Logo
Logo

वैशाख ४ देखि केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड हुने


126
Shares

काठमाडौं । आगामी वैशाखको पहिलो साता राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा आगामी वैशाख ४ गतेदेखि ६ गतेसम्म प्रतियोगिता दशरथ रंगशालामा हुने भएको छ ।

राखेपले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणबारे जानकारी दिएको हो । ७५३ वटा स्थानीय तहबाट छनोट गरिएका छात्रछात्राले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सात प्रदेशबाट १८ वर्षमुनिका ६८६ जना खेलाडीले यस पटक प्रतिष्पर्धा गर्न लागेका हुन् । यो प्रतियोगितामा कुल ६ वटा खेलमा प्रतिष्पर्धा हुँदैछ । छात्रा र छात्रले एथ्लेटिक्स, भलिबल, कराते, कबड्डी, तेक्वान्दो र उसु विधाका खेलमा प्रतिष्पर्धा हुनेछन् ।

एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६र६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा १र१ स्वर्ण गरी प्रतिष्पर्धा हुनेछन् ।

यो प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए ।

हरेक विधामा शीर्ष ३ स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन्। यद्यपि, पुरस्कारबारे भने तय नभईसकेको जानकारी शर्माले दिए तर तीन पटक च्याम्पियन टोलीले रनिङ शिल्ड पाउनेछन्।

प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने उनले बताए । यसअघि लुम्बिनी प्रदेशले तीन पटक च्याम्पियन भएर रनिङ शिल्ड आफ्नो बनाएपछि नयाँ रनिङ शिल्ड बनाइएको छ ।

प्रतियोगिताका लागि करिब डेढ करोड रुपैयाँ खर्च हुने राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महत्व र स्थान धेरै उँचो रहेको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय टोली छनोटको माध्यमसमेत रहेको धारणा राखे ।

उनले सबै पक्षबाट यो प्रतियोगिताको सफल आयोजनामा सहयोग हुनुपर्ने र राखेपले पनि यो आयोजनापछि खेलाडीको गन्तव्य कहाँ हुने भन्ने रोड म्याप तयार पारिने विश्वास व्यक्त गरे ।

राखेप सदस्यसचिव घिसिङले यहाँबाट निस्किएका प्रतिभाशाली खेलाडीको संरक्षणका लागि संघहरूले पनि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्