Logo
Logo

आँसुले धानेको देश 


441
Shares


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सधैँ स्तब्ध ‘मुड’मा हुन्छ । काँधमा खादा वा माला लगाएका युवा । बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन । बग्दै गरेका आँसुका धाराहरू ।

हाँसोले बिदाइ गर्ने बाचा गरेर विमानस्थल पुग्नेहरू बिछोडको पीडा सम्हाल्न सक्दैनन् । विदेश जानेको ताँतीले बस्नेको मन थामिँदैन । एकाएक भक्कानिन्छन् । तर, जानै छ, समस्याले भरिएको थोत्रो झोला बोकेर । चुँडिएका चप्पल लगाएर । तगारो बनेका अबोध सन्तानलाई हटाएर । सात जुनी साथ दिने वाँचा गरेको जिवनसाथीलाई छाडेर । विमानस्थलका कारुणिक दृश्यहरू मुटु नै छियाछिया पार्ने ।

खै, देशमा कोनै बस्लान् र ? सबै विदेशिन आतुर छन् । यहाँ बस्ने वातावरण छैन ! ठूलो प्लेन रोज्नैपर्ने बाध्यता । यहाँ त ज्योतिषले आफ्नो भविष्य देख्दैनन् । भविष्यको कर्णधारको भविष्य छैन ! किसान हलगोरु बेचेर हिँड्छन् । शिक्षक–प्राध्यापक जीवनको पाठ पढ्न जान्छन् ।

युवा, ब्रेन र मसल बेच्न जान्छन् । जीवनमा खेलबाड हुन थालेपछि खेलाडी हानिन्छन् । पत्रकार समाचार बनिन पुग्छन् । यही बस्ने डाक्टर बिरामी बन्छन् ! वकिल विदेश जानुपर्छ भन्ने पक्षमा वकालत गर्छन् !

युवा पलायन मत्थर हुने छाँटकाँट छैन । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, विदेश जानलाई उठ’ भन्न थालिसके । यस्तो लाग्छ– सिङ्गो देश नै विदेश यात्रामा छ । यसरी नै विदेशिरहने हो भने नेपाल अनाथालय र वृद्धा आश्रम बन्ने छ !

प्रत्येक दिन उज्यालो नहुँदैदेखि मध्यरातसम्म आकाशमा हवाई उडानहरू चलिरहन्छन् । मानिसहरू आइरहेका छन् । गइरहेका छन् । उमेर बेच्न विदेशिरहन्छन् । सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिँड्न तम्तयार छन् । कोही फर्कने गरी देश छाड्छन् । कोही कहिल्यै नफर्कने गरी । सन् २०२३ मा मात्रै ७३ हजार बढी नेपाली सधैँको लागि बाहिरिएका छन् ।

विदेशिनुको कारण अनेक होलान् । तर, मुख्य कारण हो– रोजगारी । एकताका निकै लोकप्रिय नारा थियो– ‘एक घर, एक रोजगार ।’ यो नारा दलहरूले घोषणामा राखे । सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि राखियो । सपना अनेक बाँडियो । जनता मक्खै ! भोट हाले । जित्ने मन्त्री, प्रधानमन्त्री, माननीय भए । तर, आफ्नो वाचा बिर्सिए ।

अहिले ‘एक घर एक वैदेशिक रोजगार’ भएको छ । वैदेशिक रोजगारमा नगएको घर पाउन मुस्किल छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा ७५ लाख ५२ हजार ६६ घर छ । तर, विदेशमा ८० लाख बढी नेपाली भएको दाबी गरिन्छ । तीमध्ये अधिकांश वैदेशिक रोजगारमा गएका छन् ।

विदेशिनेको जमात ठूलो छ । विदेशै जानुपर्ने उहिल्यैदेखिको लाहुरे प्रवृत्तिले कहिल्यै छाडेन । यहाँको उत्तम विकल्प बनेको छ, विदेश पलायन । विदेश पलायन बाध्यता हो । अहिले आफ्ना सन्तान विदेश छन्भन्दा गर्व गरिन्छ ।

बिदेशिने संख्या जसरी बढ्दै छ । त्यससँगै दुःख र वेदनाका कथाहरू पनि त्यसरी नै थपिँदै छ । चालु आर्थिक वर्षको ६ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये ६५६ नेपाली श्रमिकको मृत्यु भएको छ । ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए ।

तीमध्ये अधिकांशको मृत्युको कारण कार्यस्थलमा दुर्घटना भएको देखिन्छ । कतिपय भने सुतेकै ठाउँबाट कहिल्यै नउठ्ने भएका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका पाइन्छ ।

