Logo
Logo
विचार

नदागियोस् गोली राजेन्द्र, ज्ञानेन्द्र र दुर्गाहरूको छातीमा



लखन थापामगर नेपालका प्रथम शहीद । राणा शासनविरुद्ध विद्रोह गर्दा झुन्ड्याएर हत्या गरियो । किनकि, उनले व्यवस्थाविरुद्ध विद्रोह गरेका थिए । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री पनि मारिए । उनीहरू पनि व्यवस्थाविरुद्धकै संघर्षमा थिए ।

दिलबहादुर रम्तेल जनयुद्धका प्रथम शहीद । निरंकुश राजतन्त्रविरुद्धको संघर्षका क्रममा हत्या गरियो । रमेशकुमार महतो मधेश आन्दोलनका प्रथम शहीद । उनी पनि व्यवस्थाविरुद्धको संघर्षकै क्रममा मारिए ।

व्यवस्थाविरुद्धको संघर्षमा राज्यपक्षबाट मारिने क्रम यत्तिमै रोकिँदैन । गत साल चैतमा लाजेहाङ मारिए । पहिचान आन्दोलनका योद्धा लाजेहाङको हत्या पनि राज्यविरुद्धकै संघर्षका क्रममा भयो । र, यसरी नै लाखौं मारिएका छन् ।

प्रथम शहीद लखन थापा मगर र अहिलेसम्मका अन्तिम शहीद लाजेहाङसम्मलाई हेर्दा व्यवस्था वा राज्यविरुद्धको संघर्षमा उत्रिएकाहरूको छातीमा गोली दागिएको छ । अर्थात, राज्यव्यवस्था जोगाउने क्रममा विद्रोहीहरूलाई पगरी गुथिएको छैन, गोली दागिएको छ । इतिहासले यसै भन्छ ।

नेपालमा मात्र होइन, विश्वमा सयौँ संघर्ष र विद्रोहहरू भएका छन् । सबै, संघर्ष अस्तित्व रक्षा र स्थापित गर्ने सन्दर्भमा भएका छन् । र, हरेक संघर्षका क्रममा राज्य र व्यवस्थाका पक्षधरले विद्रोह अंगालेकाहरूको छातीमा गोली दागेका छन् ।

सत्य के हो भने, राज्य बन्दुककै नालबाट जन्मिन्छ र बन्दुककै नालबाट स्थायित्व कायम गर्न खोज्छ । अर्थात, बन्दुकविहिन राज्य हुँदैन । जुन बन्दुकको गोली कुनै न कुनै कालखण्डमा राज्यविरुद्धको संघर्षमा उत्रनेहरूको छातीमा दागिएकै इतिहास छ ।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था पनि बन्दुककै नालबाट जन्मेको हो । घृणित भाष्य स्थापित गरेर ‘१७ हजारको हत्यारा’ भन्ने गरिन्छ । यो व्यवस्था स्थापित गर्न भएको विद्रोहको नेतृत्व र संवद्धलाई ‘१७ हजारको हत्यारा’ भनेर दुत्कारिन्छ । तर, १७ हजार नै हुन्, वर्तमान व्यवस्थाका जन्मदाता । र, त्यो संघर्षमा होमिएकाहरू नै हुन्, असली हकदार ।

गणतन्त्र स्थापनाको दुई दशक पनि बितेको छैन । कार्यान्वयनको सन्दर्भमा अनेक समस्या र चुनौतीहरू त पक्कै छन् । तर, ति समस्या र चुनौतीभन्दा गणतन्त्रमा नागरिकले पाएको अधिकार अतुल्य धेरै छ । जुन, अधिकार समकालीन विश्वमा अस्तित्वमा रहेका सबै व्यवस्थाहरूभन्दा उत्तम छ । अर्को सत्य के पनि हो भने, यो व्यवस्था पनि सर्वगुण सम्पन्न भने होइन । तर, भएकाहरूमध्ये उत्तम चाहिँ पक्कै हो ।

लाखौँ जनताको संघर्षको बलमा स्थापित गणतन्त्रमाथि धावा बोल्न थालिएको छ । जुन व्यवस्थाको अहिलेसम्म अवगुण नै भेटिएको छैन । नागरिक सर्वाधिकार सम्पन्न हुनु नैै अवगुण मानिन्छ भने बेग्लै कुरा हो ! नत्र, अभ्यासकै क्रममा रहेको गणतन्त्रमाथिको प्रहार युक्तिसङ्गत हुँदैन । राजनीतिक होइन । त्यो मान्य हुँदैन ।

स्थापित भाष्यलाई नै आधार मान्दा पनि वर्तमान व्यवस्थाका लागि १७ हजार नेपालीले बलिदान गरेका छन् । लाखौँले रगत र पसिना बगाएका छन् । व्यवस्था स्थापित गर्न जतिले बलिदान गरे त्योभन्दा सायौँ गुणा धेरैले रक्षाका लागि बलिदान गर्न सक्छन् । किनकि, यो व्यवस्था सामान्य जगमा उभिएको छैन । १७ हजारको बलिदान र हजारौंको संघर्षले आर्यघाट पुर्याएको राजतन्त्र फर्काउने प्रयास ‘प्रेतकल्प’ मात्रै हो ।

