Logo
Logo

सबै ज्येष्ठ बन्ने भएकाले बुवा आमाको सेवा गरौँ: भगवती चौधरी


126
Shares

कावासोती । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबच्चा तथा युवाहरू ज्येष्ठ नागरिक बन्न सक्छौँ भन्ने विषय कसैले भुल्न नहुने बताएका छन् ।

रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेश र राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वयमा, गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि एक महिने ब्युटिसियन तालिम आयोजित कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व नवलपरासीको कावासोतीमा भएको कार्यक्रममा उनले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनै पनि सन्तानले भुल्न नहुने बताए । ‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको छ’, मन्त्री चौधरीले भने, ‘त्यो कुराको अन्त्यका निम्ति सबै पालिकामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनपर्छ । त्यहाँ उनीहरू आ–आफ्नो अनुभव साटासाट गर्छन् । जसले गर्दा उनीहरूको रिफ्रेसमेन्ट हुन्छ र उसको बाँच्ने उमेर केही वृद्धि हुन सक्छ ।’

पालिका आफैँले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्न सक्ने उनको भनाई छ । दिवा सेवा केन्द्रमा आएर ज्येष्ठ नागरिकहरू भलाकुसारी गर्दा उनीहरूको आयु पनि लामो हुने मन्त्री चौधरीले बताए ।  मन्त्री चौधरीले हकवाला कोही नभएका, सन्तान नभएकाहरुका लागि ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्ने भन्दै आवस्यक केन्द्र बनाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री चौधरीले सन्तानले बुवा आमालाई वृद्धाश्रम तथा सेवा केन्द्रमा छाडेर जाने प्रवृत्ति बढेको बताए । उनले मन्त्रालयले नियमावली निर्माण गरेर १० प्रतिशत आमाबुवाका निम्ति अनिवार्य खर्च गर्ने व्यवस्था गरेको सुनाए ।  ‘ज्येष्ठ नागरिक नियमावली पहिलो संशोधन २०८१ पालिकामार्फत लागू हुनेछ । मन्त्रिपरिषबाट पारित भएको छ अब छिट्टै यो नियमावली लागू हुनेछ ।’

पछिल्लो समय ब्युटिसियन पेसाले उद्यमको रूपमा विकास हुँदै गएको भन्दै मन्त्री चौधरीले वैदेशिक रोजगारमा जाँदा राम्रो अवसर पाउने अवस्था रहेको बताए । विवाह, पार्टी, औपचारिक कार्यक्रम लगायत सबैजसो अवसरहरूमा मेकअप व्यवसाय अनिवार्य बन्दै गएको भन्दै महिलालाई आत्मनिर्भर बनाउन सहयोग मिलेको बताए ।

महिला सम्बन्धी अहिलेसम्म जति पनि ऐन कानुन बनेका छन् त्यसका विषयमा जानकारी नभएको भन्दै उनले ती कानुनहरूको बारेमा जानकारी दिन सबै पालिकाहरूमा बडापत्र राख्नुपर्ने बताए ।  त्यस्तै कतिपय संस्कारका नाममा हुने कुरीतिजन्य गलत मान्यताहरूको अन्त्य गर्नका निम्ति हामीले अझै धेरै अभियान सञ्चालन गर्न आवश्यक रहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्