Logo
Logo

आइजीको सट्टा गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्रीले आइजीपी, एआइजी र डिआइजी सरुवा–बढुवा भएपछि आफ्नो कार्यकक्षमा बोलाएर शुभकामना दिने र आवश्यक निर्देशन दिने पुरानो परम्परा छ । एसएसपीको सरुवा गृहमन्त्रालयबाट हुने भए पनि गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयबाटै आफ्नो निर्देशन प्रवाह गराउने आवश्यक परे मात्रै गृहमन्त्रीले बोलाउने र शुभकामना दिने चलन छ ।

प्रहरी नियमावली, २०७१ ले प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिएको छ । अन्य तहको सरुवा सरकारको तहगत प्रणालीमा छ । समग्र प्रहरी कर्मचारी आइजीपीप्रति र आइजीपी गृहमन्त्री र सरकारप्रति उत्तरदायी रहने गरेको पाइन्छ ।

प्रहरी नियमावलीको धारा ४८ को सरुवा गर्ने अधिकारीको व्यवस्थाको (ग) मा लेखिएको छ, ‘प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरीक्षकसम्म प्रहरी नायव महानिरिक्षकले गर्ने ।’

नियमावली मान्ने हो भने एसपी सरुवाको अधिकार अहिले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई छ । आईजीपी कुँवरले कार्य सम्पादन र आवश्यकताको आधारमा एसपीहरूको सरुवा गर्न सक्छन् । सोहीअनुसार गत बुधबार राती प्रहरी प्रधान कार्यालयले एकैपटक ७८ जना एसपी सरुवाको सूची सार्वजनिक गर्यो ।

७८ जनाको सरुवा गर्दा एकैपटक २५ जिल्लाका प्रहरी प्रमुखको सरुवा भयो । उक्त सरुवा आईजीपी कुँवरले प्रहरी नियमावलीको धारा ४८ अनुसार कार्य सम्पादन र आवश्यकताको आधारमा गरेका हुन् भन्ने प्रहरी कर्मचारीले बुझनुपर्ने हुन्छ । तर, यहाँ त सिपाहीदेखि एआइजीसम्मको सरुवा र बढुवामा प्रधानमन्त्री र गृहमन्त्री र गृहमन्त्रीको सचिवालयको रुची र दबाब रहेको घाम जत्तिकै छर्लङ्ग हुन थालेको छ ।

गत हप्ता गरिएको एसपी सरुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएका एसपीलाई मन्त्रालयमा बोलाएर आवश्यक निर्देशन दिए । जबकि, त्यही प्रकारको निर्देशन आइजीपीले प्रहरी प्रधानकार्यालयमा दिने गरिन्थ्यो । गृहमन्त्री श्रेष्ठले नै सरुवा गरेको जसरी प्रहरी महानिरीक्षकको अधिकारमा समेत अघोषित रुपमा कैची लगाए । त्यसमा हालका आइजीपी वसन्त कुँवर निरीह बनाइयो ।

यसरी सरुवा हुनेमा पर्सा जिल्लाको नेतृत्व एसपी कुमोद ढुंगेललाई दिइएको छ । यस्तै सर्लाहीमा दयानिधि ज्ञवाली, रुपन्देहीमा रजिंत सिंह राठौर, झापामा मिलन केसी, महोत्तरीमा श्यामकुमार राई, चितवनमा भावेष रिमाल, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवासचन्द्र बोहराको सरुवा भएको छ ।

त्यस्तै तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, धादिङमा गौतम कुमार केसी, मोरङमा नवराज कार्की, कञ्चनपुरमा चक्रराज जोशी, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठकको सरुवा भएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का, सिन्धुलीमा विनोद शर्मा, धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, धनुषामा मित्रवन्धु शर्मा, गुल्मी राजन भुजेल, सुर्खेतमा रुपेश खड्का र स्याङ्जामा शालिग्राम शर्माको सरुवा भएको छ । समग्रमा हेर्दा यो सरुवा प्रहरी प्रधान कार्यालयले तयार पारेको मापदण्डअनुसार छ । मापदण्डमा ‘ख’ मा बसेका अधिकृतलाई ‘क’ र ‘ख’ मा बसेका अधिकृतलाई ‘क’ जिल्लाको नेतृत्व दिइएको छ । यस्तै पहिलोपटक जिल्ला इन्चार्जको जिम्मेवारी पाएका केही अधिकृतले ‘क’ सँगै ‘ख’ जिल्लाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्