Logo
Logo

‘अंश र वंश परम्परा’सँग नाभि जोडिएको ‘दाइजो परम्परा’



एउटा कालखण्डमा कुनै एक उद्देश्यले प्रारम्भ गरिएका काम समय क्रममा परम्परा बन्छन् । विकास क्रममा यस्तो परम्पराहरू विकृतिका माध्यम पनि बन्दछन् । प्रारम्भ राम्रो सोचेर गरिए पनि प्रचलन गलत भयो भने त्यो विकृति बन्छ । एउटा उदाहरण हो– दाइजो परम्परा ।

धार्मिक तथा सांस्कृतिक रुपमा ‘दाइजो’बारे अनेक मिथक वा भाष्यहरू रहेता पनि यो मूलतः विवाह गरेर जाने चेलीलाई जन्म घर (माइती)बाट दिइने उपहार हो । माइतीघरबाट विवाहपछि चल–अचल वा अन्य प्रकृतिका सम्पत्ति चेलीलाई दिइनु नै दाइजो मानिन्छ ।

नेपालको सन्दर्भमा जन्म घरको सम्पत्तिमा चेलीको हक लाग्ने व्यवस्था भर्खरै बनेको हो । अझै पनि पूर्ण कार्यान्वयन भएको छैन । पुर्खाको सम्पत्तिमा माइती (पुरुष) स्वतः हकदार हुन्थे । तर, चेली (महिला) अंश परम्पराबाट विमुख थिए । वर्षौँ वर्षबाट यो विभेदकारी परम्परा चल्दै आएको छ ।

खासमा भन्दा छोराले अंश (जमिन वा अन्य प्रकृतिको सम्पत्ति) पाउने तर छोरीले नपाउने अवस्थाबाटै दाइजो परम्पराको विकास भएको हो । ‘पराइ घर जाने चेलीलाई केही दिएर पठाऊ’ भन्ने हेतुले यसको प्रारम्भ भएको समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ ।

दाइजो चेलीले हकले पाउने सम्पत्ति होइन । त्यसैले, अंश र दाइजो दाँज्न मिल्दैन । तर, केही नपाउने चेलीलाई दाइजोकै रुपमा केही दिऊ भन्ने हेतुले मात्र चेली यसको हकदार बनेका हुन् । तथापि, त्यो समयमा दाइजोका केही सकारात्मक पक्षहरू पनि थिए ।

विवाह पश्चात् चेलीको नयाँ घरको आर्थिक अवस्थासँग दाइजोको महत्त्व निर्भर हुन्थ्यो । आर्थिक रुपमा कमजोर परिवारमा नयाँ घरजम भएको अवस्थामा माइतीबाट दाइजो बापत प्राप्त थोरै जायजेथाले नयाँ जीवन सुरुवातका लागि केही न केही सहायता त पक्कै मिल्थ्यो । मूलतः चेलीका लागि अमूल्य पनि उपहार हुन्थ्यो । तर, माइतीभन्दा सम्पन्न परिवारमा त्यसको महत्त्व पनि कमै हुन्थ्यो ।

०००

समय सधैँ एकनासको हुँदैन । समाज विकासक्रम सधैँ अघि बढ्छ । र, सधैँ प्रगतिशील धारमै समाजको विकास हुन्छ । हाम्रो समाजले पनि प्रगतिशील धारमै विकासक्रमको लय समातेको हो । सैद्धान्तिक रुपमा यो समाज कम्तीमा विभेद स्विकार्दैन । यस अर्थमा पनि आजको समाज लैङ्गिक विभेदयुक्त दाइजो परम्पराभन्दा धेरै अघि बढिसक्नु पर्ने हो । तर, त्यस्तो हुन सकेन ।

चेतनाको विकास जुन गतिमा दौडे पनि अघिल्ला चेतनाका अवयवहरू सहजै अन्त्य हुँदैनन् । ती चेतनाबाट सिर्जित राम्रा र नराम्रा परम्पराहरू नयाँ चेतना विकास भएको लामो समयसम्म पनि कायम रहन सक्छन् । त्यस्तै अवस्थामा रह्यो– दाइजो परम्परा । जुन परम्परा प्रगतिशील चेतनाको जगमा विकास भएको नयाँ समाजमा पनि कायम छ ।

दाइजो विभेदयुक्त त थियो नै । तर, असल नियतमा परम्पराको रुपमा प्रचलनमा रहँदा दाइजो ठूलो समस्या थिएन । तर, कालान्तरमा दाइजो परम्परा विकृति बन्यो । जुन विकृतिको जगमा दाइजो सिंहको माध्यम बन्यो । दाइजो नारीकै लागि प्रारम्भ भएको थियो, आज नारीकै लागि अभिशाप बनेको छ ।

