Logo
Logo

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउँदै रास्वपा, जित कति सहज ?  



काठमाडौं । आगामी वैशाख १५ गते तय भएको उपनिर्वाचनमा इलाम– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने पक्काजस्तै भएको छ । 

नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई रास्वपाले पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने तयारी गरेको हो । रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ ।

झन्डै दुई दशक पत्रकारितामा बिताएका मिलन लिम्बूले माओवादी त्यागेर गत चैत ४ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । भूगोल, मतदाताको मनोविज्ञान र एमालेको उम्मेदवार चयन लगायतलाई विचार गरेर रास्वपा मिलनलाई अघि सार्ने निष्कर्षमा पुगेको रास्वपा स्रोतले बताएको छ । 

उम्मेदवार चयनका लागि सहमहामन्त्री बुर्लाकोटीसहित ६ जना सांसद इलाम पुगेर ६ वटै पालिकाको वस्तुस्थिति अध्ययन समेत गरेका थिए । रास्वपाले इलाम-२ का प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा तान्ने कोसिस गरेका थिए । तर, अन्तिममा रास्वपाको रोजाइमा पत्रकार मिलन लिम्बू परेका हुन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्नुअघि नै रास्वपा सभापति रवि लामिछाने र मिलनबीच छलफल समेत भएको थियो । सुरुमा अर्कै दलमा आबद्ध र पहिचानवादी भनेर चिनिएका नेतालाई उठाउने विषयमा केही समय रास्वपा हिचकिचाएको थियो । तर, स्थानीय तहबाटै पहिचानवादीलाई नै उठाउन सुझाव आएपछि रास्वपा मिलन लिम्बूलाई नै उठाउने निष्कर्षमा पुगेको हो । 

सोमबार बिहान पनि सभापति लामिछानेले मिलनलाई फोन गरेर सहकार्यबारे छलफल गरेका थिए । मिलनसँगको संवाद सकारात्मक भएपछि रास्वपाको सोमबार सिंहदरबारमा कोर टिममा यसबारे छलफल भएको थियो । 

मिलन लिम्बूसँग रास्वापाका केही नेता निरन्तर संवादमा थिए । उपसभापति डीपी अर्याल, महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले उनीसँग टेलिफोन संवाद गरिरहेका थिए ।

मिलन लिम्बूसँग  रास्वपा सभापति लामिछानेको व्यक्तिगत सम्बन्ध पनि छ । न्यूज २४ टेलिभिजनमा लामिछाने कार्यरत छँदा मिलन सहकर्मी थिए । आफ्नो पुरानो व्यक्तिगत सम्बन्धले गर्दा पनि रवि लामिछानेले मिलन लिम्बूलाई नै टिकट दिने बताइएको छ । 

को हुन् मिलन लिम्बू ? 
मिलन लिम्बू आदिवासी पत्रकार महासंघ (फोनिज)को महासचिव हुन् । झन्डै दुई दशक पत्रकारीमा बिताएको मिलनले मकालु टेलिभिजन, एबीसी न्यूज र न्यूज २४ टेलिभिजनलगायतका  सञ्चारमाध्यममा काम गरेका छन् । पछिल्लो समय उनी दृष्टि न्यूज डटकमका सम्पादन रहेका थिए । 

उनी इलाम–२ कै स्थायी बासिन्दा हुन् । उनले आफूले इलामका स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्ने बताएका छन् । उनले आफूलाई ‘अकबरे उम्मेदवार’ समेत भनेका थिए ।

कस्तो छ रास्वपाको स्थिति ? 
मिलन अहिले निर्वाचन क्षेत्र पुगिसकेका छन् । उनले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । इलामको माक्सेबुङमा बसोबास गर्दै आएका धर्मगुरु आत्मानन्द लिङ्देनको पनि उनले आशीर्वाद लिइसकेका छन् । लिङ्देनको पोल्टामा कम्तीमा ५ हजार भोट रहने बताइन्छ ।

कोसीमा चलिरहेको पहिचान पक्षधरको आन्दोलनको रापतापकाबीच लिङ्देनको भोटले पनि यो पटक असर पार्नसक्ने आम बुझाइ छ । मिलन र धर्मगुरु लिङ्देनको पारिवारिक सम्बन्ध  रहेको समेत बताइन्छ । 

तर, गत वर्षको निर्वाचनमा रास्वपाले पाएको समानुपातिक मत विश्लेषण गर्दा रास्वपालाई त्यति सजिलो भने छैन । २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, रास्वपाले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो ।

पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको र संगठन नै नभएको इलाम–२ मा रास्वपाले चार हजार बढी भोट ल्याउनुलाई  अप्रत्याशित मानिएको छ । इलाम–२ मा पनि तनहुँ–१ मा जस्तै अप्रत्याशित जित निकाल्ने रास्वपाको रणनीति छ ।

तनहुँ– १ बाट निर्वाचन सांसद् रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै गत वैशाखमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसमा डा. स्वर्णिम वाग्लेलाई भित्र्याएर रास्वपाले उम्मेदवार बनाएको थियो ।

उक्त निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी) र एमाले रास्वपालाई आफ्नो प्रतिस्पर्धी नै मानेका थिएनन् । तर, कांग्रेसमा उम्मेदवार गोविन्द भट्टराई र एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई भारी मतान्तरले पराजित गर्दै वाग्ले विजयी भएका थिए ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा कांग्रेसका भट्टराईले २० हजार १ सय २२ र एमाले उम्मेदवार खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । ०८४ मा बहुमत ल्याउने रणनीति बनाएको रास्वपाले इमाल– २ लाई पनि प्रतिष्ठाको विषय बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्