Logo
Logo
इतिहास

लिम्बूवान प्रतिनिधि मण्डलमा नन्दप्रसाद खेवा



तेह्रथुम छथरका सुुब्बा नन्दप्रसाद तुम्खेवा लिम्बू यतिखेर यो संसारमा छैनन् । तर नेपालको राजनीतिक र सामाजिक मात्रै होइन, लिम्बूहरुको भूमी अधिकारका लागि उनले पुर्‍याएको योगदानका कारण उनी एक अविस्मरणीय ब्यक्तित्त्वका रुपमा स्थापित हुन पुगेका छन् । एक ऐतिहासिक ब्यक्तित्त्वको रुपमा स्मरणीय छन् ।

१९७२ फागुन २९ गते जन्मेका नन्दप्रसादको भौतिक देह २०४६ साद भदौ ७ गते अन्त भयो । साढे सात दशकको आयु बाँच्दासम्म उनी कुनै न कुनै रुपमा सक्रिय देखिन्थे । मूलघर तेह्रथुमको सुदापमा भए पनि उनको धनकुटा नगरको देब्रेबासमा अर्को घर पनि थियो ।

तत्कालिन राजनीतिक विभाजनअनुसार पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेकोले राजनीतिक, प्रशासनिक र अदालती कामहरु सहज रुपमा सम्पन्न गर्न धनकुटा गौडा नजिकै घर बनाएर आफ्नो अर्को मुकामका रुपमा बसोबास गरेका थिए । उनको धनकुटा–तेह«थुम आऊजाऊ चलिरहन्थ्यो ।

२००७ सालको क्रान्तिबाट प्राप्त प्रजातन्त्रको उज्यालो दियोलाई निभ्न नदिन उनले गरेको योगदान स्मरणीय रहेको छ । प्रजातन्त्रप्रतिको उनको यहीँ निष्ठा र सक्रियताका कारण उनी पञ्चायती ब्यवस्थाबाट कारावासको सजाय पनि भोग्न बाध्य भए ।
२०१८ सालमा उनी धनकुटा कारागारमा बन्दी बनाइए । राजबन्दीका रुपमा उनले डेढ वर्ष कारागारमा बिताए । त्यहीँ कारागारमा राजवन्दीकै रुपमा पाँचथरका काँग्रेस नेता कृष्णविक्रम नेम्वाङ (वि.सं. १९९९–२०८०) धनकुटामा साथी बन्न आइपुगेका थिए ।

२००७ सालदेखि नन्दप्रसाद काँग्रेसको राजनीतिमा सक्रिय भए । त्यतिखेर छथरको सुदाप धनकुटा जिल्लामै पथ्र्यो । पछि तेह«थुम जिल्लामा पर्न गयो । २०१५ सालमा उनी पार्टीको जिल्ला समिति सदस्य भए । राजनीतिक यात्राकै क्रममा उनी २०३८ सालमा तेह«थुम जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुँदा आफ्नो गाउँठाउँको बाटोघाटो निर्माण, विद्यालय स्थापना तथा छथर शुक्रबारेको बजार स्थापनाजस्ता योगदानहरुले नन्दप्रसादको सम्झना दिलाइरहने गरेको छ ।

किपट जोगाउने सक्रियता

लिम्बूहरुले परम्परागत रुपमा त्यो समय तथा ब्यवस्थामा पाउँदै गरेको सुवांगीको विरासत जोगाउन उनी सक्रिय थिए । आफ्नो जिम्माको किपटमा रस्ती रसाउने र बस्ती बसाउने कार्यक्रममा दत्तचित्त थिए, सुब्बा नन्दप्रसाद । अहिले पनि सुदापको उनको मूलघर सुरक्षित पुराना ढाल तरबार, नगरा–निशान तथा हाते तोपजस्ता पुराना अस्त्रशस्त्रहरुको सङ्ग्रहका कारण उनले धानेको इतिहासको झल्को उज्यालो रुपमा झल्किरहेको देखिन्छ ।

किपटिया सुवांगीका क्रममा नन्दप्रसाद खेवाको घरमा सुरक्षित राज्यबाट प्राप्त हाते तोप, ढालतरवार लगायतका हतियारहरु । स्रोतः अर्जुनबाबु मावुहाङ

इतिहासकै सन्दर्भ कोट्याउँदा उनी इतिहासका महत्त्वपूर्ण स्रोत पनि हुन् । इतिहास लेखनका क्षेत्रमा उनको सक्रियता नदेखिए पनि ऐतिहासिक स्रोतहरुको संरक्षणमा उनको उपस्थिति र योगदान भने ठोस रुपमा देखा परेको छ ।

