Logo
Logo

रवि लामिछानेमाथि अर्को संकट थपियो


32.7k
Shares

काठमाडौं । चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबहादुर राई (जिबी) बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । लामो समयदेखि फरार भएका उनी विरुद्ध प्रहरी रेड नोटिसको तयारी गरेको छ ।

उनीमाथि बचतकर्ताको ८५ करोड रूपैयाँ हिनामिना गरेको आरोप छ । तर उनीसँगै साझेदारीमा मिडिया व्यवशायीका रुपमा होमिएका रवि लामिछाने आफै त्यसकार्यमा संलग्न छैन भन्दै चितवन बुटवल पैदल यात्रामा निस्केका थिए । उनी बुटबल नपुग्दै आफू संलग्न नभएको भन्ने उनको दाबी भने पूरै खण्डित भएको थियो । राई र लामिछानेसहित मिलेर खोलेको ग्यालेक्सी टिभी अहिले बन्द भैसकेको छ भने राई विदेश भागिसकेका छन् । उनी मलेसिया रहेको स्रोतको दाबी छ ।

चितवनको सहकारीबाट राईसमेत संलग्न अर्को संस्थालाई ४१ करोड रूपैयाँ बिनाधितो ऋण दिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गरेको विवरणमा उल्लेख छ । उनी स्वयंको नाममा समेत एक करोड ७३ लाख चार हजार ६९१ रूपैयाँ बिनाधितो झिकेको देखिन्छ । त्यस्तै राईसमेत संलग्न जिबी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिन्छ ।

यसअघि रवि लामिछाने आबद्ध गोरखा मिडिया नेटवर्कले पनि उक्त सहकारीबाट ११ करोड ९५ लाख ८० हजार रूपैयाँ बिनाधितो ऋण लगेको देखिन्छ । त्यस्तै रिपिङ उड रेड स्टेटले १० करोड २८ हजार रूपैयाँ ऋण लगेको छ ।

प्राप्त विवरण अनुसार गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खाता नम्बर ११६–०००४३६४ २०७७ चैत ३० गते १ करोड कर्जा लिएको देखिन्छ । गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खाता नम्बर ११६–०००४८०१ २०८० असार १३ गते अर्को १ करोड ३० लाख कर्जा लिएको देखिन्छ ।

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडकै अर्को खाता नम्बर १०३९–०००६६७५७ मा अघिल्लो वर्ष अर्थात २०७८ असार ३१ गते अर्को एक करोड लिएको देखिन्छ । सोही मितिमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेस्की फस्र्योट भएको पनि देखिन्छ ।

यी तीनवटै कारोबार कृत्रिम खाता खोलेर गरिएको गैर कानुनी कारोबार हुँदा पनि रवि लामिछानेले आफूलाई थाहा नभएको बताउदै हिडेका छन् । गीतेन्द्रबाबु राईले २०७९ असार २७ गते गोर्खा मिडिया प्राइभेट लिमिटेडलाई ५० लाख एडभान्स दिएको देखिन्छ । उक्त रकम रकमान्तर गरेर गीतेन्द्रको नामको पेस्की फस्र्योट गरिएको छ ।

विभिन्न समयमा पेस्की र ऋणसहित १० करोडभन्दा बढी रकम गोर्खा मिडियाको नाममा जम्मा भएको छ । गोर्खा मिडिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै समय प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोर के टीभीको माउ कम्पनी हो । गीतेन्द्र राई टीभीका अध्यक्ष हुन् भने सूर्य दर्शन सहकारीका पूर्व अध्यक्ष पनि हुन् । त्यहाँ नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल बन्जाडे पनि जोडिएका छन् । नेटवर्किङ व्यवसायलाई प्रश्रय दिने र प्रहरीभित्रै ट्याक रेकर्ड राम्रो नभएका बन्जाडे पनि रविका सारथी हुन् ।

रकम पोखरामा रहेको सूर्य दर्शन सहकारीका करिब १९ हजार बचतकर्ताको पसिनाको कमाइ भएकोमा कुनै दूइ मत नभएपनि रविले त्यसलाई वेवास्ता गर्न थालेका छन् । सहकारीमा १ अर्ब ३५ करोड ५३ लाख निक्षेप जम्मा भएको थियो भने १८ हजार ७ सय जना बचतकर्ता छन् । हालसम्म १ अर्ब ३१ करोड ५३ लाख कर्जा लगानी गरिएको छ । ४ सय ३३ जनाको नाममा यी कर्जा प्रवाह भएका छन् ।

सहकारीले मिडियाको नाममा कर्जा प्रवाह गर्दा सहकारीले धितो राखेको छैन । अधिकांश रकम कृत्रिम सदस्य बनाएर कारोबार गरिएको छ । सहकारीले बचतकर्ता खोजी गर्दा पनि सुनको सिक्कादेखि विभिन्न स्किम राखेर प्रलोभनमा पारेको थियो । सहकारी लगभग डुबेको अवस्थामा छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि दिनहुँ प्रशासनमा धर्ना दिइरहेका छन् । तर, रवि लामिछाने पीडितहरुको पैसा डुबाएर मार्चपासमा लागेका छन् ।

