Logo
Logo

विद्या भण्डारी राजनीतिमा आउने संकेत

राष्ट्रपति हुँदा नै पार्टीमा पकड


3.9k
Shares

काठमाडौं । शीतलनिवासबाट बिदा भएदेखि पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छिन् । एमालेका नेता कार्यकर्ताले पार्टीभित्रको एकाधिकार तोडाउन भण्डारीको साथ खोजेपछि उनी निरन्तर संवादमा रहेकी हुन् । देशभरका एमाले कार्यकर्ताहरुले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको एउटा शक्ति केन्द्रको रुपमा हेर्न थालेका छन् ।

२०७९ फागुनमा शितल निवासबाट विदा भएपछि भंगालस्थित आफ्नो निवासमा केही समय अगाडि केही सञ्चारकर्मीहरुलाई बोलाएर आफूले एमालेभित्रको गतिविधिलाई नजिकबाट नियालिरहेको बताएकी थिइन । त्यसयता उनले एमालेका धेरैजसो नेता कार्यकर्ताहरुसँग पार्टीको भविष्य र नेतृत्वमा आउन चाहने नेताहरुबारे चासो राख्दै आएकी छन् ।

२०७२ साल कात्तिक ११ गते नेपालको व्यवस्थापिका–संसदबाट पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् विद्यादेवी भण्डारी । त्यतिबेला उनी विश्वकै २६औं महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी थिइन् । पहिलो कार्यकालमा खासै विवादमा नपरेकी राष्ट्रपति भण्डारी २०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भइन् ।

उनी राष्ट्रपति निर्वाचित भएको घोषणा, पूर्व छापामार पृष्ठभूमि हुँदै संसदको सभामुख भएकी अर्की महिला ओनसरी घर्तीले गरेकी थिइन् । भण्डारीले ०७४ फागुन ३० गतेदेखि राष्ट्रपति पदको दोश्रो कार्यभार सम्हालेकी थिइन । राष्ट्रपति हुनुअगाडि नेकपा एमाले पार्टीकी उपाध्यक्ष एवं महिला संगठनको प्रमुख रहेकी भण्डारीले राष्ट्रपति निर्वाचित भएपछि पनि एमाले पार्टीमा आफ्नो पकड भने कायम राख्न सफल भएको देखिन्छ ।

राष्ट्रपति भण्डारी पार्टीको साधारण सदस्यसमेत नहुँदा पनि पार्टीमा हस्तक्षेप गर्न र आफ्नो पक्षकालाई ‘सेटिङ्ग’ मिलाउन कति खप्पिस हुन भन्ने कुरा केही नियुक्तिका घट्नाक्रमले पनि पुष्टि गर्दछ । त्यसकै परिणाम अहिले पनि एमालेभित्र उनको बलियो पकड रहेको छ ।

एमालेका नेताहरुसँग निरन्तर भेटघाट गरेको नजिकबाट हेरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८० साउन २८ मा ‘भेट्नु ठूलो कुरा होइन, तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न’ भनेर टिप्पणी गरेका थिए । यसपछि पनि भण्डारीले एमालेका शीर्ष नेताहरुसँगको भेटघाटलाई निरन्तर जारी राख्दै आएकी छन् ।

पछिल्लोपटक एमाले अध्यक्ष ओलीको चाहनामा भण्डारीलाई पार्टीका तर्फबाट ‘गणतन्त्र गौरव’ पदकले सम्मान गरियो । पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीतिमा चासो राख्न थालेपछि ओलीले एकपछि अर्को गर्दै उनलाई छेक्ने कसरत गरिरहेका छन् । भण्डारीले राष्ट्रिय राजनीतिको साथै पार्टीगत राजनीतिमा पनि चासो राखेकी छन् ।

एमालेको जनवर्गीय संगठनहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई कार्यक्रममको प्रमुख अतिथि बनाउन लागेपछि चासो बढ्दै गएको हो । जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने त्यसमा उपस्थिति जनाउने अवस्था आएपछि उनको राजनीतिक चासो बढ्दै गएको हो ।

नेकपा एमालेका अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान ग¥यो । एमालेले पार्टी स्थापनाको हीरक महोत्सवमा वैशाख १० गते पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष भण्डारीलाई सम्मान ग¥यो । यसपछि पनि एमालेका धेरै नेताहरुले भण्डारीसँग भेटघाट गरेर पार्टीभित्रको अवस्था र अहिले जारी रहेको जिल्ला अधिवेशनको परिणामबारे कार्यकर्ताहरुले जानकारी गराएका छन् ।

