Logo
Logo

अर्थमन्त्रीका कारण सत्ता गठबन्धन नै धरापमा


2.8k
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले सत्ता गठबन्धन नै धरापमा पर्दै गएको छ ।

सत्तापक्षका नेताहरूले बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै विपक्षी दलहरूको बैठकमा सहभागी पनि भएपछि वर्तमान सत्ता गठबन्धनमा मतभेद देखा परेको हो । आइतबारबाट संघीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ ।  

छलफलका क्रममा सत्ताका मुख्य चार घटकमध्ये एमालेले समेत बजेटको विरोध गरेको छ । एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीका सांसदले पनि बजेटप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

एकातिर सत्ता सहयात्री दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको बैठकमा सहभागी हुँदै आएका छन् भने अर्कोतिर एमाले अध्यक्ष ओली नै बजेटको आलोचनामा उत्रिएका छन् । बजेटमाथि ओलीले गरेको टिप्पणीबाटै गठबन्धनभित्र ठूलै पराकम्पपन उत्पन्न भएको संकेत गर्छ । 

अहिले अर्थमन्त्री वर्षमान पुनका कारण गठबन्धनभित्र मतभेद भएको हो । बजेटमाथि गम्भीर त्रुटि भएको एमाले अध्यक्ष ओलीको दाबी छ । ओलीले बजेटका नकारात्मक पक्षबारे खुलेरै आलोचना गरेका थिए । त्यति मात्रै होइन, आफ्ना सांसदहरूलाई बजेटका नकारात्मक पक्षको आलोचना गर्न निर्देशन नै दिए । 

गत शनिवार ओलीले एमाले संसदीय दलको बैठकमा अर्थमन्त्रीले परामर्श नगरी बजेट ल्याएको बताएका थिए । उनले भनेका थिए, ‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट आइएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि ? अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढ्ता देखिन गएको छ र रकमको बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ ।’

सत्ताको प्रमुख घटक एमाले अध्यक्ष ओलीको यो टिप्पणी त्यति आएको होइन, त्यसका पछाडि ओलीलाई उत्तेजित गराउने केही घट्नाक्रमहरु जोडिएका छन् । ओलीको निदर्शन अनुसार नै आइतबार बजेटमाथिको छलफलका क्रममा एमाले सांसद्हरुले बजेटको आलोचना गरेका थिए । 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि सत्तामा रहेका सबै दलले एक ठाउँमा उभिएर अपनत्व लिने गरी बजेट नआएको बताए । अर्थमन्त्रीले सत्तासीन दलहरूसँग समन्वय र छलफल गरेको भए बजेटमा रहेका कमीकमजोरी नहुने र बजेट व्यवस्थित हुनुका साथै सबैले अपनत्व लिन सक्ने खालको हुने थियो भन्ने विषयलाई पार्टी अध्यक्षले उठाएको बर्तौलाले प्रस्ट पारे ।

आइतवार ओली र प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । भेटवार्ताबाट निस्किँदै बजेटबारे ओलीलाई प्रश्न गरिएको थियो । त्यस क्रममा पनि बजेटबारे असन्तुष्टि नरहेको बताउँदै उनले भने भने, ‘छलफल भएको भए राम्रो हुन्थ्यो ।’

आइतबार नै ओली गठबन्धनका एक मन्त्रीप्रति नाम नलिई आलोचनात्मक टिप्पणी गरे । ओलीले भनेका थिए, ‘एक देशमा एउटी चेली कुन देशमा कता गएर पढिन्, कता गएर बिहे गरिन्, के भयो अनि ती आफ्नो माइती देशमा गइन् अरे ।’ 

उनले थपे, ‘माइती देशमा त असन्तुष्टि अस्तव्यस्तता युवाहरूमा त्यतिकै कस्तो कस्तो के कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थिति । को उठ्छ भन्दा म उठ्छु भन्ने खालको, सांसदमा को उठ्छ भन्दा म उठ्छु भन्ने खालको । कसलाई चाहिएको समानुपातिक भन्दाखेरि सांसद भइन् अरे, मन्त्री भइन् अरे ।’

उनको यो कटाक्ष राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठप्रति थियो । उनले त्यसलाई आकाशबाट वर्षा हुँदा माछा झरेको प्रसङ्गसँग पनि जोड्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए– ‘यस्तो कहिलेकहीँले हुन्छ, आकाशबाट पानी पर्दा माछा खस्छ । ‘एकपल्ट माछा खस्यो भने कसैले पकाएर खायो । अर्कोपल्ट पनि माछा मार्न गएर पानी परेका बेला खसिहाल्छ भनेर आश गरेर बस्यो भने हुँदैन ।’

ओलीले यसरी गठबन्धनप्रति असन्तुष्टि जनाउनुको मुख्य कारण भने अर्थमन्त्री पुन नै हुन् । मन्त्रालय मातहतमा गरिएका केही नियुक्तिहरूमा मन्त्री पुनले ओलीलाई बाइपास मात्रै गरेका छैनन्, पूर्णता निषेध नै गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल पुनर्बीमा कम्पनी हुँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा मन्त्री पुनले देखाएको व्यवहारका कारण ओली यतिसम्म चिढिएका छन् । त्यसैले उनले अहिले सरकारमाथि नै आक्रोश पोखिरहेका छन् । 

सर्वाधिक चासो रहेको राष्ट्रिय वाणिज्य बैंकको सीईओ एमालेले लिने समझदारी बनेको थियो । एमालेले नेपाल बैंकका पूर्व सीईओ कृष्ण अधिकारीलाई अघि सारेको थियो । ओलीको इच्छाविपरित मन्त्री पुनले देवेन्द्र रमण खनाललाई सीईओ बनाई दिए । मन्त्री पुनले अधिकारीलाई सीईओ नबनाएपछि ओली झनै आक्रोशित बने ।

त्यसको केही दिनपछि नै नेपाल पुनर्बीमा कम्पनीले नयाँ सीईओ पायो । त्यहाँ पनि मन्त्री पुनले ओलीको चाहना विपरिद सुरेन्दै थापालाई सीईओ बनाए । ओलीले नेपाल पुनर्बीमा कम्पनीमा श्रीमान कार्कीलाई सीईओ बनाउन चाहेका थिए । 

एकपछि अर्काे नियुक्तिहरूमा आफूलाई बाइपास गरेपछि ओली यति चिढिए कि अन्ततः गठबन्धन नै फेर्ने मुडमा पुगेका छन् । गठबन्धनका सुत्राधारबाट नै गम्भीर धोका पाएपछि ओली आफू निकटस्थहरुसँर्ग छलफल गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्