Logo
Logo

कोरोना भाइरसको चेतावनी दिने डा.लीको मृत्युले विश्व तरंगित


- माथवरसिंह बस्नेत


  • माथवरसिंह बस्नेत

चीनका प्रख्यात् चिकित्सक डा.ली वेनलियाङको मृत्युलाई लिएर विश्वभरि चासो, चिन्ता र शंका प्रकट हुन थालेको छ । चीनमा कोरोना भाइरस नामको नयाँ रोग फेला परेको र त्यो अहिलेसम्मकै गम्भीर तथा विनाशकारी महामारीका रुपमा विश्वभरि फैलिनसक्ने संभावनाको प्रक्षेपण गरेर उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्वसमूदायको ध्यानाकर्षण मात्र गराएका थिएनन्, सावधान रहन सचेत पनि गराएका थिए । उनको त्यस्तो मानव कल्याणप्रति समर्पित प्रयासलाई चीनले अनावश्यक अफवाह फैलाएर अन्तर्राष्ट्रियजगतमा आफ्नो देशलाई बदनाम तुल्याउन खोजेको आरोप लगाएर उनलाई तत्कालै निगरानीमा लिएको थियो । चीनमा निगरानीमा राख्नु भनेको हिरासतमा राख्नु हो । त्यही अवस्थामा उनको मृत्यु भएको र उनको मृत्युका बारेमा उच्चस्तरीय जाँच गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगको निर्णयलाई कम्युनिष्ट पार्टीले समेत अनुमोदन गरेको घटनाले उनको मृत्युलाई रहस्यमय बनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ, चिकित्सक तथा मानवअधिकारवादीहरु पनि चीन सरकारले गराउने छानविन विश्वसनीय र पारदर्शी ढंगले हुनुपर्ने माग गर्न थालेका छन् ।

माथवरसिंह बस्नेत

डा.ली वेनलियाङको पनि भौतिक उपस्थिति कायम रहेको भए उनको पुनस्र्थापना निश्चित देखेर उनीमाथि षड्यन्त्र भएको हुनसक्ने आशंका चीन बाहिर मात्र होइन, भित्र पनि व्यापक रुपमा हुन थालेको छ । त्यही कारण कम्युनिष्ट पार्टीले उनको मृत्युको कारणको छानविन गर्ने सहमति दिन वाध्य हुनुपरेको हो । उनलाई जिवित राखेर छानविन गरिएको भए उनको निष्कर्ष र निदानलाई राज्यले सम्मान गर्नै पर्ने थियो । चीनजस्तो विशाल तथा महान देशका निम्ति त्यस्तो स्थिति ग्राह्य हुँदैन भन्नेहरुबाट त्यस्तो गल्ती भएको हो कि त्यो घटना भवितव्य नै थियो ? त्यसको यथार्थ तब प्रष्ट हुनेछ, जब छानविन आयोगको प्रतिवेदन सार्वजनिक हुनेछ ।

त्यस्तो मागका पछाडिको कारण बुझ्न मुस्किल छैन । जुन डाक्टरले त्यो रोग पत्ता लगाए र त्यसको गम्भीरताका बारेमा सबैलाई सचेत गराए, उनी आफैं त्यही रोगबाट मरेको कुरा धेरैलाई पत्यार हुन नसकेकाले त्यस्तो प्रश्न उठेको हो । उनको मृत्यु यत्ति चाँडै हुँदैनथ्यो भने, उनले कोरोनाभाइरसका सम्वन्धमा जुन भविष्यवाणी गरेका थिए, त्यसमाथि वृहत् रुपमा खोज र अनुसन्धान हुने थियो । हुनसक्छ, उनलाई विश्व स्वास्थ्य संघको सिफारिसमा नोवेल पुरस्कारले समेत सम्मानित गर्ने थियो । जुन कामले उनलाई त्यस्तो सम्मानको हकदार बनाउने संभावना थियो, त्यही काम, चिनियाँ सरकारलाई सुपाच्य हुन सकेन र उनी सरकारी निगरानीमा पुगे । त्यही उनको निधन भयो । डा.लीको मृत्यु, शंकास्पद, रहष्यमय तथा अकल्पनीय मानिएको कारण नै त्यही हो । त्यो घटनाको छानविनलाई अन्तर्राष्ट्रियजगतको मान्यता प्राप्त एजेन्सीको रोहवरमा हुनुपर्छ भन्ने माग चीनबाटै उठेको कारण पनि त्यही हो ।

