Logo
Logo

विशाल पण्डितले डुबाए सुशील कोइराला क्यान्सर अस्पताल



काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको बद्मासीका कारण बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको ‘लिन्याक’ मेसिन एक वर्षदेखि अलपत्र परेको छ । खरिदका लागि बेलायतको इलेक्टा लिमिटेडको बोलपत्र स्वीकृत गरेको सो कम्पनी मार्फत नेपाल आएको मेसिन स्वीकृत मापदण्ड भन्दा फरक आएपछि सो मेसिन अस्पताल परिसरमै अलपत्र परेको हो । स्रोतका अनुसार करिब २७ करोडको मेसिन अलपत्र परेको जनाएको छ ।

क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन एक वर्षदेखि थन्क्याएर राखेको छ । स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्ष पुसमै ल्याइएको मेसिन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । ‘यसो हुनुमा स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय र मेसिन नेपाल ल्याउने कम्पनी मेडिसोलुसनको हात रहेको छ’, स्रोतले भन्यो । मेडिसोलुशन मेडिकल व्यवसायी विशाल पण्डितको कम्पनी हो ।

उक्त मेसिन थन्क्याउँदा घाउ सेक्नुपर्ने क्यान्सरका बिरामीलाई अस्पतालले भरतपुर र भक्तपुर रेफर गर्दै आएको छ । क्यान्सरको घाउको बाहिरी सेकाइमा प्रयोग हुने मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा रेफर गरिदै काम चलाउन थालिएको छ । इलेक्टा कम्पनीको लिन्याक मेसिन टेन्डरका बेला आयतकर्ताले बुझाएको एसएस कोडअनुसार उपलब्ध नगरेपछि जडान नभएको हो ।

सो मेसिन खरिदबापतको कुल २७ करोडमध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ । थप भुक्तानी रोकिएको छ । सम्झौता भएपछि १० प्रतिशत, भन्सारमा आएपछि ५० प्रतिशत, अस्पतालमा पुगेपछि २० प्रतिशत र मेसिन सञ्चालनमा आएपछि २० प्रतिशत रकम दिने सम्झौतामा उल्लेख थियो ।

सन् २०२१ अगस्ट २४ मा खरिद सम्झौता भएकोमा बोलपत्र प्रस्ताव गरे वा सम्झौतामा उल्लेख भए भन्दा फरक हुने गरी (टेक्निकल स्पेशिफिकेशन, प्राइज सेड्युल, परफर्मा इन्भ्वाईस तथा प्रज्ञापन पत्र) आपूर्ति गरिने उपकरणको उत्पादक देश, ‘एचएस कोड’ लगायतको विवरण फरक परेको विषयमा स्थलगत अवलोकन समितिबाट २०८० असार ७ र ८ गते सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गई लिन्याक मेसिन खरिद प्रक्रियासँग सम्बन्धित कर्मचारी–प्राविधिक र अस्पताल प्रमुख (निमित्त कार्यकारी निर्देशक) सहित भएको छलफल तथा लिन्याक मेसिन जडान भइरहेको अवस्थाको अवलोकन गरेको गर्दा मेसिन जडान हुन नसकेको हो ।

सो अस्पताल मार्फत प्राप्त लिन्याक मेसिन खरिदसम्बन्धी कागजातहरूको प्रतिलिपिसमेत अध्ययन गर्दा लिन्याक खरिदसम्बन्धी बोलपत्रबारे समितिले व्याख्या गरेको थियो । बोलपत्रदाता इलेक्टा लिमिटेडले बोलपत्रसाथ पेस गरेको प्राइज सेड्युलमा ‘कन्ट्री अफ ओरिजिन यूके–यूएसए–चाइना’ उल्लेख भएको अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

‘टेक्निकल स्पेशिफिकेशन फर सप्लाई, टेस्टिङ एन्ड कमिशियोनिङ अफ एडभान्स डिजिटल प्लेटफर्म ट्रिपल हाई इनर्जी लिनियर एक्सेलेरेटर–१ सेट कागजातमा कन्ट्री अफ ओरिजिनः युनाइटेड किङडम उल्लेख भएको र अमेरिकी डलर २१ लाख ३१ हजार पाँच सय रकम बराबरको खरिद सम्झौता भएको देखिएको’ प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी बोलपत्रदाता इलेक्टा लिमिटेडले पेस गरेको बोलपत्र स्वीकृत भएपछि सन् २०२१ मा अस्पताल र इलेक्टा बिच ‘लिनियर एक्सेलेरेटर सिस्टम मोडेल ः एलेक्टा भेर्सा एचडी खरिद गर्ने सम्झौता भएको देखिएको अध्ययनले देखाएको थियो ।

भन्सार प्रज्ञापनपत्र र खरिद सम्झौताका अन्य प्रक्रियागत कागजातमा उल्लेख भएबमोजिम लिनियर एक्सेलेरेटर (लिन्याक)को ‘कन्ट्री अफ ओरिजिन एण्ड हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) फरक–फरक उल्लेख भएको देखिएको थियो । यस विषयमा अख्तियारले छानबिन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्