Logo
Logo

समानुपातिक कोटामा श्रीमती र गर्लफ्रेण्डविरुद्ध मुद्दा


3k
Shares

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत राजनीतिक दलहरूले पटक–पटक सत्तामा पुगिसकेका वा पहुँचवालालाई समानुपातिक सांसद बनाएका छन् । दलहरूले समानुपातिकबाट प्रतिनिधि छनोट गर्दा समानुपातिक शब्दकै बदनाम भएको छ ।

प्रतिनिधि सभामा ११० सामानुपातिक सांसद छन् । प्रदेशको त्यसको दोब्बर २२० समानुपातिक सांसद छन् । मिश्रित निर्वाचन प्रणालीका कारण समानुपातिकतर्फबाट सांसद निर्वाचित गर्नैपर्छ । तर, मुख्य नेताले स्वार्थअनुकुल सामानुपातिक सांसद बनाउदा प्रणालीकै विकृत बन्न पुगेको छ । सांसदहरू नै उपहासको पात्र बनेका छन् ।

पहिलो संविधान सभादेखि नै देखिन थालेको विकृति रुप अहिले झन् बढ्दै गएको छ । सांसद पद खसीबोका किनेजस्तो खरिद विक्री हुन थालेको छ । संविधानको मर्ममाथि पूरै प्रहार भएको छ ।

समानुपातिकतर्फको सांसद लिलाम बढाबढमा बेचिन थालेको छ । नेताका पत्नी, प्रेमिकादेखि प्रियजनसम्मलाई माननीय बनाउने बाटो बनेको छ समानुपातिक कोटा । यो जनमतको दुरुपयोग हो । जनप्रतिनिधि मतदाताप्रति उत्तरदायी हुनुपर्छ । तर, समानुपातिकका अधिकांश सांसदलाई जनताले होइन, स्वयं माननीय बनाउने दलका नेताले समेत स्वीकार्न सकेका छैनन् । समानुपातिक सांसद छान्दा चन्दाको स्रोत, परिवारको बिर्ता, नेताको तजबिज, मतदाताको उपेक्षा स्पष्ट देखिन्छ ।

यो विषयमा सर्वोच्च अदालतमा रिटसमेत परेको छ । समानुपातिक सूचीको दुरुपयोग गर्दै कांग्रेसले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा, अर्थमन्त्री प्रकाशशरण महत, पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मन्जु खाण, स्व. नेता नवीन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी, पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, महिला, बालबालिका मन्त्रीसमेत भइसकेकी चन्दा चौधरी, पूर्वकृषि विकास राज्यमन्त्री तथा २०७४ मा राष्ट्रिय सभा सांसद सरिता प्रसाईं सांसद बनेका छन् ।

एमालेले समानुपातिकको दुरुपयोग गर्दै पूर्वमन्त्री भइसकेका रघुजी पन्त, एकनाथ ढकाल, खसआर्य महिलाबाट मेनका पोखरेल, एमाले महासचिव शंकर पोखरेलकी बहिनी सरिता भुसाल, एमाले उपाध्यक्ष रामबहादुर थापा कि श्रीमती तथा पूर्वसञ्चारमन्त्री नैनकला थापालाई सांसद बनाएको छ । त्यस्तै, दुई पटक संविधानसभा सदस्य भइसकेका अमृतलाल राजवंशी, २०७४ मा पनि सांसद भइसकेकी अमृता अग्रहरी, दोस्रो संविधानसभामा समानुपातिक सांसद भइसकेकी प्रतीक्षा तिवारी मुखिया, देवी भट्टचन, हेमराज राई तथा अहमद फारुकलाई समानुपातिक सांसद बनाएको छ ।

वामदेव गौतमकी श्रीमती तुलसा थापा, शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य, कृष्णगोपाल श्रेष्ठकी श्रीमती विना श्रेष्ठ, रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो, अर्बपति व्यापारी विनोद चौधरी, राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, देवी भट्टचनलाई व्यवस्थाकै दुरुपयोग गरेर एमालेले सांसद बनाएको थियो ।

राप्रपाले पनि समानुपातिक कोटा दुरुपयोग गर्दै पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ र रोशन कार्की सांसद बनाएको छ ।

नयाँ पार्टी रास्वपाले पनि समानुपातिक कोटा दुरुपयोग गरी डोलप्रसाद अर्याल, डा. चन्दा कार्की र उपसभामुख इन्दिरा राना मगरलाई सांसद बनाएको छ । रास्वपाका सांसद अर्याल आर्थिक तथा पिछडिएको क्षेत्र र खसआर्य नभई ठूला पर्यटन व्यवसायी हुन् ।

डा. कार्की काठमाडौं मेडिकल कलेजकी पूर्वसीईओ तथा राना मगर एक गैरसरकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । उनीहरूलाई सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला भन्ने आधार छैन । यो सरासर समानुपातिक कोटाको दुरुपयोग हो । यी सांसदको पद खारेज गर्न परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून भए पनि दलहरूले त्यसको विपरित सांसद बनाएकाले त्यो सबै बदर हुनुपर्ने रिटको माग छ । संविधानको धारा ८४ (२) मा यही प्रयोजनका लागि समानुपातिक निर्वाचन प्रणाली राखिएको भए पनि दलहरूले त्यसको उल्लंघन गरेको रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्