काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमा राजीनामा दिने प्रहरीको सङ्ख्या बढ्दो छ । विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्दा मात्रै झन्डै ७ हजार प्रहरी कर्मचारीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
नेपाल प्रहरीमा प्रवेश गर्दा जवानदेखि असई र प्रहरी निरीक्षकले १६ महिना कष्टपूर्ण तालिम गर्नुपर्छ । नाम निकालेर तालिमसम्म पुग्नुपर्ने संघर्ष कम छैन । तर, तालिम सकिसकेपछि भने उनीहरु जागिरमा बसिरहन आवश्यक मान्दैनन् ।
तल्लो दर्जामा रहनेहरुले प्रहरीको जागिरले परिवार धान्न मुस्किल भएपछि बैकल्पिक पेशा रोज्दा प्रहरीको जागिर छोड्ने गरेको पाइन्छ । यतिमात्र होइन प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारणले जुनियर प्रहरीहरुले राजीनामा दिने गरेकाे पाइन्छ ।
उच्च अधिकृतहरु भने प्रहरी संगठन राजनीतिको सिकार बन्दै जाँदा प्रहरी सेवाबाटै पाखा लाग्न बाध्य भएका छन् । अहिले चालु आर्थिक वर्ष लागेपछि पनि राजीनामाको क्रम रोकिएको छैन ।
हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले अचानक राजीनामा दिएका थिए । धेरै कोणबाट उनको राजीनामाको पछाडिको कारणबारे चर्चा भइरहेका छन् । यद्यपी उनको राजीनामा अस्वीकृत भएको छ ।
यसअघि पनि पदावधि छँदै प्रहरी उच्च अधिकारीहरूले राजीनामा नदिएका भने होइनन् । गत वैशाखमा मात्रै एसपी आभूषण तिम्सिनाले प्रहरी सेवा छाडेका थिए । बढुवामा छुटेकाले उनले तीव्र असन्तुष्टि जनाएका थिए । योग्यताको आधारमा भन्दा पनि राजनीतिक शक्ति केन्द्र धाएर बढुवा हुने गरेको भन्दै उनको विरोध थियो ।
बढुवामा असन्तुष्टि देखाउँदै राजीनामा दिने उनी पहिलो प्रहरी अधिकारी भने होइनन् । २०७५ माघमा १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस भएपछि असन्तुष्ट जनाउँदै नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए । आफूभन्दा जुनियरलाई बढुवा गरिएपछि नैतिकताको कारण भन्दै उनले सङ्गठन छाडे ।
प्रहरीका प्राविधिक तर्फका डिआइजी डा. राजीव सुब्बा पनि २०७६ फागुनमा सेवाबाट यसैगरी बाहिरिए । उनीहरू मात्र होइन प्रहरी महानिरीक्षकको नियुक्तिमा राजनीति भएको भन्दै धेरै प्रतिस्पर्धीले राजीनामा दिएका घटना छन् ।
एआइजी विश्वराज पोखरेल तथा डिआइजीहरू नवराज सिलवाल र रमेश खरेलले पनि महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए । त्यसअघि एसएसपी घनानन्द भट्ट र सुबोध घिमिरेले पनि संगठनमा अन्याय भएको भन्दै जागिर छाडेका थिए ।
एसपी गोरखसिंह भण्डारी, सानुकाजी लामिछानेले पनि सङ्गठनको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामाको बाटो रोजेका थिए । यी त नेपाल प्रहरीका अब्बल, निष्ठावान् र संगठनको कमान्ड सम्हाल्ने हैसियत भएका उच्च अधिकृतले भोग्नुपरेका प्रतिनिधि घटना मात्रै हुन् ।
पछिल्लो समय नेपाल प्रहरी छाड्ने कर्मचारीको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ६३२ जनाले राजीनामा बुझाएका थिए । २०७८–७९ मा ४९८ जना प्रहरीले राजीनामा दिएर घर गए । त्यसमा सबैभन्दा धेरै प्रहरी जवान थिए ।
आर्थिक वर्ष २०७४–७५ मा २ हजार ५६४ जना प्रहरीले जागिरबाट राजीनामा दिएका थिए । सबैभन्दा धेरै प्रहरी हवलदार थिए भने तीनजना प्रहरी नायव महानिरीक्षक, दुईजना प्रहरी नायव उपरीक्षक, ८ जना प्रहरी निरीक्षकले पदावधि रहँदै जागिर छाडेका थिए ।
आर्थिक वर्ष २०७६–७७ मा जागिर छोड्ने प्रहरीको सङ्ख्यामा केही कमी भयो । २ हजार ७७ जना प्रहरीले जागिर छोडे । आर्थिक वर्ष २०७७–७८ मा भने राजीनामा दिने प्रहरीको सङ्ख्या घट्यो । ७०३ जना प्रहरीले राजीनामा दिएका छन् । जसमा दुई जना प्रहरी नायव उपरीक्षक पनि थिए ।
प्रहरीमा जागिर छाड्नु कति स्वाभाविक ?
प्रहरी प्रवक्ता भीम ढकाल भने प्रहरीमा जागिर छाडनु र भर्ना हुनु नौलो विषय नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘ठुलो संगठनमा छाड्नु र आउनु स्वाभाविक हो । केही असन्तुष्टि होला । तर, यसलाई विकराल अवस्था भनेर भन्न मिल्दैन ।’
कतिपयले भने यसलाई समीक्षा गर्नुपर्ने सुझाव दिन्छन् । जागिर छाड्ने प्रहरी कर्मचारी बढ्दा सङ्गठन र राज्यलाई नै घाटा पु¥याउने पूर्व प्रहरीहरूको तर्क छ । सरुवा बढुवामा पछिल्लो समय राजनीतिक हस्तक्षेपले राजीनामा आइरहेको धेरैको आकलन छ ।