वि.सं. १८४८ जेठ बदीमा छथरका रामजीत राईले पाएको रुक्कादेखि २००३ (साल फागुन १६ गतेको इस्तिहार गरी पाँच वटा ऐतिहासिक पत्रहरु उनले इतिहासकार शिवकुमार श्रेष्ठलाई प्रदान गरी लिम्बूवानको इतिहास लेखनका लागि सघाउ पु¥याएको यस प्रसङ्गमा स्मरणीय महत्त्वको छ । शिवकुमार श्रेष्ठको “लिम्बूवानको ऐतिहासिक अध्ययन” (२०६८ः१२२–७६) मा यी ऐतिहासिक पत्रहरु पढ्न पाइन्छ ।

२०२१ सालमा राजा महेन्द्रले भूमीसुधार लागू गरेपछि लिम्बूहरुले प्राप्त गर्दै आएको परम्परागत सुवांगी अधिकार पूर्ण रुपमा राज्यले समाप्त पारिदियो । त्यसअघिदेखि नै राज्यले आफ्नो किपटिया सुवांगी अधिकार क्रमशः खुम्च्याउँदै गइरहेकोप्रति लिम्बूवानका किपटिया सुब्बाहरु सशङ्कीत र सचेत रहँदै आइरहेका थिए । त्यसैले उनीहरुले किपट सुधार र थमौतिको प्रयासहरु आफ्ना तर्फबाट गरिरहेकै थिए । उनीहरुले राज्यलाई यसतर्फ ध्यानाकर्षण र दवाव पनि दिदै आइरहेका थिए ।

२०१३ सालको लिम्बूवान प्रतिनिधि मण्डलमा अगाडीबाट दोस्रो लहरको बायाँबाट दोस्रोमा नन्दप्रसाद खेवा । स्रोतः कृष्णा सुब्बा

यसैक्रममा इमानसिंह चेम्जोङको नेतृत्त्वमा गठन भएको ‘लिम्बूवान सुधार संघ’ले २०११ साल जेठ ३२ गते तत्कालिन राजा त्रिभुवनसमक्ष एक स्मृतिपत्र बुझाएको थियो । लिम्बू सुब्बाहरुले ब्यक्तिगत, सामुहिक तथा संस्थागत रुपमा किपटसम्बन्धी मागहरु प्रस्तुत गरिरहेपछि राज्यको कानमा केही बतास लाग्यो । राज्यले तीन वटा पक्षलाई राखेर किपटसम्बन्धी छलफल चलायो ।

किपटसम्बन्धी छलफल गर्न लिम्बूवानमा जर्नेल नीरविक्रम राणा, उपसचिव जीडी गुरुङ तथा बडाहाकिम मोहनबहादुर सिंहको टोली केन्द्रबाट आयो । लिम्बूवानमा बस्ने गैरकिपटियाका तर्फबाट गङ्गाप्रसाद सिटौला, सूर्यबहादुर थापा, तिलविक्रम श्रेष्ठ तथा गङ्गाप्रसाद दाहाल छलफलमा सरिक थिए । किपटिया लिम्बू सुब्बाहरुको तर्फबाट प्रेमबहादुर मावोहाङ, ललितबहादुर तुम्वाहाम्फे, देउमान आङ्देम्वे, मेदनीप्रसाद कन्दङ्वा, काजीमान कन्दङ्वा, गुञ्जमान आङ्बुहाङ, हर्षवर्दन कन्दङ्वा र नन्दप्रसाद खेवा छलफलमा सहभागी थिए । तर छलफल निष्कर्षमा पुग्न सकेन (भगिराज इङनाम र शेरबहादुर इङनाम, ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’-२०७०ः२७०)

यसरी किपट समस्या समाधानका लागि सरकारले खटाएको प्रतिनिधि, गैरकिपटिया प्रतिनिधि र किपटिया प्रतिनिधिहरुबीचको छलफल निष्कर्षमा नपुगेपछि किपटिया सुब्बाहरुलाई राजाबाट काठमाडौंमा बोलावट भयो । २०१३ साल मङ्सिर १३ गते राजासँगको दर्शनभेटका लागि फेदाप थुमका सुब्बा ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा लिम्बूवानबाट प्रस्थान गर्ने २९ सदस्यीय प्रतिनिधि मण्डलमा एक सदस्यका रुपमा छथर क्षेत्रको प्रतिनिधित्त्व गर्दै नन्दप्रसाद खेवा लिम्बू पनि सहभागी थिए (इङ्नाम, २०७०ः२७०–७१) ।