चीनसंग त्यस्ता मेधावी चिकित्सक पनि थिए, जसले प्रथम नजरमै त्यो घातक सरुवा रोगको लक्षणको अध्ययन गरेर त्यसलाई किटेर भनेका थिए– कोरोना भाइरस । त्यत्ति मात्र होइन, उनले महामारी बनेर विश्वलाई नै थर्काउने छ भन्ने भविष्यवाणी सतर्क रहन सबैलाई सचेत पनि गराएका थिए । डा.लीको अध्ययन र निक्र्योल कति सही र सटिक रहेछ, त्यो तब सावित भयो, जब उनले भविष्यवाणी गरे अनुसार केही दिनभित्रै त्यसले विश्वव्यापी महामारी बनेर संसारलाई आतंकित तुल्याउन थाल्यो । त्यसपछि सबैले स्वीकार गरे, डा. लीको निदान ठीक थियो, त्यो रोग कोरोना भाइरस नै थियो । उनलाई डब्लुएचओलाई सूचना दिएर साखुल्य बन्नखोजेको आक्षेप लगाएर अफवाह फैलाउने आरोप लगाउनेहरुचाहिँ गलत प्रमाणित भए । त्यो निष्कर्षको परिणाम यो भयो कि ज–सले उनलाई कारवाहीको सिफारिस गरेका थिए, ती सबै अप्ठेरोमा पर्नपुगे । सरकारी चिकित्सा प्रणालीको मेरुदण्ड भनेको चेन अफ कमाण्ड हो । त्यही कमाण्डका माध्यमबाट जुन सूचना माथिल्लो निर्णायक निकायमा पुगेको थियो र जहाँबाट निशृत निर्देशनबाट उनलाई निगरानीमा राखिएको थियो, ती सम्पूर्ण प्रक्रिया गलत सावित हुनुको अर्थ हो, त्यसमा संलग्न अधिकारी सबै कारवाहीको भागीदार हुनु ।

चीनजस्तो समृद्ध मुलुकमा स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवस्थित तुल्याउने संजालको चेन अफ कमाण्डमा विज्ञ र विशेषज्ञ जतिसुकै कार्यरत भए पनि माथिल्लो निकायको नेतृत्व गर्ने व्यक्तिचाहिँ पार्टीको वरिष्ठ नेता हुनु स्वभाविक हो । उनैको स्वीकृति अथवा अनुमतिबेगर कसैमाथि कारवाही संभव हुँदैन । तैपनि कारवाही भयो र डा.ली हिरासतमा परे । त्यसै बेला जुन रोग महामारी बनेर फैलियो, त्यो कोरोना भारइरस नै हो भन्ने पनि पुष्टि भयो र डा.ली हिरासतको होइन, पुरस्कारको पात्र भएको चर्चा चल्नथाल्यो । आश्चर्यलाग्दो र अविश्वसनीय घटना तब भयो, जब कोरोना भाइरस पत्ता लगाउने डाक्टर आफैं त्यसको शिकार बनेको कथा बाहिर आयो । त्यत्ति मात्र होइन, अर्को दिन त्यही रोगबाट उनको निधन भएको दुखद् समाचार पनि आयो । त्यहीबाट विश्वभरि शुरु भयो, उनीमाथिको षड्यन्त्र र हत्याको आशंकाको शृंखला । यद्यपि, चीनको सुपरीक्षण आयोग र कम्युनिष्ट पार्टीसमेतको सहमतिबाट छानविन आयोग बनिसकेको छ र त्यसले काम पनि थालिसकेको छ, तथापि कम्युनिष्ट शासन अन्तरगत जाँच र छानविन कसरी हुन्छन्, त्यसको अध्ययनलाई सहयोग गर्न पाठकहरुका निम्ति केही छोटा उदाहरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

