Logo
Logo

बदलिँदै परिस्थिति, बन्ला त एमाले-कांग्रेस समीकरण ?



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि सत्ता गठबन्धन दबाब परेको छ । गृहमन्त्री नै सहकारी प्रकरणमा मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् र सञ्जालमा आक्रामक बनेको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको छ । यदि संसदीय छानबिन नबनाए गृहमन्त्री लामिछाने राजीनामा दिनुपर्ने कांग्रेसको अडान छ । यही विषयलाई लिएर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि समेत प्रहार गरिरहेको छ ।

तर, सत्ता घटकको प्रमुख दल नेकपा एमालेप्रति भने कांग्रेस नरम देखिएको छ । प्रधानमन्त्री र गृहमन्त्रीमाथि आक्रामक बनेको कांग्रेस एमालेप्रति नरम हुनेको एउटै मात्रै कारण हो, सत्ता सहकार्यको सम्भावना । कांग्रेसले एमालेसँग सहकार्य, सहमति र समीकरणको लागि आग्रह गरिरहेको छ । कांग्रेस, एमालेलाई फकाउने र रास्वपालाई गलाउने रणनीतिमा लागेको छ ।

त्यस्तै माओवादीको फेल भएको एमाले अस्त्र र एमाले नेताहरूले माओवादी नेताप्रति देखाएको कटुताले कांग्रेस–एमालेको सहकार्य हुने सम्भावनालाई बढाउँदै लगेको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै कांग्रेसले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरिरहेको छ ।

काँग्रेसका नेताहरूले अहिले स्थिरताको लागि काँग्रेस र एमाले मिल्नु पर्ने तर्क गरिरहेका छन् । कांग्रेसका एकपछि अर्को जिम्मेवार नेताहरूले छिट्टै सत्तामा फर्किने दाबी गर्नुले पनि एमालेसँग भित्रभित्रै कांग्रेसको साँठगाँठ बढ्दै गएको भन्ने चर्चालाई बल पुर्याउछ  ।  

हुन त केन्द्रमा समीकरण परिवर्तन भएसँगै अहिले त्यसको कम्पन प्रदेश सरकारले पनि महसुस गरिरहेका छन् । केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरताको अन्त्यको लागि एमाले र काँग्रेस मिल्नु पर्ने तर्क काँग्रेसको छ ।  कांग्रेस महामन्त्री गगन थापाले मात्र होइन, नेता डा. शेखर कोइरालाले पनि छिटै अर्को गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि अस्थिरता अन्त्यका लागि एक पटक कांग्रेस–एमाले मिल्न आवश्यक रहेको बताउँछन् । त्यसका लागि दुवै दल तयार रहेकोसमेत उनको दाबी छ । यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने आफू बाचुन्जेल राजनीतिमा ‘उथलपुथल’ भइरहे बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यसरी उथलपुथल भनिरहँदा कांग्रेस भने उल्टै प्रचण्डमाथि नै उथलपुथल कसरी गर्न सकिन्छ भनेर दाउ हेरिरहेको देखिन्छ । त्यसो त एमाले पनि प्रचण्डबाट पटक पटक धोका पाएको दल हो । उसले यसपटक माओवादीसँग सहकार्य अघि बढाउँदा सुरुबाटै केही आशंका गर्ने ठाउँहरू छाडेको छ ।

शक्तिशाली मानिने मन्त्रालयमा अडान नलिनु र पाएको मन्त्रालयमा पनि ‘बी टिम’लाई अघि सार्नुले सुरुदेखि नै एमाले वर्तमान गठबन्धनमै प्रतिबद्ध नरहेको विश्लेषण हुँदै आएको थियो ।

कांग्रेस नेताहरूले माओवादीलाई दबाबमा राख्न र आफ्ना कार्यकर्तालाई ढाडस दिन मात्र छिटै सत्तामा पुग्ने दाबी गरेको हुनसक्ने विश्लेषक समेत भइरहेको छ । तर, नेपालमा राजनीतिक भागबण्डका लागि जस्तोसुकै गठबन्धन हुन्छन् भन्ने प्रमाणित भइसकेको छ । अब एमाले कसरी अगाडि बढ्छन्, त्यसैमा सरकारको आयु निर्भर रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्