२०७९ फागुनमा राष्ट्रपतिबाट बिदा भएकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले गत साउनको अन्तिम साता एउटा कार्यक्रममा राष्ट्रिय सम्मान लिएर बस्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए ।

भण्डारीलाई फेरि एमाले राजनीतिमा ल्याएर अध्यक्ष बनाउनुपर्ने भन्दै ‘लबिङ’ गरिरहेका केही नेता ओलीको तारोसमेत बनेका थिए । तर उनी यतिबेला आफै राजनीतिक रुपमा सक्रिय हुन थालेको बताइएको छ । उनकी छोरी उषा किरण भण्डारी थापालाई ओलीले राष्ट्रिय सभा सदस्य हुन गरेको आग्रहलाई समेत अस्वीकार गरेको अवस्थामा भण्डारी आफै राजनीतिमा आउन लागेकी हुन कि भन्ने आंशका बढ्दै गएको छ ।

ललितपुरको गोदावरीमा पार्टी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएपछि राजनीतिमा भण्डारीको पुनरागमन रोकिएको हो कि भन्ने शंका पनि थियो तर महिला भेलामा उपस्थित हुने भनेपछि फर्केने सम्भावना बढेको एमालेका एक नेताले बताएका छन् ।

‘गणतन्त्र गौरव’ सम्मानले उनलाई राजनीतिमा तान्न खोजिएको हो वा व्यवस्थापन गर्न सहज होस् भनेर अनुमान लगाउन सकिएको थिएन, अहिले महिला भेलामा सहभागी हुने जानकारी दिएपछि पुनरागमनको संभावना बढेको छ ।

भण्डारीलाई एमाले जनवर्गीय संगठनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ । जनसंगठन समन्वय संयन्त्रको बैठकले जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने र पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि महिलाहरुले भण्डारी निवास पुगेर औपचारिक निम्तो दिइसकेका छन् ।

यसले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको संकेत गर्छ । एमालेभित्रका केही नेताले वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर पनि लबिइङ गरिरहेका छन् ।

शितलनिवासबाट फर्केपछि भण्डारीले आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा पार्टीभित्र समस्या आए आफू टाढाबाट टुलुटुलु हेरेर नबस्ने बताएकी थिइन् । शीतलनिवासबाट बिदा हुँदा उनले सरकारी सेवासुविधासमेत नलिने बताएकी थिइन ।

भण्डारीको सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छिन् । उनले सरकारले दिएको गाडी २०७९ फागुन २९ मै फिर्ता गरेकी थिइन् । शीतलनिवासबाट बिदा भएपछि उनी आफ्नै निवासमा एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छन् ।

अहिले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा, कर्ण थापा लगायतका नेताहरु भण्डारीको निकट सम्पर्कमा रहेका छन् । पार्टी सचिव योगेश भट्टराइ पनि भण्डारीको सम्पर्कमा रहेका छन् । पूर्वराष्ट्रपति भण्डारीनिकट एक एमाले स्थायी समिति सदस्यले परिस्थितिले नै पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्ने समन्वयकारी व्यक्तिको पनि खोजी गरिरहेकाले भण्डारीलाई पार्टीको सक्रिय राजनीतितिर उन्मुख गराउन खोजेको दाबी गरेका छन् ।

‘पछिल्ला केही गतिविधि हेर्दा र अहिलेको परिस्थितिले नै ढोका खोलेजस्तो देखिन्छ, किनभने पार्टीमा नेतृत्वले नचाहे पनि प्रदेश, जिल्लाका अधिवेशनहरूमा प्यानल निर्वाचन भएको छ, त्यसैले पार्टीलाई अर्को महाधिवेशनसम्म एक ढिक्का बनाएर लैजान र बलियो निर्णायक राष्ट्रिय पार्टी बनाउन पनि उहाँजस्तो व्यक्तित्वको भूमिकाको खोजी हुँदै गएको छ ,’ ती स्थायी समिति सदस्यको दाबी छ ।

पार्टीमा किन सक्रिय हुने ?