दोश्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघ विश्वशक्ति बनेका थिए । यो घटना त्यसै बेलाको हो । सोभियत संघका नेता जोसेफ स्टालिनलाई कम्युनिष्टहरु विश्वकै सर्वशक्तिमान नेता मान्थे । प्रजातान्त्रिक विश्वका सरकार प्रमुखहरु पनि उनलाई शक्तिशाली तानाशाह ठानेर अदव गर्दथे । उनको एक इशारामा विश्वको शक्ति संतुलन यताको उता र उताको यता हुन्थ्यो । सोभियत संघभित्र उनका चारैतिर सुरक्षाका घेरा हुन्थे, कोही सामुन्ने पुग्न सक्तैनथे । उनी सिगारका सौकिन थिए । एक दिन उनको मनपर्ने सिगार हरायो । कार्यालयमा धुइँधुइँति खोजी भयो, फेला परेन । घरमा छोरी स्वेतलानासित सोधियो, त्यहाँ पनि छैन । प्रश्न उठ्यो, त्यत्रो सुरक्षा घेराभित्र चोर कसरी छि¥यो, त्यो पनि कमरेड स्टालिनको कार्यकक्षमा घसेर उनको सिगार चोर्ने काममा सीआईएको हात त छैन ?

दुई घण्टापछि फेलाप¥यो– स्तलिनकै कोटको देब्रेतिरको कलम सिउरिने गोजीमा गल्तीले कलमसंगै सिगार पनि घुसारेका रहेछन् । त्यत्तिन्जेलमा केजीबीले चोरको शंकामा २० जनालाई पक्राउ गरिसकेको, क्रिमिनल रेकर्ड भएका चारजनाले मृत्युदण्ड पाइसकेका र आधा दर्जन सुरक्षाकर्मी निलम्वनमा परिसकेका थिए । ख्रुस्चेभका पालामा सार्वजनिक भएको त्यो घटनालाई अमेरिका र युरोपेलीहरुले स्वाद मानेर प्रचार गर्ने नै भए, त्योभन्दा बढी सोभियत संघका नेता तथा लेखकहरुले व्यापक प्रचार गरेका थिए । ब्रेझनेभका पालामा त्यसमाथि प्रतिवन्ध नलागे पनि प्रचार गर्न बन्द गरिएको थियो ।

चीनमा पनि कम्युनिष्ट पार्टीका सचिव देङ सियाओपिङलाई अध्यक्ष माओको साँस्कृतिक क्रान्तिताका “क्यापिटलिस्ट रोडर” तथा गद्धार भनेर अपमानित मात्र गरिएको थिएन, कम्युनको श्रम शिविरमा निष्काशित पनि गरिएको थियो । माओको निधन र ग्याङ अफ फोरको पतनपछि पार्टीको केन्द्रीय नेतृत्वमा पुनस्थापित गरियो र उनले देखाएको क्यापिटलिस्ट रोडमा अघि बढेर चीनले उन्नतिको शिखर छुन सफल भयो । आधुनिक चीनका निर्माताका रुपमा उनलाई सम्मान गरिन्छ ।

कम्युनिष्ट पार्टीको एक दलीय शासन व्यवस्थामा त्यस्ता उत्थान र पतन भइरहने संभावना तबसम्म रहन्छ, जबसम्म उसको भौतिक उपस्थिति रहन्छ । कमरेड लिन पियाओलाई पनि एकताका माओका उत्तरधिकारीका रुपमा प्रचार गरिन्थ्यो । पछि माओकै कारण हवाई दुर्घटनामा उनको मृत्यु भयो भन्ने हल्ला फैलियो र उनी अलप भए । त्यसको वास्तविक कारण अहिलेसम्म पनि रहष्यको पर्दाभित्रै छ ।

डा.ली वेनलियाङको पनि भौतिक उपस्थिति कायम रहेको भए उनको पुनस्र्थापना निश्चित देखेर उनीमाथि षड्यन्त्र भएको हुनसक्ने आशंका चीन बाहिर मात्र होइन, भित्र पनि व्यापक रुपमा हुन थालेको छ । त्यही कारण कम्युनिष्ट पार्टीले उनको मृत्युको कारणको छानविन गर्ने सहमति दिन वाध्य हुनुपरेको हो । उनलाई जिवित राखेर छानविन गरिएको भए उनको निष्कर्ष र निदानलाई राज्यले सम्मान गर्नै पर्ने थियो । चीनजस्तो विशाल तथा महान देशका निम्ति त्यस्तो स्थिति ग्राह्य हुँदैन भन्नेहरुबाट त्यस्तो गल्ती भएको हो कि त्यो घटना भवितव्य नै थियो ? त्यसको यथार्थ तब प्रष्ट हुनेछ, जब छानविन आयोगको प्रतिवेदन सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्