Logo
Logo

आफैँमाथि छानबिन गर्न सदनमा माग


- दृष्टि न्युज/संवाददाता


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलगायत सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पूर्वप्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् । संसद्मा बोल्दै भट्टराईले देशमा अहिले भ्रष्टाचार क्यान्सरका रूपमा फैलिएकाले प्रधानमन्त्रीबाटै छानबिन गर्न माग गरे । संसद्मा भट्टराईले आफ्नो विगत सम्झँदै भने– ‘मलगायत हामी सबै हिजो साथीहरूले दिएको जडौरी लुगा, चप्पल लगाएर हिँड्थ्यौँ । अहिले कसरी सुटेडबुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिँड्न सक्ने भएका छौँ ? कसरी हाम्रा महल बनेका छन्,’ डा.भट्टराईले भने, ‘सम्माननीय प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो हेर्दा मलाई लाग्यो, मेरो अलि राम्रै छ, गोरखामा । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्री अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौँ ?’

अहिलेको कमाइले काठमाडौंमा घर बनाउन सकिन्न । ‘म अलिकति गणितमा चासो राख्ने मान्छे पनि हुँ, अर्थमन्त्री पनि भई टोपलेको मान्छे हुँ । हामीले लाख प्रयत्न गर्दा पनि तपाईं हाम्रो देखिने दृष्य कमाइले त्यो बुकुरो कमाइबाट यहाँ काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन,’ ‘त्यसैले यसको छानबिन गरौँ, त्यसका निम्ति म सबैसँग आग्रह गर्न चाहन्छु ।’ त्यतिबेला मैले संविधानसभामा प्रवेश गर्दा पनि भनेको थिएँ, भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतको निगरानी गर्ने र तिनीहरूलाई समेत कारबाही गर्न सक्ने हैसियत भएको निकाय गठन गरौँ । त्यसलाई निर्वाचित संसद्प्रति जिम्मेवार हुने जनलोकपालको व्यवस्था गरौँ । ‘म अहिले पनि यस कुरामा दृढ छु । संविधान संशोधन गरौँ र हामी सबैको सम्पत्ति छानबिन गरौँ ।’

भट्टराई पनि दूधले धोएका नेता त होइनन् । तर उनले सार्वभौम संसद्मा अभिव्यक्त गरेका यी भनाइले हाम्रो देशमा सुशासनको अवस्था कस्तो छ भन्ने कुरालाई उजागर गर्दछ । गोकुल बाँस्कोटा टेप प्रकरणमा प्रधानमन्त्री ओलीले बाँस्कोटाको जसरी बचाउ गर्दै आएका छन्, त्यसको जवाफमा भट्टराईले ओलीलाई संसद्मार्फत चुनौती दिएका हुन् ।

यदि प्रधानमन्त्री ओली आफूप्रति इमान्दार छन् भने उनले यो कुरालाई मनन गर्नुपर्छ । जनताले नेकपाको सरकारलाई दुईतिहाइ मत दिएको पनि सुशासनकै लागि हो । त्यो सुशासनको सुरुवात बालुवाटारबाटै गरिनुपर्छ भनेर भट्टराईले ओलीलाई संसद्मार्फत चुनौती दिएका हुन् ।

यदि प्रधानमन्त्री ओली आफूप्रति इमान्दार छन् भने उनले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । भाषणमा सुशासन शब्द उच्चारण गरेर मात्रै सुशासन कायम हुँदैन । सुशासनको सुरुवात बालुवाटारबाटै गरिनुपर्छ । किनभने भ्रष्टाचार भन्ने कुरा शक्तिको दुरुपयोगबाट हुने भएकोले सबैभन्दा पहिला शक्तिशाली व्यक्तिहरुको सम्पत्ति छानबिन गरिनुपर्दछ । अनि मात्र जनताले थाहा पाउनेछन्, यो देशमा इमान्दार नेता को हुन् ? भ्रष्ट को हुन् भनेर ? नभए जनताको नजरमा सबै नेता भ्रष्ट सावित हुनेछन् । किनभने, जतिसुकै राजनीतिक परिवर्तन भए पनि त्यो परिवर्तनले देश र जनताको मुहारमा खुशी ल्याउन नसक्नुको एउटै कारण हो भ्रष्टाचार ।

चीनका राष्ट्रपति सी चिनफिङले नेपाल आउँदा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेकपाका शीर्ष नेताहरुलाई सोल्टी होटलमा सुशासनको पाठ त्यत्तिकै पढाएका होइनन् । उनले भनेका थिए, एउटा क्रान्ति भएर मात्र चीनमा कम्युनिष्ट व्यवस्था टिेकेको होइन । निरन्तर जनतासँगको सम्पर्क विकास र सुशासनका कारण चिनियाँ क्रान्ति सफल भएको हो । भ्रष्टाचारका कारण चीन असफल बन्ला भन्ने चिन्ता चिनफिङमा छ । त्यसैले उनले कम्युनिष्ट पार्टीका २० लाखभन्दा बढी कार्यकर्तामाथि भ्रष्टाचारको आरोपमा छानबिन गरिरहेका छन् । तर, दुर्भाग्य त्यसको उल्टो नेपालमा भ्रष्टाचारीलाई जोगाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्