Logo
Logo

यस्तो छ प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको शृँखला


945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको नाराबाजीका बाबजुद प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।

यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो । र, समर्थनसमेत फिर्ता लिएको थियो ।

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । ०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।

यस्तै, २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भये । त्यसपछि पुनः चैत ६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

यस्तै, गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो । त्यसपछि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।

त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए भने प्रस्तावको विपक्षमा ११० मत परेको थियो । प्रधानमन्त्री प्रचण्डलेलाई मत दिन्न भन्नेमा १ मत परेको थियो ।

यस्तै, सोमबार भएको मतदानमा १५८ जना सहभागी थिए । प्रधानमन्त्री प्रचण्डलाई एक सय ५७ मत र विश्वास मत दिन्न भन्नेमा एक मत परेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।

प्रधानमन्त्री प्रचण्डलाई सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।

सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी भएनन् । प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए ।

नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अबरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्