खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् ।
विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले निःशुल्क औजारसमेत उपलब्ध गराएका छन् । दातृ निकायले उपलब्ध गराएको घरेलु तथा आधुनिक औजार प्रयोग गरेर उनीहरूले धागोबाट निर्माण गरिने ढाकाटोपी, रुमाल, सल र पर्स, बाँसका चोयाबाट निर्माण गरिने नाङ्लो, डालो, फिपी तथा बाँसकै भाटाबाट निर्माण गरिने मुडा, कुर्सी, टेबललगायतका घरायसी सामग्री उत्पादन गर्छन् ।
कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्यले बताए । ‘जिल्ला कारागारमा एक सय ५६ जना कैदीबन्दी छन् । उनीहरू सबैजना केही न केही व्यावसायिक काममा आबद्ध छन् ।
धागोका काम गर्ने ४५ देखि ५० कैदीबन्दी छन् । उनीहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री भएको छैन भन्ने छ’, उनले भने, ‘बजारमा सस्तो मूल्यको रेडिमेड (तयार गरिएको) ढाकाटोपी पाउँछ । कारागारका कैदीबन्दीले उत्पादन गरेजस्तो गुणस्तरीय पनि छैन । तर मान्छेले सोही सस्तो मूल्यको ढाकाटोपी खरिद गर्दा कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएको हो भन्ने हाम्रो ठम्याइ छ ।’
आफूहरूले उत्पादन गरेका ढाकाटोपी प्रतिगोटा फरक–फरक गुणस्तरको फरक–फरक मूल्य रु तीन सय, छ सय र आठ सयमा बिक्री गर्ने गरिएको कैदीबन्दीले बताएका छन् । जबकि, कारागारका कैदीबन्दीले उत्पादन गरेका सोही ढाकाटोपी दिक्तेल बजारमा सञ्चालित टेलर्स सञ्चालकले रु एक हजार पाँच सयसम्ममा बिक्री गर्दै आएका छन् ।
कारागारमा रहेका कैदीबन्दीमध्ये ४३ जनाले ढाकाटोपी, सल र पर्स पाँच–पाँच जना तथा रुमाल तीन जनाले बुन्ने गरेको जनाइएको छ । उनीहरूले उत्पादन गरेका ढाकाटोपी दिक्तेल बजारका विभिन्न पसल, त्रिधार्मिकस्थल हलेसी, ऐसेलुखर्क लगायतका हाटबजारमा व्यापारीहरूले बिक्रीका लागि लैजाने गरेका छन् । यद्यपि त्योभन्दा सस्तो मूल्यमा बाहिरबाट आउने कम गुणस्तरको रेडिमेड टोपीका कारण कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपीले बजार नपाएको जनाइएको छ ।
कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्रीका लागि आफूहरूले समेत बजार तथा ग्राहक खोजी गरिदिने गरेको जेलर आचार्यले बताए । कारागार अनुगमन तथा भेटघाटका लागि आउनेलाई चिनोका रूपमा कैदीबन्दीले नै उत्पादन गरेका ढाकाटोपी खरिद गरेर दिने गरिएको जेलर आचार्यको भनाइ छ ।
आफूहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएपछि करिब तीन हजार थान गोदाममा थन्कयाएर राखिएको चौकीदार कर्णबहादुर बस्नेतले बताए । ‘अधिकांश कैदीबन्दी सिर्जनशील तथा व्यावसायिक काममा आबद्ध छौँ । तर हामीले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा समस्या भएको छ ।
रिबन्दले हामी जेलजीवन बिताउन बाध्य छौँ । हाम्रा पनि घरपरिवार छन् । उनीहरूको गर्जो टार्नकै लागि भए पनि व्यावसायिक काम गर्छौँ । तर बिक्री नहुँदा समस्या भएको छ’, उनले भने, ‘हामीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न सबैको सहयोग आवश्यक छ । यसमा स्थानीय तथा सङ्घीय सरकारले समेत ध्यान दिन जरुरी छ ।’
कारागारमा रहेका कैदीबन्दीमध्ये बाँसका सामग्री निर्माण गर्ने कैदीबन्दीले भने राम्रो आम्दानी गर्ने गरेको जेलर आचार्यले बताए । ‘कैदीबन्दीले उत्पादन गरेका बाँसका सामग्री जिल्लाभित्र तथा बाहिरसमेत निर्यात हुने गरेको छ । उनीहरूले उत्पादन गरेका बाँसका सामग्रीमध्ये पनि सबैभन्दा बढी मुडा बिक्री हुने गरेको पाइएको छ’, उनले भने, ‘मुडा उत्पादन गर्ने कैदीबन्दीलाई भ्यानभ्याई भएको देखिन्छ ।
उनीहरूले पकेट खर्च गरेर पनि मासिक रु सात–आठ हजार बचत गर्ने गरेको पाइएको छ ।’ बाँसको सिन्का (भाटा खिपेर निर्माण गरिने सानो आकारको डण्डी) बाट निर्माण गरिने १७ इन्चको मुडा रु छ सय, १८ इन्चको रु सात सय र २४ इन्चको रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । कारागारमा बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री बनाउने कैदीबन्दी ३५ जना रहेका छन् । कैदैबन्दीमध्ये कतिपयले काठका फर्निचरसमेत निर्माण गर्ने गरेका छन् ।
उनीहरूले बाहिरबाट खरिद गरेर ल्याइएका काठबाट टेबल, कुर्सी, दराजलगायतका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेको कारागारले जनाएको छ । महिला ३३ र पुरुष ६६ जनागरी ९९ जना कैदीबन्दीका लागि निर्माण गरिएको कारागारमा अहिले महिला छ जना तथा पुरुष एक सय ५० जना रहेका छन् । दिक्तेलस्थित थामखोरेमा रहेको जिल्ला कारागारको भवन तथा पर्खाल जीर्ण छ ।