दाइजो परम्परा कुन जाति, कुन धर्म, कुन वर्ग वा समुदायबाट सुरुवात भयो ? भन्ने प्रश्नको जवाफ भेटिन्न । त्यति मात्र होइन, यो परम्परा कुन भेगबाट सुरु भयो भन्ने पनि भेटिन्न । यत्ति हो, देशका सबै जाति, धर्म, वर्ग, समुदाय र भेगमा कुनै न कुनै रुपमा दाइजो परम्परा छ ।

जसरी दाइजो परम्पराको सीमा भेटिन्न, त्यसरी नै यो परम्पराबाट हुने हिंसाको कुनै सीमा छैन । कुनै न कुनै रुपमा सबै क्षेत्रमा यो परम्पराबाट सिर्जित हिंसाको अवयव भेटिन्छ । तर, जहाँ विकराल रूप लिन्छ, त्यहाँ हिंसाको मात्र वा संख्या स्वाभाविक धेरै छ ।

तराई–मधेस क्षेत्रमा दाइजोलाई ‘दहेज’ भनिन्छ । आज दहेजबाट तराई–मधेस सदैभन्दा आक्रान्त छ । दाइजो आज परम्परा मात्रै रहेन, यो त विकृति र हिंसाको पर्याय बनेको छ । जुन हिंसाबाट मधेसका महिला त पीडित छन् नै मधेसको सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष नै तहसनहस बनेको छ ।

दाइजो परम्परालाई पहिला पहिला चेतनाको अभावबाट सिर्जित समस्या मानिन्थ्यो । तर, मान्छे जति शिक्षित र जान्ने बुझ्ने हुँदै गएका छन्, यो परम्परा पनि उति नै मौलाउँदै गएको छ । दाइजो लिने अपराधी हुने कानुन बनेपछि हिंसा घट्ने अपेक्षा गरियो । तर, झन्झन् बढ्दै गइरहेको छ । शिक्षित र सम्पन्न परिवारमै यो विकृति र हिंसा फैलिरहेको छ ।

दहेजको नाममा केही दशक अघिसम्म साइकल, घडी र रेडियोसम्मले पुग्थ्यो । तर, अहिले शिक्षित छोरीसँग बिहे गर्न घर, गाडीसँगै लाखौँ रुपैयाँको डिमान्ड हुन्छ ।

छोरीलाई शिक्षित र सक्षम बनाउने कर्तव्य त अभिभावकमा छँदै छ । त्योभन्दा बढी बिहेमा कति दाइजो दिने वा माग्ने ? भन्ने चिन्ताले पिरोल्छ । समाजमा इज्जत बचाउनै प¥यो ! त्यसैले घर–घडेरी बिक्री गरेर वा ऋण खोजेरै भए पनि छोरीको विवाह गर्ने चलन बढ्दो छ ।

दाइजोकै  कारण जघन्य अपराधहरू भएका छन् । कतिपय छोरी–चेलीहरूले   आत्महत्या समेत गरेका छन् । दाइजो   कम ल्याएकै   कारण श्रीमान् र परिवारका अन्य सदस्यबाट कुटाइ खाने त कति छन् कति ।

भने जति दाइजो नल्याउँदा कतिलाई जिउँदै जलाइएको छ । कतिलाई घरबाट निकालिदिएका छन् । कतिलाई सौता लगाउने गरेका छन् । कतिको मण्डपबाटै बिहे भाँडिएको छ ।

०००

शिक्षित र सम्पन्न बस्ने भनिएको सहर काठमाडौँमै दाइजोबाट सिर्जित विभेद र हिंसाहरू कायम छ । केही समय अगाडि ग्रिन कार्ड होल्डर सुनसरीका एक पुरुषले ५० लाख दाइजो मागेका थिए । केटी पक्षले २२ लाख दिएको थियो । तर, आफ्नो डिमान्ड नपुगेपछि वैवाहिक समारोहमा हङ्गामा भयो । झगडा साम्मे पार्न प्रहरीले नै चाहियो । दाइजो नपुगेको भन्दै रडाको मच्चाउने बेहुला प्रहरी खोरमा पुगे ।