आकाशदेखि जानेहरू बाकसमा फर्किरहेका छन् । तथ्यांकअनुसार औसतमा दैनिक पाँचवटा शव बन्द बाकसमा नेपाल आउने गरेको छ । यसले वैदेशिक रोजगारीको दर्दनाक अवस्थाको चित्रण गरिरहेको छ ।

भनिन्छ– देश रेमिट्यान्सले धानेको छ । यसमा दुई मत छैन ! यो ६ महिनाको अवधिमा सात खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । तर, यो पैसा नेपाल भ्रमणमा मात्रै आएको देखिन्छ । भित्रिएको रेमिट्यान्स भन्दा बढी पैसा बाहिरिन्छ । यही ६ महिनाको अवधिमा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने ७४ अर्ब ९६ करोड मात्रै भएको छ ।

देश रेमिट्यान्सले मात्रै होइन, आयातित बस्तुले पनि धानेको छ । हामी आफूले खाने खाद्यान्नसमेत उत्पादन गर्ने सकेको छैनौँ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा २२ अर्ब २२ करोडको खाद्यान्न आयात भएको छ ।

झट्ट हेर्दा रेमिट्यान्सले आर्थिक टेवा पुगेको देखिए तापनि वैदेशिक रोजगारले निम्त्याउने समस्या निकै चोटिला छन् । अर्को महत्त्वपूर्ण कुरा, युवा पलायनको तीव्रता मत्थर हुने छाँटकाँट छैन । गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् । विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दो छ । यस्तो लाग्छ– सिङ्गो देश नै विदेश यात्रामा छ ।

वैदेशिक रोजगारीले नेपाली समाजमा आर्थिक गर्जो टर्ने गरेको कुरा सत्य हो । विदेशबाट पठाएको पैसाले धेरै नेपालीको चुलो चलेको छ । महँगो स्वास्थ्य उपचारमा सहयोग पुगेको छ । छोराछोरीले निजी अङ्ग्रेजी स्कुलमा पढेका छन् । सहर बजारतिर घर घडेरी जोडेका छन् ।

यसरी आर्थिक पाटोबाट हेर्दा चित्त बुझाउने ठाउँ छ । तर, यसले निम्त्याएका पारिवारिक, सामाजिक, राजनीतिक एवं राष्ट्रिय विकास निर्माणका चुनौती विकराल छन् । वैदेशिक रोजगारबाट कमाएको ठूलो हिस्सा घरखर्चमा नै सकिन्छ ।

एक जनाले विदेशमा कमाउने र परिवारका अन्य सदस्य त्यही पैसाले नेपालमा रमाउने गरेका छन् । विदेशबाट पठाएको पैसा हिनामिना गरी अरूसँग विवाह गरेका घटना पनि व्याप्त छन् । यसले पारिवारिक विघटन, सम्बन्ध विच्छेदलगायतका घटना बढेको बढ्यै छ ।
राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले भोलिका दिनमा पनि युवा बिदेशिनुपर्ने निश्चित छ । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, विदेश जानलाई उठ’ भन्ने दिन आइसक्यो ।

विदेशिनुका अनेक कारण होलान् तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुमा हाम्रो सामाजिक संरचनाले पनि भूमिका खेल्छ । भड्किलो जीवन शैली, महँगो शिक्षा, महँगा मोबाइल बोक्ने संस्कृतिजस्ता कारणले वैदेशिक रोजगारीमा युवाको आकर्षण बढेको छ । आफन्त, परिवार, छिमेकीले पार्ने मानसिक दबाबका कारण पनि युवा विदेशिन बाध्य छन् ।

विदेश जानुलाई सामाजिक तथा आर्थिक हैसियतसँग जोडेर हेर्न थालिएको छ । त्यसैका आधारमा समाजले हाम्रो स्तर निर्धारण गर्ने गलत प्रवृत्ति बढेको छ । यस्ता वातावरणले समाजलाई यसरी गाँजेको छ । यसरी नै विदेशिरहने हो भने नेपाल अनाथालय र वृद्धा आश्रम बन्ने छ !

कुनै पनि देश विकास हुनका लागि त्यस देशका युवाशक्तिको भूमिका ठूलो हुन्छ । जुन देशले युवाको जोस, जाँगर, ज्ञान, सीप र तागतलाई विकासमा लगाउन सक्दैन, त्यो देशको विकास सम्भव हुँदैन । त्यसैले राज्यले देशका युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारमूलक तालिम एवं आयआर्जनका अवसरको सिर्जना गर्न ढिला नगरिओस् ।

प्रतिक्रिया दिनुहोस्