मदन भण्डारीको निधनपछि सक्रिय राजनीतिमा सरिक भएकी भण्डारीले पार्टीमा विस्तारै आफ्नो प्रभूत्व कायम गर्दै गइन । नवौँ महाधिवेशनपछि अध्यक्ष केपी ओलीपछिको शक्तिशाली उपाध्यक्षका रूपमा भण्डारीले राष्ट्रपति निर्वाचित भएपछि उनलाई राष्ट्रपतिमा अघि सारियो । त्यसअघि अलग्गै समूह निर्माणको कसरत गरेर पार्टी अध्यक्षको रुपमा आफैलाई अघि बढाउदै थिइन ।

नवौँ महाधिवेशनमा थोरै मतले ईश्वर पोखरेलसँग महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई आफ्नो समूहमा सामेल गराउने गरी दशौँ महाधिवेशनलक्षित उनको तयारी थियो । तर, ओलीको परामर्श र प्रस्तावमा भण्डारी दुईपटक राष्ट्रपति बनिन । यो च्याप्टर क्लोज भएपछि भण्डारीले आफूलाई राष्ट्रपतिका रुपमा मात्र सीमित गरिन ।

सिनियर नेताहरू झलनाथ खनाल र सुवास नेम्वाङ राष्ट्रपतिको आकांक्षी भए पनि वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ लिएर ओलीले भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन सफल भएका थिए । ‘भण्डारीलाई राष्ट्रपति बनाउन ओली मात्र होइन त्यतिबेला माधव नेपालको समेत हात रहेको छ’, भण्डारी निकट रहेका एक एमाले नेताले भने ।

तत्कालीन महासचिव मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि भण्डारी सक्रिय राजनीतिमा आउने थुप्रै नेता–कार्यकर्ताको अनुमान छ । जबजको सिद्धान्तको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दलका रूपमा स्थापित भएकाले राष्ट्रपति भइसकेपछि पनि विरासतका रूपमा भण्डारीलाई प्रमुख नेतृत्व स्विकार्न र पार्टीलाई स्थापित गर्न सहज हुने बुझाइ भएका नेता–कार्यकर्ताको पंक्ति पनि ठूलो छ ।

६१ वर्ष हाराहारी मात्र पुगेकाले पार्टी विधानअनुसार अझै सक्रिय राजनीतिका लागि भण्डारीको १० वर्ष उमेर बाँकी नै छ । जब कि अहिले अध्यक्ष ओली ७२ वर्ष टेकेका छन् भने बहुसंख्यक पदाधिकारी ६० वर्षभन्दा माथिका छन् ।

त्यस्तै, भण्डारीसँग पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोदेखि केन्द्रीय सदस्य र सांसदहरूको ठूलो पंक्ति पनि छ । जसका कारण मुख्यमन्त्री, मन्त्री, सांसदको टिकट, मनोनीत सांसद, संवैधानिक नियुक्तिदेखि पार्टीमा केन्द्रीय सदस्य मनोनीत गर्नेसम्ममा अध्यक्ष ओली भण्डारीको कुरा सुन्नैपर्ने बाध्यतामा छन । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि शक्तिशाली नेताकै रूपमा स्थापित हुन सक्ने बुझाइ एकथरी नेता–कार्यकर्तामा रहेका कारण पनि पार्टीमा स्थापित गराउन खोजिएको छ ।

पार्टीको कार्यक्रममा सहभागी छैनन्

शितल निवासबाट बाहिरिएपछि नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर भेटघाट गर्ने बाहेक पार्टीका आधिकारिक कार्यक्रममा सहभागी भएकी थिइनन् । गत वैशाख १० मा भने पार्टीले आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गर्नुलाई राजनीतिक विश्लेषकहरुले राजनीतिमा आउने नभइ सम्मानीत पोजिसनमा बस्नुपर्ने सन्देश दिन खोजेको भनेर बुझेका छन् ।

राजनीतिमा फर्किने कि नफर्किने भण्डारीको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने राजनीतिक विश्लेषकहरुको बुझाइ छ । भण्डारीको इच्छा पनि राजनीति नभइ सामाजिक कार्यक्रमा सक्रिय हुने रहेको बुझिन्छ । मदन भण्डारी फाउन्डेसनको संरक्षक बनेर त्यसलाई थप सामाजिक काममा क्रियाशील बनाउँदै जनताको बीचमा पुग्ने भण्डारीको इच्छा रहेको उनी निकटका व्यक्तिहरु बताउने गर्छन । तर पार्टीकै नेताहरु भने उनलाई पार्टीमा सक्रिय बनाएर कम्युनिष्ट घटकहरुको एकता होस भन्ने पनि चाहिरहेका छन् ।

