाददाता


धनगढी, २८ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक समृद्धिका लागि ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने सरकारले अगाडि सारेको नारालाई सार्थकतामा पु¥याउने उद्देश्यका साथसरकारले काम अगाडि बढाइरहेको बताए ।

मोहन्याल गाउँपालिकाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा गत शनिबार फलेबिसौनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टले सो प्रतिबद्धता जनाएका हुन् । मन्त्री भट्टले ‘सुखी नेपाली र समृद्ध नेपाल’ हुनका लागि हरेक नेपाली कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् । देशका अन्य क्षेत्रहरुभन्दा सुदूरपश्चिम प्रदेशमा कृषिका प्रशस्तै सम्भावना रहेकाले कृषिमा आधारित आधुनिक कृषिको थालनी गर्ने सोचमा सरकार लागिपरेको बताए ।

सुदूरपश्चिम क्षेत्र जडीबुटी, वन पैदावारदेखि लिएर कृषि उत्पादनका क्षेत्रमा मात्र होइन, जलस्रोत, पर्यटनको क्षेत्रमा पनि धनी प्रदेश हो । त्यसको समग्र विकासका लागि सरकारले योजना बनाएर अघि बढ्ने पनि मन्त्री भट्टले बताए । मन्त्री भट्टले चुरे क्षेत्रमा जडीबुटी, अदुवाखेती र फलफूल अनि पशुपालनको एकदमै सम्भावना भएकाले त्यससँग सम्बन्धित उद्योग सञ्चालनका लागि सरकारले त्यसको विस्तृत अध्ययन गरिरहेको पनि बताए ।

कैलाली जिल्लाको चुरे क्षेत्रमा विकास निर्माणका योजनाहरुलाई सबैजनताका घर घरमा पु¥याउने सम्भवनालाई भूगोलले पनि असहज बनाइदिएकाले चुरे क्षेत्रको बस्तीलाई एकीकृत बस्तीका रुपमा विकास गर्न सकेको खण्डमा जनताले विकासको आभाष गर्न पाउनेछन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद् झपट रावल कैलाली जिल्लाको समग्र विकासका लागि अल्पकालीन र दीर्घकालीन विकासका योजनाहरुलाई योजनाबद्ध रुपले लागू गर्ने कार्यलाई अगाडि बढाइएको बताए ।

रानाथारुको खुशीयाली

नेपाल सरकारले रानाथारुहरुलाई आदिवासी जनजातीमा सुचिकरण गर्ने निर्णय गरेको खुशीयालीमा कैलाली र कञ्चनपुरका राना थारुहरुले बिहीबार धनगढीमा खुशीयाली बनाएका छन् । धनगढीमा बाजागाजासहित अविरजात्रा गरिनुका साथसाथै पार्कमोडमा दिपावलीका साथसाथै कोणसभा पनि गरेका छन् ।

रानाथारू आदिवासी जनजातिमा सूचीकृत गर्ने सरकारको निर्णयले झनै देशप्रेमको गाथा मनमष्तिस्कमा बस्न पुगेको धारणा अधिकांश रानाथारुहरुले व्यक्त गरेका छन् । धनगढीको पार्कमोडमा आयोजित दिपावली कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले लामो संघर्षपश्चात नेपालका रानाथारुहरुको भाषा र जातीय अस्तित्वको पहिचना प्रदान गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरे ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा रानाथारूसहित गणना गर्दा हाल थारू समुदाय कुल १७ लाख ३७ हजार ४ सय ७० (जनसंख्याको ६ दशमलव ६ प्रतिशत) मानिएको छ । २०६४ मा डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले रानाथारूसहित १० जातिको अध्ययन गरी सूची परिमार्जनका लागि सुझाव दिए पनि सरकारले हालसम्म यसबारे निर्णय गरेको थिएन ।

नेपालमा ३ लाख ३६ हजार रानाथारूको जनसंख्या छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनईजीआरपी) को प्रतिवेदन, २०१४ मा सो समुदायको जनसंख्या ३ लाख ६० हजार रहेको जनाइएको थियो । रानाथारूका भाषाविज्ञ कमलसिंह रानाथारूका अनुसार पाठ्यक्रम विकास केन्द्रले उक्त भाषाको कक्षा १ देखि ३ सम्मको मातृभाषाको पाठ्यक्रम तयार गरिसकेको छ । ‘हाम्रो भाषामा वर्ण निर्धारणसमेत भइसकेको छ, जसमा ६ स्वर र ३० वर्ण छन,’ कमलसिंह रानाथारूले दृष्टिसँग भने । पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास गर्ने रानाथारुहरुको कुल जनसंख्या ३ लाख ५० हजार रहेको छ ।

– वीरेन्द्र रावल

प्रतिक्रिया दिनुहोस्