Logo
Logo

माथागढीका किशोरीमा सेनिटरी प्याड बनाउने तालिम


11.2k
Shares

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-६, गोठादीकी गुनिसरा ढेंगा यति बेला सेनिटरी प्याड बनाउन ब्यस्त छन् । उनी भर्खर कक्षा १२को परीक्षा दिएर बसेका विद्यार्थी हुन् ।

फुर्सदको समयमा गाउँपालिकाले दिएको सेनिटरी प्याड बनाउने तालिम लिन पाउँदा ढेंगा खुसी छन् । ‘परीक्षापछि के गर्ने अन्योलमा थिएँ, नजिकै गाउँपालिकाले प्याड बनाउने तालिम संचालन गर्दा धेरै खुसी छु ।’ उनले भने, ‘अहिलेसम्म कुनै तालिम लिएका छैन्, पालिकाले जीवन उपयोगी तालिममा सहभागी गराएको हुँदा खुसी छु ।’

‘कक्षा १२ को परीक्षा दिने ३० जना विद्यार्थी मध्ये तीन जना साथीले तालिम लिएका छौँ’, ढंगाले थपे । माथागढी गाउँपालिका-४ झडेवाका अमृता सिंजाली पनि यो तालिममा सहभागी भएका छन् । उनले स्नातक दोस्रो वर्ष अध्ययन गर्दै छन् । आफ्नै गाउँघरमा तालिम सिक्न पाउँदा उनी दंग छन् ।  ‘बिहानमा किसान बहुमुखी क्याम्पसमा पढ्ने, दिउँसोको समयमा तालिम सहभागी भएकी छु ।’ उनले भने, ‘म मात्र हैन, सँगै पढ्ने ६/७ जना नै यो तालिम सहभागी छौँ । किताबी ज्ञान मात्रले हुँदैन, व्यवहारिक ज्ञान पनि आवश्यक पर्छ, त्यसैले तालिम लिएका हौँ ।’

स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने झडेवा खापुकका भगवती सिंजालीले तालिमले स्वावलम्बन बनाउन सहयोग पुगेको बताए । उनले तालिम महिलाको लागि उपयोगी भएको बताए । ‘सिप सिके स्वरोजगार बन्छौँ, हैन भने आफैका लागि उपयोगी बन्छ, त्यसैले पनि यो तालिम लिएको हो’, सिंजापतीले भने ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष शंकर दलार्मीले सिप विकास तालिमले महिलाहरूलाई उद्यम तर्फ आकर्षण गर्ने बताए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम लालु गरी गाउँपालिकाले तालिममा सहभागी महिलालाई उद्यम तर्फ अघि बढाउने प्रयास गरेको बताए ।

गाउँपालिका उपाध्यक्ष विष्णु माया लुङ्चेले तालिम महिलाहरूको लागि अति आवश्यक रहेको बताए । महिलाको स्वास्थ्यसँग जोडिएको विषय भएकाले किशोरी अवस्थामा रजस्वला भएपछि आवश्यक पर्ने सेनिटरी प्याड बनाउने तालिम विशेष गरी ग्रामीण क्षेत्रका हरेक महिलाले लिनुपर्ने बताए । समय अनुसार किशोरीहरू चेतनशील बन्दै गएको हुँदा तालिम पछि उद्यमी बन्नेमा विश्वस्त रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले किशोरी अवस्थामा रजस्वला भएपछि आवश्यक हुने प्याड, अनि प्याड बनाउने तालिममा धेरै किशोरीको सहभागिता हुँदा खुसी लागेको बताए । ‘महिनावारी प्राकृतिक रुपमा हुने कुरा हो, यसमा लजाउनुपर्ने कुनै विषय छैन । आमाहरूले जस्तो पनि कपडा प्रयोग गर्नुभयो । अहिलेका किशोरीहरू सचेत छन् र आफैका लागि आफैले सेनिटरी प्याड बनाउने तालिममा किशोरीहरूको उत्साहजनक उपस्थिति देख्दा निकै खुसी छु ।’ उनले भने । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले किशोरीहरूको स्वास्थ्य संवेदनशील हुने भएकाले बेलैमा सचेतनाका लागि पनि तालिमको आयोजना गरिएको बताए । घिमिरेले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष महत्त्व दिएर काम गरिरहेको बताए ।  

माथागढी गाउँपालिकाले आयोजना गरेको तालिम १० दिनको हो । तालिममा गाउँपालिकाका २६ जना महिलाको सहभागिता छ । कपडाको सेनिटरी प्याड बनाउने तालिमको प्रशिक्षण सहजकर्ता लिला खाम्चाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्