तर यी लिम्बू सुब्बाहरुको केही लागेन । राजा महेन्द्रले भुलाउँदै, छक्याउँदै २०२१ सालमा भूमीसुधारको नाममा लिम्बू सुब्बाहरुको परम्परागत किपट प्रथाको अन्त्य गरेरै छाडे । तर आफ्नो परम्परागत अधिकारका लागि राज्यसँग लड्न भिड्न नछाड्नेमध्ये सुब्बा नन्दप्रसाद पनि एक थिए । यो उनलाई इतिहासले दिएको एउटा दायित्त्व पनि थियो । आफ्नो जीवनमा इतिहासले सुम्पेको दायित्त्व निर्वाह गर्न चुकेनन्, उनी ।

बीपी र सुवर्णशम्शेरको स्वागतमा भाषण

नन्दप्रसाद नेपाली काँग्रेसका सक्रिय नेता थिए भन्ने प्रसङ्ग माथि परिसकेको छ । उक्त पार्टीको पूर्वाञ्चलमा २००९ सालमा पहिलो सम्मेलन हुँदा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी यस सम्मेलनमा स्वागत समितिका अध्यक्ष थिए । सम्मेलनमा आतिथ्य ग्रहण गर्न पार्टीका तत्कालिन अध्यक्ष विश्वेश्वरप्रसाद कोइराला र उपाध्यक्ष सुवर्णशमशेर धनकुटा आएका थिए ।

सम्मेलनमा सहभागी अतिथीहरुलाई स्वागत गर्ने जिम्मेवारी पार्टीले नन्दप्रसादलाई दिएको थियो । उनको स्वागत भाषण पार्टीको मुखपत्र ‘नेपाल पुकार’को वर्ष ५ अङ्क १६ (२००९ साल माघ २३ गते विहीबार)को अङ्कमा प्रकाशित गरेको छ । उनले भाषणमा राजनीतिक सन्दर्भ मात्र उठाएका छैनन्, स्थानीय समस्याहरुप्रति पनि नेतागणको ध्यानाकर्षण गराएका छन् । नन्दप्रसादकै परिवारका सदस्य (छोरी) कृष्णा सुब्बाको सौजन्यबाट यो लेखकले प्राप्त गरेको झण्डै सात दशक पुरानो जीर्ण भइसकेको उक्त मुखपत्रको छायाँप्रतिबाट सारेर यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
भाषणको ब्यहोरा यस्तो छ :

नेपाल देशको सुदूरपूर्वी धनकुटा नगरीमा आजदेखि सुरु भएको पूर्वाञ्चल अधिवेशनमा… गरी आउनु भएको नेपाली काँग्रेसको महामान्य अध्यक्ष लगायत अन्य नेताहरु तथा कर्मठ साथीहरुलाई आज स्वागत गर्न पाउँदा यो स्वागत समिति र यस अञ्चलको जनताको हृदयमा आनन्दको लहर बग्नु स्वाभाविक हो ।

नन्दप्रसाद खेवाको घरमा सुरक्षित नगरा ।

सुदूर पूर्वको यहीँ महत्त्वपूर्ण नगर हो जसमा पृथ्वीनारायण शाहले अड्डा खानाको जग बसाई ऐतिहासिक महङ्खव दिए । आज यहीँ नगरमा नेपाली काँग्रेस सदूर पूर्वाञ्चलको ऐतिहासिक सम्मेलन हुँदा यसलाई एउटा महत्त्वपूर्ण केन्द्र बनिने सौभाग्य प्राप्त भएको छ । धनकुटाको इतिहासमा यो सर्वप्रथम राजनीतिक सम्मेलन हो । हाम्रो यो धनकुटाका जनता सुरुदेखि नै काँग्रेसदेखि प्रभावित छौं । र विगत क्रान्तिमा पनि हामीले सक्रिय भाग लिएका हौं । अब हामी झन आशा भरोसाका साथ हातमा हात मिलाएर अगाडी बढ्न तयार छौं । मलाई पूर्व विश्वास छ कि अहिले एकचित्त भएका नेताहरुले हामीलाई सधैँ भरी…तथा परिपक्व नेतृत्त्व दिनु हुनेछ । यहाँ जस्तो महत्त्वपूर्ण अधिवेशन हुँदा जनता प्रफुल्लित छन् । उनीहरुले यसबाट ठूलो राजनीतिक पाठ पढे ।
प्रकृतिले यो अञ्चललाई कुवेरको ढुकुटी बनाएको छ । तर यो अञ्चलका बासिन्दा हामी नै दुःखी पीडित छौँ । विशेष गरी यो पहाडी इलाका त झन…छ । सांस्कृतिक, बौद्धिक, शैक्षिक तथा अन्य जीवनोपयोगी साधनहरुको हामीमा साह«ै नै अभाव छ । हामी शिक्षा विना अन्धा रहेछौं । राणा शासनले हाम्रो आँखामा पट्टी बाँधेको रहेछ । यो कुरा राणा शासनलाई खत्तम पारेपछि मात्र हामीले देख्न लाग्यौं ।

