Logo
Logo

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा, इपिसेन्टर बन्यो उदयपुर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० बैशाख ।
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । उदयपुरमा समुदायमै संक्रमण देखिएपछि तेस्रो चरणमा पुगेको हो ।
विदेशबाट आउनेलाई संक्रमण हुँन पहिलो चरण, उसबाट अर्काे व्यक्तिमा सर्नुलाई दोस्रो र दोस्रोबाट धेरैमा फैलनुलाई तेस्रो चरण मानिन्छ । तेस्रो चरणलाई निकै जोखिमपूर्ण मानिन्छ ।


मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रमा संक्रमित भेटिएका हुन् । यसअघि त्यहीका १३ जनामा संक्रमण देखिएको थियो ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भयो ।
इपिसेन्टर बन्यो उदयपुर
प्रदेश नम्बर १ मा ढिला गरी कोरोना संक्रमण देखिएको हो । तर, सबैभन्दा धेरै केस यही देखिएको छ । २४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये सबैजना उदयपुरको एउटै समुदायका छन् ।

संक्रमितको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो । काठमाडौंबाट गएको नेपाली सेनाको टोलीले संकलन गरेको थ्रोट स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै अन्य ६९ जनाको नमुना कोशी अस्पताल, विराटनगर पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भयो ।

उनीहरु कहिले भारतबाट आएका थिए भन्ने प्रष्ट भइसकेको छैन । संक्रमित सबैको अवस्था सामान्य छ ।
यसरी एउटै समुदायमा २४ जनालाई भेटिनुको भनेको समुदायस्तरको संक्रमण भएको डा. अनुप सुवेदी बताउँछन् ।
यद्यपि सरकारले अहिले नै कोरोना संक्रमण तेस्रो चरणमा पुगेको घोषणा गरेको छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘अहिलेसम्म संक्रमण देखिएका क्लोज कन्ट्याकमा आएकाहरु छन् । अहिले हामी केही केसलाई हेर्दैछौं, त्यसपछि मात्र समुदायस्तरमा पुगेका नपुगेको निक्र्यौल गर्छौं ।’

यसरी संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने भएको छ । आगामी बैशाख १५ गतेसम्म लकडाउन कायमै छ । त्यसपछि पनि थप्ने सरकारको तयारी छ । केही क्षेत्रलाई भने खुकुलो बनाउने बारे छलफल सुरु भएको छ ।

हालसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण देखिएकोमा पाँच जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्