पीडितको समस्या सुनेपछि पोखरा महानगरपालिकाको सहकारी महाशाखाले सहकारी विज्ञ दीपक प्रकाश आचार्य र चार्टर्ड एकाउण्टेण्ट अनिल लामिछानेलाई खटाएर उक्त सहकारीको रिपोर्ट निकालेको हो । उनीहरूले करिब २ महिना लगाएर ४ सय ४० पेजको विस्तृत अध्ययन प्रतिवेदन बुझाएका छन् । सोही प्रतिवेदनका आधारमा कास्की प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा १९ जना दोषी देखिएपछि उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर लामिछानेलाई भने मतियार पनि बनाइएको छैन ।

सहकारीका पूर्व अध्यक्ष जीबी राईसहित संलग्न सबैविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । भदौ २४ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि सबै फरार छन्, कोषाध्यक्ष कुमार रम्तेल बाहेक कोही पक्राउ परेका छैनन । उनी अनुसन्धानपछि कारागार चलान भइसकेका छन् । कास्की प्रहरीले साउन २२ गते मुद्दा दर्ता गरेको हो । १ हजार ३५ जनाले १ अर्ब ११ करोडभन्दा बढी ठगी भएको भनी उजुरी दिएका थिए ।

सूर्यदर्शनमा १ हजारभन्दा तल बचत भएका १० हजार ६ सय ५४ वटा खातामा ३१ लाख ८६ हजार रकम छ । १ हजारदेखि ९ हजार ९ सय ९९ सम्म बचत भएका ४ हजार ८ सय ३३ वटा खाताको कुल रकम १ करोड ५२ लाख रुपैयाँ छ । १० हजारदेखि १ लाखसम्म १ हजार ९ सय ४२ वटा खातामा ६ करोड ६८ लाख रकम छ भने १ लाखदेखि १० लाख ९ सयसम्म जम्मा भएका ७० वटा खातामा २९ करोड ९३ लाख, १० लाखदेखि १ करोडसम्म जम्मा भएका २ सय ८५ वटा खातामा ६६ करोड ७० लाख र १ करोडभन्दा माथि जम्मा भएका १६ वटा खाता छन् ।

यस्तो रकम ३० करोड ३७ लाख जम्मा भएको देखिन्छ । खाता १ वर्षमा बन्द भएको छ । २०७९ साउन १ गतेदेखि २०८० भदौ २१ गतेसम्ममा ६ सय ७१ वटा खाता बन्द भएको प्रतिवेदनमा उल्लेख छ । ती खातामा १० लाखभन्दा माथिको १ अर्ब १ करोड रकम जम्मा गरिएको थियो । यति धेरै खाता बन्द हुनुमा सहकारीको छुट्टै अनुसन्धान आवश्यक पर्ने अध्ययन समितिमा एक सदस्यले बताए ।

संस्थाको कम्प्युटर लेखा प्रणालीमा उल्लेख भए अनुसार क्राइसिस म्यानेजमेण्ट एकाउण्ट नामक खाता खोलेर पूर्व अध्यक्ष राई र सञ्चालक हेमन्त अधिकारीको खाताबाट ७ करोड ८८ लाख रुपैयाँ रकमान्तर भएको छ ।

पूर्वअध्यक्षको खाताबाट २०७९ भदौ १ गतेदेखि २०८० साउन ३ गतेसम्म अस्वाभाविक कारोबारबाट ६ करोड ९६ लाख जम्मा भएको छ भने २०७९ भदौ २३ गतेमात्रै २ करोड २५ लाख कारोबार भएको छ । सञ्चालक हेमन्त अधिकारीको खातामा २०७९ असोज ४ गतेदेखि २०८० साउन ३ गतेसम्म ९१ लाख ६१ हजार जम्मा भएको छ भने यो खाताबाट ५ जना व्यक्तिको नाममा रकम पठाएर कर्जाको हिसाब मिलान भएको देखिन्छ ।

गैर सदस्य कारोबार, कृत्रिम सदस्य कारोबार र अस्वाभाविक कारोबारका आधारमा बचत अपचलन गर्ने नियत प्रस्ट भएको प्रतिवेदनले देखाएको छ ।

यस्तै, जिम्मेवार व्यक्तिको नाममा रहेको कर्जा हिसाब मिलान गर्ने उद्देश्यले संस्थाको अफिस बिल्डिङ भनी बचत खाता खोलेर ८ करोड ५० लाख जम्मा गरिएको छ । उक्त खाताबाट विभिन्न व्यक्तिका नाममा रकम रकमान्तर गरिएको छ । २०७९ असार ३२ गते शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेको नाममा नयाँ कर्जा खाता खोलेर भवन शीर्षकमा ८ करोड ५० लाख जम्मा गरिएको थियो ।

उक्त रकमबाट पुराना पेस्की मिलान गरिएको छ । यसको कुनै पनि तमसुक वा कागजात नभेटिएको अध्ययन समितिले जनाएको छ । यसअघि गरिएको कर्जाको कारोबारमा भने १ करोड २ लाखको तमसुक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्