Logo
Logo

कम्युनिस्ट पार्टीको भविष्यः एकता वा सत्यानाश


130
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता सहकार्य तोडेपछि पुनः एकपटक वामशक्तिहरू एक ठाउँमा आउने चर्चा सुरु भएको छ । प्रचण्डले विगतमा भए गरेका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने प्रारम्भिक प्रतिक्रिया दिएपछि कम्युनिष्ट नेता कार्यकर्तामा केही आशा जगाएको छ । राजनीतिमा विश्वास महत्त्वपूर्ण कुरा हो ।

प्रचण्ड–ओलीले अघि सारेको सत्ता समीकरणसँगै वाम ध्रुवीकरण सम्भावना पनि बढेर गएको छ । कार्यगत एकतासँगै भोलिका दिनमा पार्टी एकता गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्रुविकरणको बाटोमा लैजाने असली नियतले प्रचण्ड—ओली अघि बढेका हुन् भने यसमा शंका किन गर्नु ?

अर्को कुरा, नेताहरूका सामु कोर्स करेक्सन गर्ने उपयुक्त समय आएको छ । विगतका दिनमा भएका कमजोरीमाथि निर्मम समीक्षा गर्ने र आगामी दिनमा कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ, भन्नेबारेमा ठोस गृहकार्य गर्ने समय आएको छ ।

नेताहरूले साँच्चिकै कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकरण गर्ने मनसायले नयाँ सत्ता समीकरण गरेका हुन् भने ठूलो त्याग गरेको हुनेछ । यहाँ प्रचण्ड–ओली, माधव–झलनाथजस्ता पाका र अनुभवी नेताहरूले आफ्नो छाती चौडा गर्नुपर्छ । विगतमा आफूले गरेको योगदानलाई स्मरण गर्ने र आफ्ना कमजोरीहरूमाथि आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।

विगतमा भएका कमजोरीबाट पाठ सिक्नुपर्छ । हतारमा एकता गरेर बनेको नेकपा (नेकपा) छिन्नभिन्न हुनुका कारण के थिए, किन पार्टी एक रहेन, पछि एमाले किन विभाजित बन्यो, जस्ता गम्भीर सवालमाथि निर्मम समीक्षा नगरी अगाडि बढ्दा धोका हुनसक्छ । नेताहरूले समाजवादका भाषण जसरी गर्नुहुन्छ, ती भाषणले सार्थकता पाउनका निम्ति बलियो कम्युनिष्ट पार्टीको खाँचो हुन्छ । बलियो कम्युनिष्ट पार्टी निर्माणका निम्ति कान्तिकारी विचार र सिद्धान्त चाहिन्छ । वाम ध्रुवीकरणका निम्ति वैचारिक, सैद्धान्तिक र सांगठनिक एकरूपता पहिलो शर्त हो ।

साँच्चिकै यी तीन कुरामा प्रचण्ड–ओली एक हुने खोजेका हुन् र यसमा माधव–झलनाथको साथ खोजेका हुन् भने कम्युनिष्ट आन्दोलनका निम्त यो कुराभन्दा राम्रो कुरा अर्को के हुनसक्छ ? होइन, हिजो सत्ताका नाममा फुटेकाहरू आज सत्ताकै नाममा जोडिए भन्ने भाष्य साबित गर्नलाई हो भने यसले देशको राजनीतिलाई अस्थिर बनाउने र कम्युनिष्ट आन्दोलनलाई थप क्षयीकरण गर्ने सिवाय अर्को कुनै योगदान गर्दैन ।

आजको यथार्थ
कम्युनिष्ट छिन्नभिन्न अवस्थामा छन् । स–साना कारणहरू पार्टी विभाजनका महान् कारण बनाइन्छ । कम्युनिष्ट एक ठाउँमा उभिने हो भने आज पनि नेपाली समाजले पत्याउने अवस्था छ । यसका निम्ति मुख्य नेतृत्व निःस्वार्थी, दूरदर्शी भए पुग्छ । त्यो सम्भवसमेत छ ।

मैले बारम्बार भन्दै र लेख्दै आएको छु, ‘कम्युनिष्ट एक ठाउँमा उभिन नसक्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनले पश्चिम बंगालको हविगत भोग्नुपर्छ । सच्चिने कि सक्किने ? हाम्रा सामुन्ने उभिएको यस सवाललाई गम्भीर भएर लिनुपर्छ । विचार, सिद्धान्त, झण्डा, साइनबोर्ड एउटै तर, पसल फरक किन ?’