अब हामी अगाडी बढ्न छटपटाइरहेछौं । तर पानी विनाको माछा जस्तो गल्याक गुलुक मात्र भइरहेका छौं । हामी असाहाय छौं…संगठीत जनसक्रियता बढ्न लागेको छ । आफैमा आत्मबल धेरै पाएजस्तो अनुभव गरिरहेका छौं । मलाई विश्वास छ आज एक चित्त भएका नेता गण तथा…आइ स्थानमा राख्नु हुनेछ । हुन सक्छ, स्वागत समिति भूलहरु होलान् । सविनय गर्दछौं कि…दिनु हुन्छ ।

लिम्बूवान प्रतिनिधि मण्डलका सदस्य

इतिहासकार तथा लिम्बूहरुको प्राज्ञिक विभूति इमानसिंह चेम्जोङले लिम्बूवान सुधार संघ गठन गरी लिम्बूवानको किपटलाई ब्यवस्थित गर्नुपर्नेमा लिम्बूहरुलाई सचेत गराइरहेका थिए । राजा त्रिभुवनले आफ्नो विराटनगर भ्रमणको बेला २००८ साल मङ्सिर २९ गते लिम्बूहरुलाई लालमोहर प्रदान गरेका थिए । २००९ साल जेठ २ गते इमानसिंह चेम्जोङ सभापति र तेजबहादुर प्रसाईं प्रधानमन्त्री रहेको अखिल नेपाल लिम्बूवान सुधार सङ्घ गठन भयो । यसले किपटभूमी यथावत् राखी राजनीतिक अधिकारसहितको लिम्बूवान स्वायत्त राज्यको माग गरी २००९ साल कात्तिक २५ र २०१० साल जेठ २ गते राजालाई स्मृति पत्र चढाएको थियो ।

नन्दप्रसाद खेवा । स्रोतः दिपिका सम्वाहाम्फे

त्यसपछि किपट समस्यासम्बन्धी छलफल गर्न नीरविक्रम राणाको नेतृङ्खवमा एक टोली लिम्बूवान आइपुग्यो । तर वार्ता निष्कर्षमा पुग्न सकेन । यो टोलीसङ्ग लिम्बू किपटिया सुब्बाहरु, रैतिका तर्फबाट सूर्यबहादुर थापालगायत वार्तामा सामेल थिए ।
सुन्नमा आएअनुसार सूर्यबहादुर थापाले त्यतिखेर राजासङ्ग बिन्ति गर्दा भनेका थिए रे, महाराज, एउटा ‘मात्र राजा मान्न पाऊँ ।’ उनको भनाईमा अर्का राजा अर्थात् लिम्बूलाई राजा मान्न उनी इच्छुक थिएनन् । यसको सिधा अर्थ हो, किपट ब्यवस्थाको अन्त्य । उनको यो सपना २०२१ सालमा भूमिसुधार लागू भएपछि पुरा भयो ।

यसपछि किपटिया लिम्बू सुब्बाहरुलाई राजाबाट काठमाडौं बोलावट भयो । फेदाप थुमका सुब्बा ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा २९ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं पुग्यो । उनी २००७ को परिवर्तनपछि धनकुटामा बनेको अन्तरिम प्रान्तीय सरकारका गभर्नर पनि थिए ।

राजाको बोलावटमा ललितबहादुरका साथ काठमाडौं जाने प्रतिनिधि मण्डलमा इतिहासकार इमानसिंह चेम्जोङ पनि एक सदस्यका रुपमा सहभागी थिए । यस प्रतिनिधि मण्डलमा छथर थुमबाट दुई जना सदस्य काठमाडौं पुगेको देखिन्छ, तीमध्ये एक जना हुन्, नन्दप्रसाद खेवा र अर्का प्रेमभक्त खेवा ।

