Logo
Logo

माधवको ‘यू-टर्न’, ओलीको टाउको दुखाइ


6.6k
Shares

काठमाडौँ । जनताको बहुदलीय जनवाद (जबज)लाई एमाले र एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र पेचिलो बहस छ । एमालेमा एकमतले जबज भने पनि एकीकृत समाजवादीभित्र भने समाजवादी विचारधारा निर्माण गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । 

मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई कम्युनिष्ट सिद्धान्त भन्दै एमालेले अहिले पनि यही विचारधारालाई बोकिरहेको छ । एमालेमा रहँदा माधव नेपाल र झलनाथ खनालले पनि जबजलाई राजनीतिक सिद्धान्त मानेका थिए । एमालेबाट छुट्टिएर एकीकृत समाजवादी बनेपछि पनि मदनकै सिद्धान्तलाई बोक्यो । 

तर, पछिल्लो समय जबजको विषयमा नेकपा एकीकृत समाजवादीभित्र फरक ढंगले बहस गर्न थालेको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल पनि जबजबाट समाजवादमा पुग्न सकिन्न भन्नेमा सहमत बन्न पुगेका छन् । तर, अहिले पनि जबजप्रतिको माया र त्यसको पेरिफेरिमा एमाले अध्यक्ष केपी ओलीको बचाउ भने गरिरहेका छन् । 

माधव नेपालले पनि जबजबाट समाजवादी क्रान्ति सम्पन्न नहुने धारणा राखेपछि नेकपा एसभित्र जबजले मुलुकको राजनीति सहि दिशामा जाँदैन भन्ने विचारधारा राख्दै आएका झलनाथ खनालको भने नैतिक जित भएको जस्तो देखिन्छ । 

झलनाथ खनाल एक्लैले पहिलेदेखि नै जबजबाट समाजवादी क्रान्ति सम्पन्न नहुने भन्दै वैचारिक रुपमा फरक मत राख्दै आएका थिए । खनालले अहिले पनि जबजको राजनीतिक उद्देश्य समाप्त भइसकेको दाबी गरिरहेका छन् । 

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गरे । 

उनले भने, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सार्याे अरू पार्टीले भन्न सकेका छैनन् । हिजो नवौँ महाधिवेशनले पनि धेरै गलत कुराहरू अगाडि सार्याे । जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु ?’

अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गर्दै आफ्नो पार्टीले वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजाने बताए । उनले भने, ‘हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौँ । अहिले समाजवादी मोर्चा नयाँ ढंगले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौँ । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाऊ भन्दै हुनुहुन्छ । त्यसैगरी अशोक राईको समूहले पनि मिलेर जाऊँ भन्दै हुनुहुन्छ, अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाऊँ भनिरहेका छन् । त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौँ। यी सबै वामपन्थी शक्तिहरूलाई मिलाएर एकताबद्ध बनाएर हामी अगाडि बढ्छौँ ।’

माधव नेपाल उनै नेता हुन् जो आजभन्दा चार महिना पहिले मात्रै पनि जबजको विकल्प नभएको दाबी गरिरहन्थे । एमालेले अंगिकार गरिरहेको जबजलाई राजनीतिको प्रमुख लाइन भन्दै त्यसको पक्षपोषण गरिरहेका माधव नेपाल जबजप्रति कट्टर पनि देखिन्थे । 

माधव नेपालले एमालेसँगको सहकार्यको ढोका खुला गर्नलाई पनि यस्तो बताएको धेरैले आशंका गर्ने गरेका थिए । ओली पनि जबजका कट्टर समर्थक देखिएकाले माधवले बोलीमा लोली मिलाएको शंका गरिन्थ्यो । तर, पछिल्लो समय ओली माधवप्रति अनुदार पेस हुने गरेका मात्रै छैनन्, पार्टीलाई दक्षिणपन्थी शक्तिसामु लगेर बुझाएको गम्भीर आरोप लगाइरहेका छन् । 

ओलीले माधव नेपालमाथि गम्भीर आरोप लगाउने क्रम नरोकिएपछि माधव समाजवादी मोर्चा र समाजवादी कार्यक्रम तयार पार्नुपर्ने ठाउँमा आइपुगेको धेरैको आंकलन छ । हुनत, केही दिन पहिले मात्रै पनि माधवले प्रचण्डको प्रशंसा गर्दै ओलीलाई धेरै मुर्मुरिन नहुने सुझाव नै दिएका थिए । 

साना कम्युनिष्ट पार्टीहरू समाजवादी मोर्चाको अभ्यासमा जुटेका छन् । कम्युनिष्ट भनेर मात्रै नहुने भन्दै उनीहरूले समाजवादी राजनीतिक विचारधारा निर्माण गर्ने र बृहत्तर एकता र कार्यगत एकताको अभ्यास गर्न खोजिरहेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीको विभाजनपछि केही सेलाएको समाजवादी मोर्चा फेरि सक्रिय बन्ने संकेत देखा परिरहेको छ । यस्तोमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा लगायत दलहरू फेरि कसिलो मोर्चाको तयारीमा छन् ।

यता, एमाले भने एक्लैले बहुमत ल्याउने भन्दै कस्सिएका कारण पनि झस्किएका शक्तिहरू अब राजनीतिक विचारधारामै नयाँपन दिने गरी अघि बढ्न खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्