ठूलो बलिदान र संघर्षको बलमा स्थापित गणतन्त्र समकालीन विश्वकै अति उदार राज्यव्यवस्था हो । जुन व्यवस्थामा उभिएर रजगज गरिरहेको छ सोही व्यवस्थामाथि प्रश्न र प्रहार गर्ने सर्वाधिकार विरलै पाइन्छ । यस, अर्थमा गणतन्त्रबाट नेपाली नागरिकलाई प्राप्त अधिकार र स्वतन्त्रता सामान्य होइन । यसो भनिरहँदा यसै व्यवस्थालाई टेकेर यसै व्यवस्था नै मास्ने स्वप्न देख्नुको मूल्य असामान्य हुन्छ ।

राजतन्त्र मासेर गणतन्त्र स्थापित गरिएको हो । जुन गणतन्त्रात्मक व्यवस्थाले संसदलाई सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधिको थलो मानेको छ । सोही संसद्मा कमल थापाहरूले घोक्रो सुक्ने गरी राजतन्त्रको पक्षमा बोलेका थिए । छाती चिरिनेगरी गणतन्त्रविरुद्ध नारा लगाएका थिए । आज, कमल थापाहरूकै निरन्तरतामा राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीहरू सार्वभौमसत्ता सम्पन्न नागरिकको प्रतिनिधि रहने संसदमा बोलिरहेका छन् । सडकमा दुर्गा प्रसाइँहरू गणतन्त्रविरुद्ध कुर्लीरहेका छन् । तर, पनि उनीहरू बाँचेका छन् । उनीहरूलाई विरोध र समर्थन गर्ने अधिकार छ । योभन्दा गुणवान व्यवस्था कुन होला ?

वर्तमान नेपाली जनसंख्याको कम्तिमा दुईतिहाइभन्दा धेरैलाई राजतन्त्रको निरंकुशताबारे ज्ञान छ । राजतन्त्र र गणतन्त्रका राम्रा र नराम्रा गुणहरूबारे जानकार छन् । राजतन्त्रको निरंकुशताबाट प्रताडितहरू कुनै पनि कोणबाट राजतन्त्र राम्रो भन्दैनन् । राजतन्त्र थाहा नपाएकाहरू भ्रममा नपरे हुन्छ । जसलाई, त्यो कहालीलाग्दो निरंकुशता नै थाहा छैन । जुन, निरंकुशता फर्केर आए एकपल बाच्ने हैसियत पनि राख्दैनन् ।

विकासक्रम पछि फर्कँदैन । विकासको अतृप्त चाहना अघि बढ्ने हुटहुटी हो । जुन चाहना पछि फर्केर पूरा हुँदैन । किनकी, विकास भनेकै क्रमिक सुधार हुँदै अघि बढ्ने प्रक्रिया हो । यो नियम राज्यव्यवस्थामा सर्लक्कै लागू हुन्छ । प्रस्तुत सत्यको आलोकमा उभिएर हेर्दा गणतन्त्रपछि राजतन्त्रमा फर्कनु विज्ञानसंगत हुन्छ त ? कदापि, हुँदैन । किनकि, राजतन्त्र नराम्रो भएरै राम्रो व्यवस्था गणतन्त्र ल्याइएको हो । अर्थात, राजतन्त्रभन्दा अतुल्य राम्रो छ, गणतन्त्र ।

गणतन्त्र नराम्रो भनेर राजतन्त्र फर्काउन कुर्लिरहेकाहरूले देखाए हुन्छ, गणतन्त्रका अवगुण । गणतन्त्रले प्रत्याभूत गरेका अधिकारलाई दुरुपयोग गरेर ‘गणतन्त्र नराम्रो’ भन्ने भाष्य स्थापित गर्न खोज्नेहरूले हेक्का राखे हुन्छ, स्वतन्त्रता भनेका अराजकता होइन । आफ्नो अराजकतालाई व्यवस्थाको अवगुण देखाउने मूर्खता नगरे हुन्छ । अराजकताको सीमा कटेपछिको अवस्था सामान्य हुँदैन ।

गणतन्त्रको स्वतन्त्रतालाई अराजकतामा बदलेर कुर्लिरहेका दुर्गा प्रसाइँहरूको ‘प्रलाप’को भ्रममा नपरे हुन्छ । जो अपराध लुकाउन अपराध नै गरिरहेका छन् । गणतन्त्रको दानापानी खाएर गणतन्त्रकै बर्खिलापमा बर्बराइरहेका राजेन्द्र, ज्ञानेन्द्र र रविन्द्र मिश्रहरूको प्रलापमा कोही पनि नअलमले हुन्छ । किनकि, जसले गणतन्त्रकै कारण बर्बराउने अवसर पाएका छन् । उनीहरूले नै वकालत गर्दै आएको राजतन्त्र यथावत रहेको भए यतिखेर उनिहरूको छातीमा गोली दागिन्थ्यो । तर, नदागियोस् गोली छातीमा । किनकी, यो गणतन्त्र हो ।

