Logo
Logo

कस्तो रहला नेपालको टी-२० विश्वकप ? 


756
Shares

काठमाडौं । नेपालले अहिलेसम्म खेलकुद क्षेत्रतर्फ विश्वकपमा सहभागी जनाएको छ भने त्यो हो– आइसिसी टी-२० विश्वकप । योबाहेक अन्य कुनै पनि खेलको विश्वकपमा नेपालले स्थान बनाउन सकेको छैन ।

१० वर्ष अगाडि सन् २०१४ मा पारस खड्का नेतृत्वको राष्ट्रिय टोलीले टी-२० विश्वकप खेल्दा नेपाली क्रिकेटले एउटा नयाँ युगको सुरुवात गरेको ठानिएको थियो । 

त्यसबेला नेपालले गरेको प्रभावशाली प्रदर्शन र नेपालको क्रिकेट क्रेज देखेर सबै मुग्ध बनेका थिए । त्यही इतिहास दोहो¥याउने यात्रामा अहिले दोस्रो पटक नेपालले टी– टी-२० विश्वकप खेल्दै छ । 

टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण सुरु भइसकेको छ ।  सह–आयोजकले अमेरिकाले सुखद सुरुवात गरिसकेको  छ । आज भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । 

नेपालले आफ्नो पहिलो खेल आगामी मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेल्ने छ । टी–२० विश्वकपमा एक दशकपछि फर्किएको नेपालको कस्तो प्रदर्शन गर्ला भन्ने सबैको चासोको विषय बनेको छ । 

नेपाली टोलीको नेतृत्व टी–२० विश्वकप इतिहासकै सबैभन्दा कान्छा कप्तान रोहित पौडेलको काँधमा छ । टोलीमा कप्तान रोहित पौडेलसँगै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । 

ओपनिङ जोडीमा नियमित ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख रहनेछन् भने वैकल्पिक ओपनरमा विकेटकिपर समेत रहेका अनिल साह रहेका छन् । यी तीन जनासँगै रोहित पौडेल र सन्दीप जोरा पनि प्रमुख ब्याटर हुन् । 

अलराउन्डरमा कुशल मल्ल, दीपेन्द्रसिंह, गुलशन, करन, सोपाल र कमलसिंह ऐरी रहेका छन् । बलरमा सागर ढकाल, अविनाश बोहोर, ललित राजवंशी र प्रतिस जीसी रहेका छन् । 

नेपालको प्लेइङ–११ मा बलिङमा कम्तीमा ७ विकल्प हुनेछ । कुशल भुर्तेलले लेग स्पिन र रोहित पौडेलले अफ स्पिन बलिङ गर्दै आएका छन् । विपक्षी टोलीमा बायाँ हाते ब्याटर बढी हुँदा रोहित आफैं बलिङमा आउने गर्छन् । 

तीव्र गतिका बलरमा सोमपाल कामी, करण के.सी, अभिनाश बोहोरा, प्रतिश जिसी, गुल्शन झा र कमलसिंह ऐरी छन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले प्रमुख स्पिनरको भूमिका पनि निर्वाह गर्ने गर्छन् । 

यसपटकको टी–ट्वान्टी विश्वकममा २० देशको सहभागीता रहेको छ । विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिम क्षेत्रीय छनोट चरण पार गर्दै छनोट भएका हुन् । 

अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सिँधै छनोट भएका थिए । अमेरिका र वेस्ट इन्डिज आयोजकको रुपमा छनोट हुँदा आइसिसी विश्व वरीयताका २ टिम अफगानिस्तान र बंगलादेश रहेका छन् । 

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो । जसबाट अफगानिस्तान र बंगलादेश परेका हुन् । क्षेत्रीय छनोटबाट नेपाल, क्यानडा, आयरल्याण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड, पपुवा न्युगिनी र युगाण्डा छनोट भएका हुन् । 

विश्वकपको नेपालले क्रिकेटमा शक्तिशाली मानिने केही राष्ट्रहरुसँग खेल्न पाउने छ । समूह डीमा रहेको नेपालको प्रदर्शनलाई आधार मान्दा नेपाल तुलनात्मक रूपमा कमजोर टोली हो ।

टेस्ट राष्ट्र दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकासँगै अर्को बलियो एसोसिएटेड टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दा नेपाल दबाबमा हुने छ । नेपाललाई बलिया टोलीसँगको खेल एउटा महत्त्वपूर्ण अवसर र बलिया राष्ट्रलाई भने हराउनु पर्ने चुनौती रहने छ । 

लिग चरणमा प्रत्येक चार समूहका शीर्ष दुई टोली छनोट हुने छन् भने बाँकी तीन टोली बाहिरिनेछन् । चार समूहबाट छानिएका आठ टोलीलाई दुई भागमा विभाजन गरी खेलाइनेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । र, त्यसका विजेताहरू बिच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।

कस्तो रहला नेपालको प्रदर्शन 

सन् २०१४ को टी-२०  विश्वकपमा नेपालले हङकङ, बङ्गलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । त्यसबेला नेपाल बङ्गलादेशसँग हारेको थियो भने अफगानिस्तान र हङकङलाई हराउन सफल भएको थियो । नेट रनरेटका आधारमा मात्रै नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको थियो । 

तर, यसपटक पहिलजस्तो फम्र्याट छैन । विश्वकपमा छानिएका सबै २० राष्ट्रलाई चारवटा समूहमा विभाजन गरिएको छ । ती समूहको शीर्ष स्थानमा रहने २–२ टिम सुपर एटमा प्रवेश गर्नेछन् । त्यसैले नेपालले समूह चरणमै बलिया टेस्ट् राष्ट्रको सामना गर्नुपर्नेछ । 

सन् २०१४ र अहिलेको अवस्थालाई हेर्ने हो भने नेपाली क्रिकेट एक स्टेप माथि बढेको देखिन्छ । सुरुवाती चरणमा नेपालले दबाब सिर्जना गर्न सके राम्रो नतिजा ल्याउन सक्ने देखिन्छ ।

किनभने जुनसुकै राम्रो टोलीलाई पनि टी–ट्वान्टीमा कमब्याक गर्न गाह्रो हुने गर्छ । तर, सुरुवाती दबाब सिर्जना गरेर कस्तो परिस्थितिमा कसरी खेलिन्छ भन्ने पक्ष पनि महत्त्वपूर्ण हुन्छ । 

त्यसो त बलिया देशका स्टार खेलाडी आइपिएलमा आफ्नो रवाफ देखाएर देशको प्रतिनिधित्व गर्न अमेरिका र क्यारेबियन भूमि पुग्दैछन् । आइपिएलमा केही चलेका नामको फितलो प्रदर्शन र केही चल्न नसकेका स्टारको उदयले टी–२० विश्वकप थप रोमाञ्चक हुने आंकलन गरिएको छ । यद्यपि नेपाल तयारीभन्दा आफ्नो बलियो आत्मविश्वासलाई मैदानमा कायम राख्दै विश्वलाई ‘सरप्राइज’ नतिजा दिने प्रतीक्षामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्