काठमाडौं । स्विट्जरल्यान्डमा भएको ‘जेनेभा मोटर शो–२०२४’मा चिनियाँ कम्पनी बीवाइडी ब्रान्डका दुई मोडलका गाडी ‘टप–थ्री’मा परेका छन् । ‘वर्ल्ड कार अवार्ड–२०२४’का लागि शीर्ष अन्तिम तीन प्रतियोगीको घोषणा गर्दा बिवाइडी सिलले ‘वल्र्ड कार अफ दी इयर’ र बिवाइडी डल्फिनले ‘वर्ल्ड अर्बन कार’ श्रेणीमा ‘टप-थ्री’मा स्थान हासिल गर्न सफल भएको हो ।
वर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एकमात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको कम्पनीले जनाएको छ । विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्वपूर्ण पुरस्कारका रूपमा चिनिएका ‘वर्ल्ड कार अवार्ड’, ‘युरोपियन कार अफ दी इयर’ र ‘नर्थ अमेरिकन कार अफ दी इयर’ अत्यधिक रूपमा प्रशंसित रहेको जनाइएको छ ।

‘विश्वमा अटोमोटिभ ओस्कर’का नाममा प्रसिद्ध भएको ‘वर्ल्ड कार अवार्ड’ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतीक्षित कार्यक्रमका रूपमा चर्चा गरिने कम्पनीले जनाएको छ । बिवाइडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पु¥याएको कम्पनीले जिकिर गरेको छ ।
यी दुई मोडलले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताका कारण २९ देशका एक सय अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञको ध्यान आकर्षित गरेको कम्पनीको भनाइ छ ।
सन् २०२३ मा यी दुई मोडलका गाडीले युरो एनक्याप र एएनक्याप परीक्षणमा पनि पाँच ताराको रेटिङ प्राप्त गरेको छ ।
विद्युतीय सवारीसाधन क्षेत्रमा बिवाइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा प्रवेश गरेको कम्पनीको भनाइ छ ।
अहिलेसम्म यो गाडी ६ महादेशका ७० देशका चार सयभन्दा बढी सहरमा प्रभावकारी उपस्थिति रहेको जनाइएको छ । सन् २०२३ मा बिवाइडी थाइल्यान्ड, सिंगापुर, कोलम्बिया, ब्राजिललगायतका देशहरूमा ग्राहकका रोजाइमा पर्दै विभिन्न अन्तर्राष्ट्रिय बजारमा अग्रणीका रूपमा उदाएको छ ।