शासन व्यवस्था फेरिएको हो । शासक उनै छन् । गणतन्त्रका शासकहरूमा राजतन्त्रकै धङ्धङी बाँकी छ । त्यसैले गणतन्त्र कार्यान्वयनमा समस्या भएको हो । आजको समस्या यत्ति हो । जुन समस्याको जगमा व्यवस्थामाथि प्रहार हुन लागेको छ । आजको समाधान शासन व्यवस्था परिवर्तन होइन, शासकको मनोविज्ञान परिवर्तन आवश्यक छ । सर्वाधिकार आफूमा राखेका राजालाई समेत सत्ताच्यूत गर्न हैसियत राखेका नेपाली जनतालाई राजतन्त्रकै धङ्धङी बाँचेका शासक फेर्न मुस्किल छैन । खाँचो, चेतनाको मात्र हो ।

गणतन्त्र स्थापना गर्न चाहना र बाध्यता दुबै कोणबाट तयार भएका नेतृत्व आज गैरजिम्मेवार छन् । जो, गणतन्त्रको रक्षा र विकासमा जिम्मेवार देखिएनन् । नेतृत्व जिम्मेवार नहुँदा स्वभाविक व्यवस्थामाथि प्रहार हुन्छ । आजको यार्थथ यो पनि हो । तर, आजको अवस्थाको कारक नेतृत्वमा मात्र हुन् त ? यो प्रश्नको जवाफ सार्वभौमसत्ता सम्पन्न नागरिकले आफैबाट खोज्नुपर्छ । नागरिकले यो प्रश्नको जवाफ आफैबाट पाइसक्दा वर्तमान समस्या र संकटको समाधान हुन्छ ।

गणतन्त्रपछि मात्र चारवटा आवधिक निर्वाचन भइसकेका छन् । हरेक निर्वाचनमा नेपाली नागरिकले आफ्नो अभिमत जाहेर गरेका छन् । पछिल्ला चार निर्वाचनको परिणाम हेर्दा नागरिक पनि वर्तमान अवस्थाका मुख्य कारक देखिन्छन् । सार्वभौमसत्ता सम्पन्न नागरिकको अभिमत अग्रगमन र स्थायित्वको पक्षमा देखिन्न । हरेक निर्वाचनले राजनीतिक अस्थिरतालाई प्रसय दिइरहेको छ । अस्थिर जनमतले अघि बढाउँदैन, पछि मात्र धकेल्छ ।

अन्त्यमा,
राजेन्द्र, ज्ञानेन्द्र, दुर्गाहरू र रविन्द्रहरू भ्रममा नपरे हुन्छ । १७ हजारको बलिदान र हजारौंको संघर्षबाट स्थापित व्यवस्था दुई–चार अराजकहरूको चाहनामा ढल्दैन । कम्तिमा अहिलेकै अवस्थामा ‘गणतन्त्रभन्दा राजतन्त्रै राम्रो’ भन्ने प्रलापहरू बन्द गरे राम्रो । किनकि, गणतन्त्रको रक्षा र विकासका निम्ति बलिदान गर्न हजरौं तयार छन् ।

भ्रममा नपरे हुन्छ– गणतन्त्रले प्रत्याभूत गरेको स्वतन्त्रता गणतन्त्र मास्नका लागि होइन, गणतन्त्रलाई झनै सर्वगुणसम्पन्न बनाउन हो । गणतन्त्रमा पाएको अधिकार सार्वभौम अधिकारसहित नागरिक भएर बाच्नका लागि हो, गणतन्त्रविरुद्ध लड्नका लागि होइन ।

हेक्का हुनुपर्छ, बन्दुकको नालबाट जन्मेको व्यवस्था हो, गणतन्त्र । अन्तिममा यो व्यवस्थाले आफ्नो रक्षा बन्दुकबाटै गर्छ । हरेक व्यवस्थाले आफ्नो रक्षाका लागि बन्दुककै सहारा लिएको इतिहास छ । तर, नदागियोस् गोली राजेन्द्र, ज्ञानेन्द्र, रविन्द्र र दुर्गाहरूको छातीमा । किनकी, यो गणतन्त्र हो ।

लखन थापा मगर, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री, रमेशकुमार महतो, लाजेहाङ र हजारौं योद्धाहरूले जनताका लागि विद्रोह गरेका थिए । त्यसैले उनीहरू महान शहीद भएका हुन् । उनीहरू, सधैं आदर्शपात्र भएर बाँच्ने छन् ।

इतिहास, महान शहीदहरूको मात्रै छैन । गौरव गाथाको मात्रै इतिहास बनेन् । दुनियाँमा यस्ता धेरै इतिहास छन्, जुन इतिहास गौरवका लागि होइन, घृष्णाका इतिहास बने । राजेन्द्र, ज्ञानेन्द्र, रविन्द्र र दुर्गाहरूले पनि घृणाको इतिहास बनाउने गलत त्याग्नु राम्रो ।

प्रतिक्रिया दिनुहोस्