महोत्तरीको औरही निवासी नेहा चौधरीले रामगोपालपुर घर भएका डाक्टरसँग प्रेम विवाह गरिन् । तर, विवाह भएको केही महिना नपुग्दै समाजमा प्रतिष्ठित मानिने चिकित्सा पेसा अँगालेका श्रीमानबाटै दाइजोको निहुँमा शारीरिक तथा मानसिक हिंसा सहनुप¥यो । यहाँसम्मकी नेहाका माइती पक्षले ५१ लाख रुपैयाँ, २० तोला सुन, टिभी, दराज फर्निचरसहितको सरसामान दिँदा समेत घरबाटै निकालिइन् ।

०००

दाइजो परम्पराको नाममा भएका हिंसा लेखेर सम्भव हुँदैन । दाइजोका कारण यस्ता घटना दिनहुँ भइरहन्छ । कानुनले विवाहमा कुनै पनि किसिमको लेनदेन गर्नु अपराध मानेको छ । मुलुकी अपराध संहिता २०७४ मा ‘आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन’ नहुने उल्लेख छ ।

कसैले दाइजो लिने गरेको पाइए सम्बन्धित व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । तर, त्यो कानुनमै सीमित रह्यो । कार्यान्वयनको पाटो कमजोर हुँदा दाइजो परम्परा हट्न सकेको छैन । यसबाट सिर्जित हिंसा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७-७८ देखि २०७९-८० को असारसम्म देशभर जम्मा ९ वटा मात्र दाइजोसम्बन्धी मुद्दा दर्ता भएका छन् । यसले पीडित न्यायका लागि सम्बन्धित ठाउँमा पुग्न सकेका छैनन् भन्ने प्रस्ट पार्छ । पीडित प्रहरीकहाँ नपुग्नुको मुख्य कारण हो– घर बिग्रिने डर ।

पीडित सम्बन्धित निकायमा पुगिहाले पनि कतिपय घटना राजनीतिक आडमा सामसुम पारिन्छ । कतिपय घटनाको समयमै किनारा लाग्न नसक्दा पीडितले न्याय पाउन सकेको छैन ।

दाइजोबाट सिर्जित विकृतिको न्यूनीकरण र अन्त्यका लागि पहलहरू नभएका पनि होइनन् । सरकारी तथा गैरसरकारी संस्थाहरू लागिपरेका छन् । तर, मानव जातिमा गुमेको मानवीयता र अन्धविश्वास तथा अज्ञानताका कारण यो सम्भव हुन सकिरहेको छैन ।

दाइजो महिलाविरुद्धको आर्थिक शोषणको औजार बनेको छ । तसर्थ दाइजोले कस्ता–कस्ता समस्या एवं विसङ्गतिहरू निम्त्याउँछ र यसको समाधानका लागि के गर्नुपर्छ ? यसमा आमनागरिक सचेत हुनै पर्छ ।

यस्ता कुप्रथा हामीले नै बनाएका हौँ । समाज हामीले जस्तो बनायो त्यस्तै बन्छ । समाजलाई परिवर्तन गरेर नयाँ मोडतिर लाने जिम्मेवार र कर्तव्य पनि हाम्रै हो ।

नानीदेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । तर, असम्भव भने हुँदैन । समाजमा जरो गाडेर बसेको दाइजो परम्परा अन्त्य गर्न गाह्रो भने पक्कै छ । तर, असम्भव छैन । त्यसैले यस्ता कुप्रथा अन्त्यको लागि होस्टेमा हैँसे गर्ने पर्छ । सबैले हातमा हात मिलाउनै पर्छ ।

समाज शिक्षित भएर मात्रै पुग्दैन, चेतनशील पनि हुनुपर्छ । त्यसैले यस्ता कुप्रथा विरुद्धको अभियान सञ्चालन गर्नुपर्छ । दाइजो लिने व्यक्तिलाई बहिष्कारको अभियान चलाउनुपर्छ । यसो गर्न सके दाइजो माग्ने प्रवृत्ति केही हदसम्म निरुत्साहित हुने थियो ।

चेतनाको एउटा विन्दु कायम गरिसकेको नेपाली समाजले आज पनि परम्पराको नाममा लैङ्गिक विभेद कायम राख्न सक्दैन । परम्पराको नाममा हिंसालाई निरन्तरता दिन सक्दैन । ‘पराई घर जाने चेली’ भनेर अंश र वंश परम्पराबाट विमुख गर्दै विभेदलाई निरन्तरता दिन सक्दैन ।

एउटै कुलमा एउटै कोखबाट जन्मने पुरुष अंश र वंश परम्पराको सिधै हकदार हुने र नारी त्यसबाट विमुख हुने परम्परा गलत छ, विभेदयुक्त छ । दाइजो परम्पराको जग यो नै हो । यो जग भत्किनु पर्छ । त्यसपछि दाइजोको नाममा फैलिएको विभेद र हिंसा अन्त्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्