Logo
Logo

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई प्रभु साहको सुझाव 


756
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले गृहमन्त्रीले लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन् ।  उनले नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएकालाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने विषय बजेटमा समावेश नगरिएको पनि बताए । 

उनले भने,  ‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवर्द्धन गर्न सकिँदैन् ? विदेशमा रोजगार प्रवर्द्धन गर्ने तर नेपालमा रोजगार प्रवर्द्धन गर्नै नहुने ? तपाईँहरूले त भन्नुभएको थियो । लाखौँ नेपालीलाई नेपाल ल्याउँछु, फर्काउँछु । कार्यक्रममा त देखिएन । लाखौँ नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदि तपाईँले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन । संविधानले त्यही भन्छ । यदि रोजगार दिइसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ती बेरोजगारहरू पनि बाँच्न पाउनुपर्छ । यसमा सरकारको गम्भीरता देखिएन ।’ 

यस्तै नेपालमा कार्यरत घरेलु कामदारको हक अधिकारका लागि कानुन निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठुलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरूको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए । 

‘ठुल्लाबडाको घरमा काम गर्नेहरू (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर उनीहरूसँग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्री, उद्योगमा काम गर्नेको हक अधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउँनुपर्ने’ साहले भने, ‘तर ठुल्लाबडाको घरमा काम गर्नेहरू विश्वासको आधारमा काम गर्नुपर्ने ? जीवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जीवन बाँच्नुपर्ने ? त्यसमा हामीले समानता ल्याउनु हुँदैन् ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौँ की तिनीहरूको हक अधिकार सुनिश्चित हुने उनीहरू पनि सम्मानका साथ काम गर्न पाउने किसिमको हुनुपर्ने तर त्यो देखिएन । हामी चाहन्छौ घरेलु कामदार सम्बन्धी ठोस कानुन ल्याउनुस् । उनीहरूको भविष्यको ग्यारेन्टी गर्नुस् ।’

यस्तै शिक्षामा असमानता र साम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरू राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गए गुज्रेको भइसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

‘साम्प्रदायिक सोचबाट माथि उठ्न जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरू राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबन्डाको सिकार भएको छ । भ्रष्टाचारको अडा बनेका छन्’ साहले प्रश्न गरे,  ‘हरेक पालिकामा उच्च शिक्षा चाहिँदैन ? कम्तीमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरूको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौँ बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरू त्यो भन्दा पनि गए गुज्रेको भयो । मान्छेहरूले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलायन बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउँनुपथ्र्यो ।’

प्रतिक्रिया दिनुहोस्