यो प्रतिनिधि मण्डलले २०१३ साल मङ्सिर १३ गते राजासङ्ग भेटेर लिम्बूवानको किपटसम्बन्धी स्मृति र मागपत्र बुझायो ।
यसरी नन्दप्रसाद खेवाले लिम्बूवानको एक किपटिया सुब्बा हुनुको दायिङ्खव निर्वाह गर्नुका साथै लिम्बूवानको अधिकार संरक्षण अभियानको प्रारम्भिक चरणमा महङ्खवपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।

कीर्ति र स्मृति

नन्दप्रसाद खेवा इतिहासका स्रोत ब्यक्ति पनि हुन् । इतिहासकार शिवकुमार श्रेष्ठको आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ मा वि.सं. १८४८ मा जोरावरसिंह र सुब्बा इन्द्रसिंहले खेवा रामजीत राईलाई दिएको र १८६६ मा राजाबाट रामजीत राई र युधनले पाएको रुक्का नन्दप्रसाद खेवाबाटै इतिहासकार श्रेष्ठले प्राप्त गरी आफ्नो इतिहास लेखनमा प्रयोग गरेको देखिन्छ । यो प्रसङ्ग माथि पनि उल्लेख गरिसकिएको छ ।

समयक्रममा नन्दप्रसाद तेह्रथुम जिल्लाको जिल्ला पञ्चायत सदस्य पनि निर्वाचित भएका थिए । एकातिर जनप्रतिनिधि र अर्कातिर किपटिया सुब्बा हुनुको जिम्मेवारीले उनले जनसहभागितामा सुदाप शुक्रबारेदेखि तमोरसम्म बाटो निर्माण गरे ।
उनको स्मृतिमा ललितपुर तिखेदेवलस्थित किरात माङहिममा उनका सन्तानले “सुब्बा नन्दप्रसाद खेवा लाम” नामको बाटो निर्माण गरेर उनको स्मृतिलाई ताजा बनाएका छन् ।

पञ्चायतकालिन ताप्लेजुङका चर्चित नेता विष्णु मादेन (हालः दिवंगत)का बुवा हर्कजङ््ग मादेन त्यहाँका किपटिया सुब्बा थिए । उनले लप्टन दर्जा पनि पाएका थिए । उनका सन्तानले आज पनि उनलाई लप्टन हर्कजङ्ग मादेन भनेर चिनाउनमा गौरव गर्छन् ।
नन्दप्रसादको एउटा लुकेको पाटो के हो भने उनलाई पनि राणाहरुले त्यतिखेर मानार्थ लप्टन दिएका थिए । यो कुरा मेरो बुवाले मलाई पनि बताएका थिए । उनी भन्थे, ‘कप्तान हुँ, तेरो काका नन्दप्रसाद चाहिँ लप्टन ।’]

मैले यो सम्झना आफ्ना मनमष्तिष्कमा साँचिरहेकै थिएँ । एकदिन बागबजारको एक चियापसलमा लिम्बू भाषा तथा साहित्यसेवी क्षितिज सुब्बा (पाक्सावा)सँग भेट भयो । छथरे लिम्बू भाषाको शब्दकोश तथा कथा सङ्ग्रहसमेत प्रकाशित गरिसकेका क्षितिजजीसँगको कुराकानीमा नन्दप्रसाद खेवाको नाम उच्चारण भइहाल्यो, मेरै मुखबाट ।
‘उहाँ त, लप्टन पनि हो नि’, क्षितिजजीको भनाई ।
मलाई यो कुरा थाहा थियो । तर एउटा आश्चार्यको विषय नन्दप्रसाद खेवा लप्टन भएको कुरा चाहिँ उनको परिवारका सदस्यहरुलाई नै थाहा रहेनछ ।

उनलाई राणाहरुले मानार्थ लप्टन दिएका हुन् । तर प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुँदा उनका लागि त्यो लप्टन पद गौण भइदियो । सम्भवतः राणाहरुले दिएको उक्त पदलाई उनले छोटो समयमै परित्याग गरिदिए । फलतः उनको लप्टन पद इतिहासमै गुमनाम भयो, जसकाबारेमा उनका दरसन्ताननै अनभिज्ञ हुन पुगे ।

प्रतिक्रिया दिनुहोस्