Logo
Logo

सुशासन कि कुशासन ?


- दृष्टि न्युज/संवाददाता


‘जनप्रतिनिधिलाई शासनमा पु¥याउनुको अर्थ ‘लुटिङ फेसिलिटी’ दिएको होइन । मैले पहिलेदखि भन्ने गरेको पनि छु– स्वच्छता, पारदर्शिताका सम्बन्धमा अलिकति पनि प्रश्न उठ्नेबित्तिकै म कसैको अनुहार हेरेर काम गर्दिनँ ।’ आफ्ना निकट विश्वासपात्र सञ्चारमन्त्री गोकुल बास्कोटा भ्रष्टाचारमा मुछिएको आरोप लागेको केही घण्टापछि बालुवाटारमा भएको एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गरेका भनाइ हुन्, यी । प्रधानमन्त्रीका कुरा सुन्दा मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले ठूलठूला पहल गरेको भान पर्छ । सुशासन बहाल रहेको प्रतीत हुन्छ । अझ, ‘भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्र होइन, व्यवहारमा देखाउने कुरा हो । यहाँहरूले देख्नुभएकै छ । सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिच्किचाउँदिनँ । अप्ठ्यारा त आउँछन् नि’ भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनी भ्रष्टाचारीमाथि ज्यादै कठोर रहेछन् भन्ने आभास मिल्छ । के यथार्थ यही हो त ? यतिबेला यो प्रश्न मात्र होइन, आशंकायुक्त प्रश्न उनीमाथि उठिरहेका छन् । प्रधानमन्त्री ओलीले दोस्रोपटक सरकार सञ्चालन गर्न थालेको दुई वर्ष पूरा भइसकेको छ । उनी प्रधानमन्त्री मात्र होइन, दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको र आफैँसँग प्रचण्ड बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पनि हुन् । यसरी हेर्दा सरकार मात्र होइन, पार्टीलाई पनि भ्रष्टाचारको चंगुलबाट मुक्त गर्न उनको विशेष भूमिका हुनुपर्ने हो । तर, त्यो भूमिकामा उनी निरन्तर चुक्दै आएका छन् ।

उनी मात्र होइन, पछिल्लो समय नेकपाका अधिकांश नेता निष्ठा र आदर्शबाट च्युत भइरहेका देखिन्छन् । कम्युनिष्ट बन्नु र भन्नु नै आफैँमा उच्च नैतिकता हो । त्यसमा ह्रास आयो भने त्यो नाम मात्रको कम्युनिष्ट हुन्छ । चाहे नेकपामा होस्, चाहे नेकपाले नेतृत्व गरेको सरकारका महत्वपूर्ण ओहदामा आसिन कम्युनिष्ट नेताहरूमा उच्च नैतिकताको ह्रास आइरहेको छ । नैतिकवान, चरित्रवान, इमान्दार नेताको खडेरी परेको छ । के हामीले नेकपालाई नाम मात्रको यस्तै कम्युनिष्ट पार्टी बनाउन खोजेका हौँ ? के यही स्खलनका निम्ति, यो पार्टी निर्माणमा यति ठूलो बलिदान भएको हो ? पक्कै होइन । भलै यतिबेला सिंगो पार्टी भ्रष्टाचारको चंगुलमा परेजस्तो देखिएको छ । नैतिकहीनहरूको हालीमुहाली छ । तर, यो पार्टीको जग कमजोर छैन । हजारौँ, लाखौँ इमान्दार नेता–कार्यकर्ताको रगत पसिना, मेहनत, तिनका निष्ठा र आदर्शबाट यो पार्टीको जग बनेको छ । त्यसैले सानातिना झोक्काले यो पार्टीलाई लडाउन सक्दैन । तथापि, चिन्ता इमान्दारहरूले नै गर्ने हो । इमान्दारहरूले नै बलियो, आदर्शवाद पार्टी निर्माणका निम्ति पहल थाल्ने हो ।

केही महिनाअघि उत्तरको छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा सीले हाम्रा कम्युनिष्ट नेताहरूलाई नैतिकताको महत्व बुझाएका थिए । चीनमा कसरी पार्टीलाई शुद्धीकरण गरिन्छ ? कसरी पार्टीलाई विधि र प्रक्रियामा चलाइन्छ ? चिनियाँ नेताको जीवनपद्धति कस्तो छ ? उनीहरूका प्राथमिकता कस्ता छन् ? कम्युनिष्ट आदर्श र निष्ठाप्रति चिनियाँ नेता कतिसम्म प्रतिबद्ध छन् भन्ने कुरा सुनाएर सीले हाम्रा कम्युनिष्ट नेतालाई बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । राष्ट्रपति सीले सुनाएका कुरा हाम्रा नेताका ओठमा केही दिन त झुन्डिएका थिए । तर, फेरि उनीहरू आफ्नै तालमा लागे । जसका कारण, एकपछि अर्को गर्दै आदर्शबाट विचलित भएका ‘काण्ड’ सार्वजनिक भइरहेका छन् ।

प्रधानमन्त्री काम गर्न छाडेर खाली भाषण गर्दै हिँडेका छन् । सरकार ढाल्नेजस्ता अप्रासंगिक कुरा उठाइरहेका छन् । यति प्रचण्ड बहुमतको सरकार कसले ढाल्न खोजेको हो ? यस्ता असान्दर्भिक चर्चा गरेर कुराको खेती गर्नमै प्रधानमन्त्री रमाइरहेका छन् । अर्का अध्यक्ष प्रचण्ड कम्युनिष्टले आफैँलाई सिध्याइरहेको चिन्ता व्यक्त गर्दै हिँडेका छन् । पुँजीपति वर्ग, सेना र बन्दुकबिनै कम्युनिष्टहरू आआफैँ सकिइरहेको उनको टिप्पणी यसै साता मात्रै आएको थियो । आदर्श च्युत भएपछि र वैचारिक निष्ठा तथा उद्देश्यबाट विचलित भएपछि कम्युनिष्टलाई सिध्याउन पुँजीपति वर्ग नचाहिने रहेछ भन्ने उनको अनुभवबाट हामी निकै अप्ठेरो अवस्थातिर जाँदैछौँ भन्ने बुझ्न सकिन्छ । विगतमा यस्तो प्रवृत्ति तत्कालीन सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशमा देखिएको भन्दै उनले पछिल्लो समय नेपालका कम्युनिष्टमा पनि देखिएको टिप्पणी गरेका छन् । प्रचण्डले कम्युनिष्ट पार्टीहरू क्रान्ति र आन्दोलनमा हुँदा ठूलो त्याग र तपस्या गर्न सक्ने, जनता जहाँ त्यहीँ बस्ने, जे खान्छन्, त्यही खाने, जसरी काम गर्छन् त्यसरी नै काम गरेर जनताको मन जित्ने तर, तिनै कम्युनिष्ट सत्तामा पुगेपछि जनतालाई नटेर्ने र जनभावनालाई सम्मान गर्न चुक्ने गरेका थुप्रै उदाहरण देखिन्छन् । यसमा सुधार नल्याएसम्म सुशासनको सपना कोरा कल्पनामै सीमित हुन पुग्छ ।

प्रतिक्रिया दिनुहोस्