Logo
Logo

संसदमा घम्साघम्सीः कहिले के भयो ?

बजेटको ब्रिफकेस फुटाउनेदेखि चड्कन प्रहारसम्म


819
Shares

काठमाडौं । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च निकाय हो । संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा छ । तर, बेलाबेला संसदभित्रै सांसदबाट अमर्यादित र अराजक व्यवहार देखिन्छ । बिहीबार प्रतिनिधिसभा बैठकमा फरक दृष्य देखियो ।

नेपाली कांग्रेसले विभिन्न सहकारीको रकम हिनामिना भएको र त्यसमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि उनीमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै विगत केहि महिनादेखि संसद अवरुद्ध गर्दै आइरहेको थियो ।

हिजो बिहीबार पनि पतिनिधिसभा बैठक बसेको थियो । यसअघिका बैठकमा झैं कांग्रेस सांसदहरुले नाराबाजी गरे । वेल घेराउ गरे । सभामुख घिमिरेले पनि गर्नैपर्ने कामहरु बाँकी रहेको भन्दै सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरे ।

अघिल्ला बैठकमा अरुमा यसरी आग्रह गर्दा नाराबाजी नरोकेपछि बैठक स्थगित हुन्थ्यो । बिहीबार सभामुखले नाराबाजीका बीच संसदको कारबाही अगाडि बढाए । विपक्षी बेञ्चमा रहेका राप्रपा र लोसपाका सांसदहरु उठेर विरोध गरे, तर रोकिएनन् । उनले विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

वेलमा रहेका कांग्रेस सांसदहरुले सभामुखतर्फ प्रश्न गर्दै चर्को नाराबाजी गरे । सभामुख पनि चर्को स्वरमै राष्ट्रपति कार्यालयबाट आएको अर्को पत्र सुनिने गरी वाचन गर्न थाले । कांग्रेस सांसदहरुले चर्को नाराबाजी गरेपछि केहीबेर रोकिए ।

सभामुख फेरि अगाडि बढे । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद हेरफेरसम्बन्धी पत्र वाचन गरे । लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीले बोल्न समय मागेको र बोल्न दिनुपर्छ भन्ने आवाज उठेको भन्दै समय दिए ।

सभामुखले समय दिइसक्दा नसक्दै कांग्रेस सांसदहरु गृहमन्त्रीलाई रोक्न लागे भने सत्तारुढ सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बोल्न दिनुपर्छ भनेर हुटिङ गरे । यसले संसदमा तनाव बढायो । गृहमन्त्रीलाई छेक्न कांग्रेसका सांसद धनराज गुरुङ सत्तापक्षको बेन्च नजिक पुगे ।

‘संसदीय छानबिन समिति गठन गर’ भनेर नारा लगाइरहे । छेउमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो सिटबाट उठेर ‘तपाईं यहाँ उभिने होइन, हट्नुस्’ धनराजतर्फ अघि सरे ।

गुरुङले पनि ओलीतिर फर्किएर चर्को स्वरमा नारा लगाइरहे । ओली र गुरुङ मुखामुख भएपछि कांग्रेस र एमाले वेलमै आमुन्नेसामुन्ने भए । एमाले सांसदहरु कांग्रेस सांसदहरुलाई धकेल्दै गृहमन्त्री लामिछानेलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोज्दै थिए । कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेलाई बाटो नदिन लागे । त्यसक्रममा दुवै दलका सांसदहरुबीच धकेलाधकेल भयो । त्यसपछि सभामुखले बैठक स्थगित गरे ।

नेपालको संसदीय इतिहास मुठभेडको स्थिती सिर्जना भएको यो पहिलो घटना होइन । र अन्तिम पनि होला भन्न सकिने आधार छैन । यसअघि पनि कयौं झडप र मुठभेडहरू भएका छन् । र आगामी दिनमा पनि हुनेछन् ।

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता–प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबेला धकेलाधकेल हुने गरेका छन् ।

२०५० साउन ६ गते
राष्ट्रिय सभाको बैठकमा एमाले सांसद गोल्छे सार्कीले मन्त्री रामचन्द्र पौडेलमाथि झापड प्रहार गरेका थिए । सांसद सार्कीले रोस्ट्रमबाट आफ्नो धारणा राखेर फर्किने क्रममा मन्त्री पौडेलको आसनतिर गई थपड हानेका थिए । स्थानीय विकासमन्त्री रहेका पौडेलले त्यतिबेला गृहको पनि जिम्मेवारी सम्हालिरहेका थिए ।