यही कारणले जनवर्गीय संगठनकै कार्यक्रममा निम्ताउनुलाई राजनीतिमा स्पेस जीवित छ भनेर बुझ्न सकिन्छ । पूर्वराष्ट्रपति भण्डारीको हालको उमेर, मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि उनलाई सक्रिय राजनीतिमा आउने आधारहरू कार्यकर्ताले देख्ने गरेकाले पनि उनलाई पार्टीको कार्यक्रममा निम्ता दिएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।

राष्ट्रपति हुँदा नै पार्टीमा पकड

राष्ट्रपति भण्डारीले पार्टीमा रहँदा कहिल्यै सुमधुर सम्बन्ध नरहेको र सधैं मनमुटाव चलिरहने पार्टी नेतृ अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बन्नबाट २०७४ माघ २९ गते रोक्न सफल भएकी थिइन । शाक्यको ठाउँमा आफ्नो पक्षका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाइन्। पौडेलभन्दा सिनियर र चर्चामा रहेका शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापितलाई उनले सहजै पाखा लगाएर आफ्नो पकड कायम रहेको देखाएकी थिइन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा एमाले नेता माधव नेपाललाई घटुवा गर्न राष्ट्रपति भण्डारी खुलेरै लागेकी थिइन । पार्टी एकतामा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षद्वयपछिको वरियतामा नेपालको वरियता घटुवा गर्दै वरिष्ठ नेतामा झलनाथ खनाललाई ल्याउन सफल भएकी थिइन् ।

तत्कालीन प्रधानमन्त्री ओली सिंगापुर उपचारमा निस्केका बेला प्रचण्डले बोलाएको नेकपा सचिवालय बैठक राष्ट्रपति भण्डारीसँगको परामर्शपछि मात्रै बसेको थियो । राष्ट्रपति भण्डारीले ओलीको अनुपस्थितिमा नेकपामा प्रचण्डले कुनै निर्णय लिन नसकून् भनेर यो बैठकमा केही नेताहरूलाई चनाखो बनाइएको थियो ।

शक्तिशाली भण्डारी

नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला राष्ट्रपति भण्डारीले सोल्टी होटेलको रात्रिभोजमा गएर चीनको पक्षमा ‘कार्यकारी राष्ट्रपति’ नै उभिएजसरी भाषण गरिन् । त्यो बेला धेरैले त्यसको आलोचना पनि गरेका थिए । ‘सी विचारधारा नयाँ युगको विश्व दर्शन बनेको छ’ उनले भनेकी थिइन् ।

उनको भाषण गैरकूटनीतिक र दलीय आग्रहको अभिव्यक्ति जस्तै भनेर टिप्पणीसमेत गरिएको थियो । नेकपा कालमा पार्टीभित्र उपगुट चलाउनेदेखि सरकारी नियुक्तिमा समेत राष्ट्रपति भण्डारीले चासो लिने गरेको गरेकी थिइन ।

त्यसको परिणाम राष्ट्रपति भण्डारीले धर्मकान्त बाँस्कोटालाई त्रिवि उपकुलपति नियुक्त गराएकोदेखि २०७६ पुसमा नेपाल पर्यटन बोर्डको सिइओ दीपकराज जोशीको कार्यकाल सकिएपछिको नियुक्तिमा समेत उनको हस्तक्षेप थियो भने मन्त्री र मुख्यमन्त्रीमा समेत राष्ट्रपतिको हस्तक्षेप हुने गरेको तथ्य पनि छन् ।

एकपटक उनको भाञ्जी बुहारी नाता पर्ने यामकुमारी खतिवडा उद्योग सचिव हुँदा शीतल निवासकै आडमा मदिरा उद्योग सञ्चालनसम्बन्धीको विधेयक विभागीय मन्त्रीको जानकारीबिनै अगाडि बढाइएको थियो ।

यस्तै, थममाया थापामगर मन्त्री बन्ने कुरा, गण्डकीमा पृथ्विसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने कुरादेखि राष्ट्रपतिकै कोटाबाट राष्ट्रियसभा सदस्य हुँदै प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा परराष्ट्रमन्त्री भएकी विमला राई पौडेललाई मन्त्री बनाउने कुरामा पनि राष्ट्रपतिको चासो थियो । यसैगरी, पार्टी, सरकार र प्रशासनमा शितल निवासबाटै पार्टीमा पकड कायम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्