Logo
Logo

राज्य शक्ति र मिडिया शक्तिबीचको लडाइँ


3.4k
Shares

नागरिकताको कुरामा गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया दुवै घिउ बेचुवा र तरबार बेचुवा जस्ता देखिएका छन् । 

अमेरिकी नागरिक भएका रविले पहिलेको नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिए । यसरी दुई वटा पासपोर्ट लिएर बसे । अमेरिकी नागरिक भएर नेपाली पासपोर्टमा विदेश पनि गए । बाबु घाँसीराम मारवाडी र आमा दुवै अङ्गीकृत नागरिकका छोरा भएर वंशजको नागरिकता लिएका छन् कैलाशले । त्यो पनि दुई वटा । जबकि उनका अरू दाजुभाइहरूको नागरिकता अङ्गीकृत नै रहेको छ । 

अहिलेको परिणति कैलाशको मिडिया शक्ति र रविको राज्य शक्ति बिचको द्वन्द्व हो । कैलाश समातिए, तीन दिन हिरासतमा रहने भए । उनीलाई नेपालको प्रेस स्वतन्त्रताको बिम्ब तुल्याइएको छ । 

अङ्ग्रेजी शब्द ‘ककपिट’को एउटा अर्थ कुखुरा लडाउने ठाउँ पनि हो । कुखुरा लड्दा तमासा हेर्नेहरूले अलग अलग कुखुराको पक्ष र विपक्षमा थपडी बजाउने र सिटी बजाउने काम गर्छन् । 

कतिले मनोरञ्जनमा, कतिले हर्ष रेसमा जस्तो आफ्नो बेट पनि लगाएका हुन्छन् । कति नेपथ्यमा पुग्न लागेकाहरूले झिँगे दाउ लगाइरहेका हुन्छन् । तर कुखुरा लडाउनेहरू हम्मेसि देखिँदैनन् । राजनीतिमा यस्ता ‘ककपिट फाइट’लाई पक्ष विपक्षबाट जनताको लागि भनेर टिप्पणी गर्ने गरिन्छ । यस्तो भाष्य बनाइएको छ ।

 तर, वास्तविकता भने यो नितान्त उनीहरूको आफ्नो व्यक्तिगत स्वार्थगत लेनदेनको लागि हो । विभिन्न स्वरूपका यस्ता ‘ककपिट फाइट’को परिणति नै यो मुलुकको सत्ता राजनीतिक नियति बनेको छ। जसको प्रतिफल जताततै ठगहरूको अभ्युदय भएको छ।

हिजो रविको अभियोगमा अन्ततः महान्यायाधिवक्ता प्रयोग गरिएर मुद्दा चलाउन नपर्ने गरी राजनीतिक सौदाबाजी भयो । आजको दिनमा त्यस विरुद्धको रिट दर्ता गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएको छ ।

रविले सत्ता सौदा स्वरूप पाएको उन्मुक्ति के हुन्छ त्यो अलिपछि मात्र थाहा हुनेछ । यसबाट ककपिट फाइटको स्वरूप केही बदलिन सक्ने देखिन्छ । 

अब कैलाशको हकमा को कसरी प्रयोग भएर उनको अभियोगको के हुने छ त्यो हेर्न बाँकी नै छ । ‘ककपिट फाइट’ दुवैले नजित्ने भएपछि आ–आफ्नो बाटो लाग्छन्, लडाकु इज्जत जोगाउँदै। ‘प्रेस स्वतन्त्रता’को बिम्ब र ‘नो, नट एगेन’को प्रतिबिम्ब बनेर । अहिलेको सन्दर्भमा यी दुई बिचको सुलह कसरी हुन्छ या कसरी गराइन्छ त्यो कुखुरा लडाउनेहरूले तय गर्नेछन् । लड्नेले होइन । चेतना भए।

प्रतिक्रिया दिनुहोस्