मन्त्री पौडेलले आफू बोलिरहँदा गिज्याएको र आफू उत्तेजित भएपछि थप्पड हानेको बताएका थिए । सार्कीलाई अध्यक्ष बेनीबहादुर कार्कीले सात दिनका लागि निलम्बन गरेका थिए ।

२०५० चैत ११ गते
प्रतिनिधिसभा बैठकलाई उपसभामुख महन्थ ठाकुरले चलाइरहेका थिए । त्यसबेला प्रमुख प्रतिपक्षी एमाले थियो । एमालेले खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) माथि मतविभाजन माग ग¥यो । सत्तापक्षका धेरै सांसद अनुपस्थित भएकाले त्यस्तो माग गरिएको थियो ।

परिणाम घोषणा गर्नेबेलामा सत्तापक्षीय सांसद बालाराज कार्की र प्रकाश कोइराला सभामा प्रवेश गरेर मतदानमा भाग लिन पाउनुपर्ने माग राखे । उता प्रतिपक्षले परिणाम सुनाउन दबाब दियो । परिणाम सुनाउँदा सत्तापक्ष हार्ने निश्चित थियो । होहल्लाका बीच बैठक स्थगित भयो । त्यसपछि सदनमा झडप सुरु भयो । उपसभामुख ठाकुरमाथि पनि चड्कन प्रहार भएको थियो । कुर्सी तोडफोड भयो । हानाहानमा कुर्सी, माइकका डण्डीदेखि चुरोटका बट्टासमेत प्रहार भएका थिए ।

२०५५ असोज १ गते
यस दिनको बैठकमा ‘स्थानीय स्वायत्त शासन विधेयक’ कार्यसूचीमा थियो । सभामुखले स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठलाई विधेयक प्रस्तुत गर्न समय दिनासाथ एमालेका सांसदहरुले विरोध सुरु गरे । उसका सबैजसो सांसदहरू रोस्ट्रमतर्फ लागे । मर्यादापालकले रोक्ने प्रयास गरे । त्यसपछि सत्ता पक्ष र विपक्षीबीच झडप सुरु भयो । सदन २० मिनेटसम्म रणभूमिमा परिणत भयो । संसद् बैठक स्थगित भइरहँदा पनि भिडन्त जारी रह्यो ।

२०५७ फागुन ८ गते
प्रतिनिधिसभा बैठकमा सभामुख तारानाथ रानाभाटले बैठकको सुरुवातमै पर्यटनमन्त्री ओमकार श्रेष्ठलाई बोल्न समय दिए । उनी रोस्ट्रमतिर अघि बढेसँगै एमालेका सांसदहरू पनि उठेर अघि बढे । जबर्जस्ती संसद चलाउन खोजेको भन्दै एमालेले विरोध गर्न थाल्यो । त्यतिबेला मन्त्री रोष्टममा पुगेका मात्रै थिए, एमालेका सांसदहरुले समातेर अगाडि बढ्न दिएनन् । त्यसपछि एमालेका सांसदहरू र मन्त्रीबीच केही बेर हात हालाहाल भयो ।

२०६७ मंसिर ३ गते
व्यवस्थापिका संसद् बैठकमा सभामुख सुवास नेम्वाङले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट वक्तव्य प्रस्तुत गर्न समय दिएका थिए । सोही अनुसार पाण्डे बजेट वक्तव्य राखिएको ब्रिफकेस बोकेर रोस्ट्रमतर्फ जाँदै थिए । माओवादी सांसदहरुले उनलाई घेरे । र, ब्रिफकेस नियन्त्रणमा लिएर फुटाइदिए । बजेट ल्याउने विषयमा सत्तारुढ दल कांग्रेस–एमाले र प्रतिपक्षी माओवादीबीच केही दिनयता विवाद थियो ।

२०६८ पुस ७ गते
यस दिन व्यवस्थापिका–संसद्को बैठकमा बोल्न प्रयासरत थिए, सञ्जयकुमार साह । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् उनले लामो समयदेखि बोल्न पाएका थिएनन् । उनले बोल्ने समय नै पाएका थिएनन् ।

त्यस दिनको बैठक कालिकोटमा भएको मनवीर सुनारको हत्याको विरोधमा भएको अवरोधका कारण स्थगित भएको थियो । स्थगितपछि पनि बोल्न खोजेका साहलाई सभामुख सुवास नेम्वाङले समय दिने अवस्था थिएन, नेम्वाङ बाहिरिए । त्यसपछि साहले तीन वटा माइक भाँचिदिएका थिए । त्यसपछि साह १० दिनका लागि निलम्बित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्