सधैँ पार्टी सत्तामा र राज्य सत्तामा भागबण्डाको च्याँखे थापेर बस्ने प्रवृत्तिलाई कायम राखेर खुद्रा पसलको साहुजी बन्नमै रमाउने हो भने जसले जे गरे पनि भयो ।

होइन, नेताहरूको व्यक्तिगत र गुटगत स्वार्थका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको यर्थाततालाई स्वीकार गरेर सच्चिनुपर्छ भन्ने हो भने नेता बनिरहनका निम्ति कम्युनिष्टहरू पार्टी फुटाउँछन् भन्ने गम्भीर आरोपबाट मुक्त हुन सक्नुपर्छ ।

फराकिलो सोच, धारणा र दृष्टिकोणले समाजलाई हेर्नुपर्छ । आन्दोलनको विरासतलाई पल्टाउनु पर्छ । कम्युनिष्ट आन्दोलन आँखै अगाडि धराशायी बनेको टुलुटुलु हेरेर बस्ने या व्यक्तिगत, दलगत र गुटगत स्वार्थभन्दा माथि उठ्ने ? भन्ने सवाल नेतृत्वसामु छ । यस सवालको उचित जवाफ दिने समय आएको छ । समयले उचित जवाफ मागिरहेको छ ।

अब के गर्ने ?
कम्युनिष्ट नेताहरू सत्ता, शक्ति र सम्पत्तिका निम्ति जेसुकै गर्न सक्छन् भन्ने आरोप छ । अबका दिनमा मूलतः नेतृत्वले यसमा सचेत हुनुपर्छ । नयाँ सत्ता समीकरणमा एमालेले मन्त्रालय भागबन्डामा देखाएको उदारतालाई सकारात्मक रूपमा लिन सकिन्छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित मन्त्री बन्न अध्यक्ष ओलीले गरेको प्रस्तावलाई अस्वीकार गरेको समाचार आएका छन् । यस्ता कुराले समाजमा नकारात्मक सन्देश दिएको छ ।

नयाँ सत्ता समीकरणलाई आगामी आम निर्वाचनसम्म लैजाने, यसबीचमा कम्युनिष्ट पार्टीहरूबीच कार्यगत एकता, ध्रुवीकरण र पार्टी एकताका कामहरू पूरा गर्ने, समाजवादी कार्यदिशा तय गरेर त्यसअनुरुपको बजेट निर्माण गर्ने, सत्ताभन्दा मुलुक, जनता र कम्युनिष्ट आन्दोलनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ ।

तिक्तता घटाउने र मित्रता बढाउने काममा नेता कार्यकर्ताहरू लाग्नुपर्छ । नेतृत्वहरूलाई अनावश्यक कुरा लगाउने, आन्दोलनलाई कमजोर पारेर व्यक्तिगत स्वार्थपूर्ति गर्ने, मिल्न थालेको वातावरण बिथोल्ने, गुट र फुटमा रमाउनेहरूबाट नेतृत्व सजक बन्नुपर्छ ।

कुरा सुन्ने हो, तर कसका कुरा कति सुन्ने र मनन गर्ने भन्ने कुरामा नेतृत्वले विचार गर्नुपर्छ । हेर्दै र देख्दैमा को कसरी नेतासँगको सामीप्यमा आयो भन्ने कुरा बुझ्न सकिन्छ । को कति पानीमाथि छ, को पानीमुनि छ भन्ने कुरा नेताहरूले पत्ता लगाउनुपर्छ ।

आज माधव–झलनाथ र प्रचण्ड–ओलीका सामु कम्युनिष्ट ध्रुवीकरणको विकल्प छैन । भूराजनीतिक अवस्था, देशको वर्तमान अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था, कानुनी तथा संवैधानिक अवस्थालाई दृष्टिगत गर्ने हो भने आजको दिनमा कम्युनिष्ट पार्टी नामका पसलहरू मर्ज गर्नुको विकल्प छैन ।

प्रमुख नेताहरूले आफूलाई सेफल्याण्डिङसमेत गर्नुपर्ने बेला आएको छ । भाषण त जस्तोसुकै गर्न सकिएला तर, आजको जनता र समयको नेता बन्न सकिँदैन । पहिलो पुस्ताबाट नेपाली राजनीतिले ठूलो योगदान प्राप्त गरेको छ । उक्त योगदानप्रति उच्च सम्मान गर्दै दोस्रो र तेस्रो पुस्ताले अब हामी सक्षम भइसक्यौँ भन्नुपर्छ ।

अन्त्यमा, नयाँ गठबन्धनको सरकारले जनभावनाअजुसार काम गर्नुमा आफूलाई क्रियाशील बनाउनुपर्छ । वैचारिक रूपमा (केही पात्रलाई छाड्ने हो भने) यो गठबन्धन प्राकृतिक मान्न सकिन्छ । यस सरकारले सार्वजनिक संस्थानहरूलाई जनवादी बनाउनेमा केन्द्रित हुनुपर्छ । सार्वजनिक संस्थानलाई जनतामैत्री र सुशासनमैत्री बनाउने काममा पार्टी संगठन सक्रिय रहनुपर्छ ।

खासगरी प्रधानमन्त्री प्रचण्ड, ओली, नेपाल–खनालले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्नुपर्छ । खासगरी रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण केन्द्र भागमा राखेर परिणाममुखी काम गर्न सक्नुपर्छ । व्यवस्था बदलेको तर, अवस्था बदल्न नसकेको भन्ने गम्भीर आरोप मूलधारका पार्टीलाई छ ।

यो सतही सुनाइ हो । सार यो होइन । देशमा केही राम्रा कामहरू भइरहेका छन् । जरुर, कृषि, उत्पादन, रोजगारी, सुशासन, विकास र समृद्धिजस्ता कुरामा दलहरू नमजाले चुकेको सत्य हो । यी कुरामा आफ्नो सक्षमता पुष्टि गर्ने चुनौती वर्तमान सरकारसामु छ ।

प्रतिक्रिया दिनुहोस्