Logo
Logo

त्रिकोणात्मक टी-२० : नेपालको लगातार दोस्रो जित



काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।

बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३।४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।

नेपालका करण केसीले ३ विकेट, सोमपाल कामीले २ विकेट, अभिनाश बोहराले २, गुलशन झा र दीपेन्द्रसिंह ऐरी १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालको जितमा कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।

त्यस्तै सन्दीप जोराले २९, ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९, अनिल कुमार शाहले २५, कप्तान रोहित पौडेलले १८ र गुलशन झाले १३ रन बनाएका थिए ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । अव नेपालले बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्