Logo
Logo

भन्सार छलीको आरोपमा मुछिए निर्वाण



काठमाडौं । पटक–पटक भ्याट छली प्रकरणमा मुछिदै आएका नेपालका एक मात्र खर्बपति विनोद चौधरीका छोरा निर्वाण चौधरीले समेत बुबाको बाटो पछ्याउँदै राजस्व छलेको पाइएको छ । पछिल्लो समय विनोद चौधरीका छोरा निर्वाण चौधरी विद्युतीय सवारीसाधनको व्यापारमा जोडिएका छन् । सिजी मोटर्सको नाममा उनले चीनबाट विद्युतीय सवारी साधन आयात गर्दै आएका छन् ।

यसै क्रममा सिजी मोटर्सले चीनबाट आयात गरेका विद्युतीय भ्यानमा भन्सार छली गरेको फेला परेको छ । सिजी मोटर्सले चीनबाट आयात गरेको नौ सिटे भ्यानलाई ११ सिटे बनाएर भन्सार छलेको हो । भन्सार दरबन्दीमा १० सिटभन्दा कम क्षमताको भ्यानमा ११ प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ भने १० सिटभन्दा माथिको भ्यानलाई १ प्रतिशत भन्सार महसुल तोकेको छ ।

सिजी मोटर्सले त्यही ‘लुपहोल’लाई प्रयोग गरेर नौ सिटे भ्यानलाई ११ सिटे बनाएर भन्सार छल्न खोज्दा भन्सारले २ करोड ४८ लाख भन्सार छली गरेको आरोपमा सिजी मोटर्सलाई कारबाही गरेको छ । रसुवा भन्सारका प्रमुख रामप्रसाद पाठकका अनुसार निर्वाण चौधरीले नौ सिटे इभी भ्यानलाई दुईवटा फोल्डिङ सिट थपेर ११ सिटेको भन्सार पास गराएको भेटिएकोले सिजी मोटर्सलाई भन्सार छलीमा कारबाही गरेको बताए ।

यसका विरुद्ध निर्वाण चौधरी उच्च अदालत पाटन पुगे पनि उच्च अदालतबाट समेत राजस्व छली गरेको फैसला भएको छ । सिजी मोटर्सले यसरी भन्सार छलेर रसुवा भन्सारबाट एक सयभन्दा बढी भ्यान भित्र्याइसकेको छ । यसअघि पनि चौधरी ग्रुपले भ्याट चलेको अभियोगमा सर्वोच्च अदालतले दण्ड सजाय गरेको थियो ।

पद र पैसा भएपछि नेपालमा जे गर्न पनि छुट छ भन्ने मानसिकता बोकेका विनोद चौधरीका एकपछि अर्को कर्तुत सार्वजनिक भएको छ । बाँसबारी जग्गा काण्डमा विनोदका कान्छा भाइ अरुण चौधरी पक्राउ परे । माइला भाइ वसन्त चौधरीमाथि दुहबीको सरकारी जग्गा हडपेको आरोपमा अख्तियारले छानबिन गर्दैछ ।

स्वयं विनोद चौधरी नबिल बैंकको शेयर काण्डमा मुछिएका छन् । नेपाल राष्ट्र बैंकले चौधरीको शेयरमाथि धेरै वर्ष अगाडिदेखि अनुसन्धान गरेको भए पनि राजनीतिक शक्तिको आडमा अहिलेसम्म जोगिँदै आएका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि विनोद चौधरीको छटपटी बढेको छ । यसै सिलसिलामा उनका छोरा निर्वाण चौधरीमाथि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले पनि निगरानी बढाएको छ ।

निर्वाण चौधरीले हालै बंगलादेशको रनरवाइकसँगको सहकार्यमा बंगलादेशमा सिजी रनरको शो रुम खोलेका छन् । चीनको प्रसिद्ध ब्राण्ड बिवाइडी इलेक्ट्रिक सवारीसाधनको शोरुम बंगलादेशमा उद्घाटन गरेका छन् । बंगलादेशमा गरेको लगानीको स्रोतसम्बन्धी यी दुई विभागले निर्वाण चौधरीमाथि निगरानी बढाएको स्रोतले बताएको छ ।

कुनै पनि नेपालीले विदेशमा लगानी गर्दा नेपाल सरकारको अनुमति लिनुपर्छ । तर, निर्वाण चौधरीले नेपालको ऐन, कानुन छलेर बंगलादेशको बीवाइडी कम्पनीमा लगानी गरेका छन् । उनका दाजु राहुल र बरुण कर छल्नकै लागि एनआरएन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्